के इरानसँग युद्ध गर्न खोज्दै छ अमेरिका ?
इरानले बारम्बार अमेरिकी चाल गलत भएकाे बताउँदै आएकाे छ ।

के अमेरिका पछिल्लो समय इरानसँग भिड्ने तर्खरमा छ ? यो विषयलाई लिएर अहिले दुई दृष्टिकोण विश्वभर छाउन थालेको छ । 

यीमध्ये पहिलो दृष्टिकोण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहयोग पुग्ने खालको छ । त्यो हो, इरान केही न केही गलत गरिरहेको छ ।

यसलाई नै आधार बनाएर अमेरिकामाथि आक्रमण गरे इरानलाई पनि आक्रमण गर्ने अमेरिकी तयारी चलिरहेको छ । तर, यसबारे बाहिर अत्यन्तै कम जानकारी आएको छ । 

अर्कोतिर, अमेरिकाले मध्यपूर्वमा अतिरिक्त सेना पठाएको छ, युद्धका लागि आवश्यक सामग्री पठाउन सुरु गरिसकेको छ । अनि त्यहाँ रहेका कुटनीतिज्ञहरुलाई विस्तारै फिर्ता बोलाउँदै छ । 

यो खासमा अमेरिकाले इरानलाई एक सन्देश दिनका लागि गरेको हो । त्यो सन्देश हो– यदि अमेरिकी सुरक्षा तथा निकायहरु रहेको ठाउँमा इरान वा उसका सहयोगीले आक्रमण गरे, अमेरिका चुपचाप बस्नेवाला छैन ।

फेरि यो विषयमा अर्को धारणा राख्नेहरुले भनेका छन्– यो सबका लागि अमेरिका नै जिम्मेवार छ । यो इरानी दृष्टिकोण हो । तर, यही कुरा ट्रम्पका आलोचकहरुले पनि वकालत गर्न थालेका छन् । 



अनि युरोपेली देशहरुले पनि यसलाई विशेष चासो दिएर चिन्ता व्यक्त गर्न थालेका छन् । धेरैले यस्तो हुनुमा अमेरिकी विदेशमन्त्री माइक पोम्पिओ, अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनका धारणा बढी जोखिम निम्त्याउने धारणा भएको बताएका छन् । 

इरानको सत्ता परिवर्तनका लागि यो सब गरिएको पनि विचार बाहिर आएका छन् । इरानमाथि अनेक प्रतिबन्ध लगाउँदा पनि इरान नडगमगाएका कारण यस्तो भएको हुनसक्ने अनुमान पनि छन् । 



यी दुवै विचार राख्नेहरु आआफ्ना धारणा प्रमाणित गर्न विभिन्न तर्क तथा तथ्याङ्क प्रस्तुत गर्छन् । 

जे होस्, वास्तविकता चाहिँ के हो भने अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भइसके पछि इरानसँग अमेरिकी सम्बन्धमा खटपट आउने चाहिँ पहिले नै अनुमान गरिएको थियो । 

फेरि सन् २०१५ मा इरानसँग भएको परमाणु सम्झौता ट्रम्पकै कारण तोडियो । यसले गर्दा पनि इरानमाथि प्रतिबन्धहरु थपिए । अनि इरानको अर्थतन्त्र ध्वस्त भयो । अनि इरानले चेतावनी दिन थाल्यो– उसले आफ्ना परमाणु गतिविधिलाई फेरि ब्यूँताउने छ ।

इरानविरुद्ध ट्रम्पले कडा रणनीति लिएपछि इरानले युरोपेली देशहरुसँग सहयोग गर्न अनुरोध गरेको थियो । तर, युरोपेली देशलाई नियन्त्रणमा राखेर ट्रम्पले इरानसँग सम्बन्ध थप बिगारिरहेका छन् । इरानले परमाणु सम्झौताबाट पछाडि हटेको घोषणा गरेपछि ट्रम्पलाई त इरानविरुद्ध थप रणनीति ल्याउन सहज हुने छ । 

उता इरानसँग अमेरिकाको सम्बन्ध थप जटिल हुँदै गए पनि अमेरिकाका त्यो क्षेत्रका सहयोगी मानिने इजरायल र साउदी अरब यसबारे केही बोलेका छैनन् । 

अर्कोतिर, अमेरिकी कुटनीतिज्ञहरु पनि इरानको सन्दर्भमा अमेरिकी विदेश नीति फेल खाएको भन्दै यस्तो गर्न नहुने तर्क गरिरहेका छन् । त्यसैले अहिले अमेरिकाले इरानलाई धम्की मात्र दिएको तर युद्धका लागि अगाडि बढ्नु आवश्यक नभएको उनीहरुको तर्क छ । 

बिबिसीबाट
 

  • प्रकाशित मिति : जेठ ३, २०७६ शुक्रबार २२:१२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया