सभापति कप फुटबल प्रतियोगितामा आज एउटा मात्र खेल हुने भएको छ । दशरथ रंगशालामा आज हुने एक मात्र खेलमा विभागीय क्लब एपिएफ र मच्छिन्द्र क्लब आमनेसामने हुने छन् ।
प्रतियोगिताको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि दिउँसो ३ बजे सञ्चालन गर्ने भनिएको प्रतियोगिताको तालिका शुक्रबारदेखि परिमार्जन गर्दै फ्लर्ड लाइटमा सञ्चालन गर्ने निर्णय भएको आयोजकले जनाएको छ ।
सभापति कप फुटबल प्रतियोगिता नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको हो । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । नकआउट आधारमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा जित निकाल्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।
बिहीबार भएको उद्घाटन खेलमा संकटाले लिग च्याम्पियन चर्च ब्वाइजमाथि ३–० को प्रभावशाली जित दर्ता गरेको थियो । आज शुक्रबार मच्छिन्द्र र एपीएफको विजेताले फाइनल प्रवेशका लागि संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।
उपाधि विजेताले नगद २६ लाख पुरस्कार पाउँदा उप विजेता हुनेले १३ लाख पाउने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।