काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनका वेला अन्तरघात गर्नेहरू अहिले पार्टीमा हावी भएको गुनासो गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११औँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले कांग्रेस उम्मेदवार हराउनेहरु नै आफूविरुद्ध उभिएको आरोप लगाए ।
निर्वाचनमा पार्टीलाई हराउनेहरू बलशाली भएकाले पार्टी संकटमा फसेको तर्क गर्दै उनले आफूमाथि आरोप लगाउन छाडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुट्न निर्देशन दिए । अन्तरघातीहरूलाई कारबाही खोज्दा आफूले पार्टीका अन्य नेताबाट सहयोग नपाएको गुनासो गरे ।
सभापति देउवाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मिलाउनका लागि नेता कृष्णप्रसाद सिटौलालाई वार्ताको जिम्मा दिएको तर उनले मिलाउन नसकेको आरोप लगाए । आफूलाई मात्रै आरोप लगाएर पार्टीका नेताले गैरप्रजातान्त्रिक अभ्यास गरेको उनको गुनासो छ ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिटौलाले पार्टी कमजोर हुनुको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्ने पनि बताए । उनले पार्टीभित्र गुट हुनु स्वाभाविकै भए पनि कलह हुन नहुने भन्दै आन्तरिक कलह व्यवस्थापन गर्न सभापति देउवालाई आग्रह गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।