झापा– नेपाल चिया उत्पादक संघ र चिया मजदुर संगठनबीच तीन बुँदे सहमति भएपछि चिया मजदुरले ४५ दिनदेखि गर्दै आएकाे आन्दाेलन फिर्ता लिएका छन् ।
सरकारले तोकेको न्यूनतम ज्याला दिन चिया बगान र उद्योगका सञ्चालकले नमानेपछि गत चैत १७ गतेदेखि चिया मजदुरहरु श्रम ऐन अनुसार ज्याला तथा सुविधा पाउने पर्ने माग राखेर आन्दोलनमा उत्रिएका थिए ।
साेमबार साँझ दुवै पक्षबीच भएकाे तीन बुँदे सहमतिमा श्रम ऐन '२०७४' अनुसार मजदुरलाई न्यूनतम ज्याला ३८५ सहित अन्य सेवा सुविधा दिने, सरकारले चालु आर्थिक वर्षदेखि श्रम ऐन लागु गरेअनुसारको तलब भुक्तान गर्नेलगायतका सहमति भएपछि मजदुरले आन्दाेलन फिर्ता लिने र काम सुरु गर्ने भएका हुन् ।
सहमतिको पहिलो बुँदामा नेपाल सरकारले २०७५ साउन ३१ गते राजपत्रमा प्रकाशित गरी चिया बगान तथा कारखानामा काम गर्ने श्रमिकका लागि तोकेको न्यूनतम पारिश्रमिक आधारभूत तलब २३१, महङ्गी भत्ता १४५ र कारखानामा काम गर्ने नाइके तथा चौकीदारको अतिरिक्त भत्ता दैनिक ४२ रुपैयाँ सबै चिया बगान तथा कारखानामा कार्यान्वयन गर्ने उल्लेख छ ।
सहमतिको दोस्रो बुँदामा श्रम ऐन २०७४ र नियमावली २०७५ मा भएको व्यवस्था नेपाल चिया उत्पादक सङ्घमा आवद्ध चिया बगान तथा कारखानामा कार्यान्वयन गरिने उल्लेख छ । र गत चैत १७ गतेदेखि बन्द रहेका चिया बगान आजदेखि खुला गर्ने र मजदुर काममा फर्किने उल्लेख छ ।
सहमति पत्रमा नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ता, चिया उद्योगी चण्डी पराजुली, छत्र गिरी, कुमार गिरी, हिरा गिरी र मजदुर नेताको तर्फबाट नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दीपक तामाङ, ट्रेड युनियनका झापा अध्यक्ष यज्ञ प्रताप अधिकारी, कृषि तथा चिया बगान श्रमिक संघका उपाध्यक्ष सहीकुमार राई, अखिल नेपाल चिया मजदुर संघका अध्यक्ष सीता सापकोटा, जिफण्डका सन्तकुमार राई, भुपाल सापकोटालगायतले हस्ताक्षर गरेका छन्।
झापामा रहेका २८ वटा चिया उद्योगमा ५० हजार बढी मजदुर कार्यरत रहेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।