नेकपामा वैचारिक कार्यदिशाको विवाद किन ?

काठमाडौं –पूर्वमाओवादी केन्द्र र पूर्वएमालेबीच पार्टी एकता भएर नेकपा गठन भएको एकवर्ष नाघ्यो । तर, पार्टीको एकीकरण प्रक्रिया भने अझै सकिएको छैन । तल्ला तहमा एकीकरण हुन बाँकी नै छ । नेकपाले अहिलेसम्म  सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र जिल्ला कमिटीको टुंगो लगाइसकेको छ । पोलिटब्युरो पनि टुंगो लागिसकेको छ, तर, पार्टीले औपचारिक सार्वजनिक भने गरेको छैन । सचिवालय बैठक बसेर मात्रै पोलिटब्युरोमा परेकाहरूको नाम सार्वजनिक गरिने सो पार्टीले जनाएको छ । पार्टी एकीकरण नटुंगिदै नेताहरू भने सार्वजनिक मञ्चमा घोचपेचमा उत्रिरहेका छन् ।
 
बुधबार एक सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सचिवालय सदस्य ईश्वर पोखरेलबीच वैचारिक कार्यदिशामा विवाद भयो । उनीहरूले एउटै मञ्चबाट एक–अर्कालाई घोचपेचसम्म गरे । आफ्नो मन्तव्य राख्ने क्रममा रक्षामन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टी वैचारिक रूपमा स्पष्ट नभए हाँस न कुखुराको चाल हुने बताए । पोखरेलले  भने, ‘वैचारिक रूपमा स्पष्ट भइएन भने न हाँस न कुखुराको चाल हुन्छ ।’ 

पोखरेलको सो भनाइको खण्डन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा विचार भनेर हानथाप गरेको भए पार्टी एकता नै नहुने बताए । उनले भने, ‘विचार भनेर धेरै माथापच्ची गरेको भए पार्टी एकतै हुने थिएन ।’  

यस्तै, केही महिनाअघि फरकधारसँगको कुराकानीमा नेकपाका प्रवक्ता नारायकाजी श्रेष्ठले ‘जनवाद’ र ‘जनयुद्ध’ शब्दावलीमा अझै पनि विवाद सल्टिन नसकेको बताएका थिए । 

तर, पार्टीको वैचारिक कार्यदिशाबारे विधानमा स्पष्ट लेखिएकाले यस विषयमा विवाद गर्न नहुने पार्टी स्थायी कमिटी सदस्य बेदुराम भुसाल बताउँछन् । उनले पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशित नहुँदा मानिसहरू अन्योलमा परेको बताए । छिट्टै प्रतिवेदन प्रकाशित गर्नुपर्ने उनको भनाइ छ ।
 
‘राजनीतिक प्रतिवेदन प्रकाशित नभएको हुनाले मान्छेहरूलाई अलमल त भएको छ । वैचारिक कार्यदिशा के होे भन्ने अन्योल भएको छ, फरकधारसँग कुरा गर्दै भुसालले भने, ‘यसको सारसंक्षेप विधानमा स्पष्ट लेखिएको छ । कुनै विवाद गर्नुपर्दैन ।’ 
 
उनले भने, ‘हामीले जनताको जनवाद भनेका छौँ । जनताको जनवादका विशेषतामा बहुदलीय शासन पद्धति, आवधिक निर्वाचन प्रणाली, संविधानको सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन, बहुलतायुक्त खुला समाज, सामाजिक व्यवस्थाको सन्दर्भमा यी कुरा गरिएका छन् ।’ भुसालले स्पष्ट पार्दै थपे, ‘अर्थव्यवस्थाको सन्दर्भमा समाजवादउन्मुख, सामाजिक, सांस्कृतिक हकमा अन्धविश्वासयुक्त मूल्यमान्यतालाई विस्थापित गर्दै वैज्ञानिक मूल्यमान्यता स्थापित गर्ने कुरा गरेका छौँ ।’ 

नेपाली समाजमा सामन्तवाद, पुँजीवाद अगाडि बढिसकेको बताउँदै यसबाट समाजवादतर्फ अगाडि बढ्ने भनेर स्पष्ट रूपमा विधानमा लेखिएको उनले दाबी गरे ।
उनले भने, हाम्रो राजनीतिक कार्यदिशा कार्यक्रमिक हिसाबले जनताको जनवाद हो । समाजवादतर्फ अगाडि बढ्ने र आजसम्म भएका परिवर्तनलाई आधार मानेर, त्यसमा अडिएर समाजमा आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गर्दै अघि बढ्ने कार्यदिशा तय गरिएको छ । संक्षिप्त रूप विधानको प्रस्तावनामा छ । त्यसको विस्तृत रूप राजनीतिक प्रतिवेदन हो ।’ 

त्यसैगरी, नेकपाका पूर्वप्रधानमन्त्री एवं पूर्वअध्यक्ष तथा सचिवालय सदस्य झलनाथ खनाल पनि पार्टीको वैचारिक कार्यदिशामा कुनै विवाद नरहेको दाबी गर्छन् ।  
एक सार्वजनिक कार्यक्रममा पार्टीको वैचारिक कार्यदिशाबारे नेता ईश्वर पोखरेल र अध्यक्ष प्रचण्डबीच विवाद भयो नि ? भन्ने फरकधारको प्रश्नमा खनालले भने, ‘त्यस्तो कुनै विवाद भएन । म त्यही थिएँ । मैले सुनिरहेको छु । ईश्वर पोखरेलले आफ्नो ढंगले बोल्नुभयो । प्रचण्डले आफ्नो ढंगले बोल्नुभयो । उहाँहरूले अलग–अलग विधामा बोल्नुभयो ।’  



पार्टीलाई ठीक ढंगले चलाइएन भने तासको महलझैँ खत्तम हुन्छ भनेर ईश्वर पोखरेलले बोलेको जानकारी गराउँदै उनले त्यसलाई विवादका रूपमा बुझ्न नहुने जिकिर गरे ।



  • प्रकाशित मिति : जेठ २, २०७६ बिहीबार १५:५७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया