logo-img

के हो ‘ड्राइ राइजर’, काठमाडौंका गल्लीमा किन गरिँदैछ जडान ?

काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’ जडान गर्न सुरु गरेको छ । महानगरको विपद् व्यवस्थापन विभागले यस कार्यलाई तीव्र रूपमा अगाडि बढाएको छ भने केन्द्रीय योजनामा नभएका ठाउँमा वडाहरूले पनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेको छ ।

कामपाको ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ वडाहरूमा ‘ड्राइ राइजर’ जडान भइसकेको छ भने अन्य वडाहरूमा पनि आवश्यकताअनुसार उक्त प्रविधि जडानको काम भइरहेको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार कामपाका कतिपय भित्री गल्ली दमकल र एम्बुलेन्स छिर्न नसक्ने किसिमका छन् । साँघुरा गल्लीमा आगलागी वा अन्य विपद्जन्य घटना हुँदा नियन्त्रण कठिन हुने हुँदा उक्त प्रविधि जडान गरिएको हो ।

जोशीले भने, ‘यसले अग्नि नियन्त्रणमा ठूलो सहयोग गर्ने विश्वास छ ।’ उनका अनुसार ड्राइ राइजर पाइप खनेर भित्री गल्लीहरूमा पुर्याइएको छ भने ठाउँ-ठाउँमा दमकलको पानी पठाउने पाइप जडानको लागि ‘आउटलेट’ राखिएको छ । करिब ३० मिटरको अन्तरमा आउटलेटहरू राखिएका छन् ।



दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुक्खा पाइप लाइन ड्राइ राइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई ‘वेट राइजर’ भनिन्छ ।

ड्रइ राइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा ‘इनलेट भल्व’ राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दूरीमा आउटलेट राखिएका हुन्छन् । दमकलको पानी ‘इनलेट’मा राखेपछि आवश्यकताका आधारमा ‘पाइपलाइन’ का बीचमा जुनसुकै ‘आउटलेट’ खोले पनि पानी प्राप्त हुन्छ । यसले आगो नियन्त्रण गर्न गरिन्छ । दमकलबाट आठ बारको प्रेसरमा पानी पठाउँदा सात तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्छ ।

ड्राइ राइजर कसरी काम गर्छ ?

भित्री गल्लीमा पाइपबाट दमकलको पानी पठाउने पारेको संरचनालाई ‘ड्राइ राइजर’ भनिन्छ । सामान्य भाषामा ‘पाइपलाइन’ भनेर बुझ्दा हुन्छ । तर दमकलको पानी निकै फोर्सले आउने भएकाले यो पाइप अन्य पाइपभन्दा बाक्लो हुन्छ आउटलेटहरू पनि बलिया हुन्छन् ।



यसरी तयारी अवस्थामा राखिएको पाइपमा दमकलको पाइपको मुख (होज) जोडिन्छ । त्यसपछि मात्रै ‘फायर फाइटिङ’ गरिन्छ । यस प्रकारको पाइपलाइन जडान गर्दा धेरै खर्चिलो नहुने भएकाले सहरी क्षेत्रमा प्रभावकारी हुन्छ ।

  • प्रकाशित मिति : माघ ५, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया