६ फागुन, २०८२ बुधबार
Feb. 18, 2026

विद्यार्थीलाई शौचालयकै सास्ती
रोटरी क्लब अफ काठमाडौं  टाउनले सो विद्यालयमा शौचालय निर्माण गरिदिने

‘म्याडम ट्वाइलेट कहाँ जाऊँ मलाई गाह्रो भयो ?’ विद्यार्थीले कक्षामा अध्ययन गर्दा गर्दै शिक्षक शिक्षिकासँग बाहिर जाने अनुमति माग्दा सोध्ने प्रश्न हो यो । शौचालय नै नभएको कारण  राजधानीसँग जोडिएको नुवाकोटको शिवपुरी गाउँपालिका ६ स्थित चुनभुमे आधारभूत विद्यालयका विद्यार्थीले बिहानदेखि साँझ बिदा हुने समयसम्म ट्वाइलेट नलागे हुन्थ्यो भन्ने सोच्छन् ।  लागि हाले पनि सम्भव भएसम्म च्यापेर बस्ने गर्छन् । तर बाध्यकारी अवस्था नै आएमा शिक्षक शिक्षिकासँग कहाँ जाऊँ भनी सोध्छन् अनि शिक्षकले नजिकै रहेको एक घरमा अनुरोध गरेर पठाउने गर्छन् । 

नजिकैको घरमा ट्वाइलेट जान पनि सहज हुन छोडेपछि सो विद्यालयमा विधार्थीले अध्ययन गर्न नै छोड्न थालेका छन् ।   केही वर्ष अघिसम्म कक्षा १ देखि ३ सम्म अध्ययन हुने सो विद्यालयमा करिब ९० जना विद्यार्थी थिए भने अहिले बाथरुमको अभावकै कारण विद्यार्थी घटेर जम्मा  १२ जना  रहेका छन्  तिनीहरूको पनि त्यति निरन्तरता नभएको विद्यालयकी शिक्षिका मीरा तामाङ बताउँछिन् । कहिलेकाहीँ त विद्यालयमा विद्यार्थीको सङ्ख्या ४, ५ जना मात्रै हुन्छन् ।   विद्यालय हेर्दा सिमेण्टेड राम्रै छ तर पक्की  सहितको विद्यालय निर्माण गर्दा सानो ट्वाइलेट नबनाइदिएको कारण छात्रछात्रालाई निकै समस्या भएको छ ।



छात्र २ जना र छात्रा १० जना अध्ययन गर्ने चनभुमे आधारभूत विद्यालय पुग्न काठमाडौंदेखि जम्मा एक घण्टा मात्र लाग्छ र पनि  शिवपुरी डाँडाबाट चार किलोमिटर तल स्कुल पुग्न निकै अप्ठ्यारो बाटो भएको कारण  दुर्गम गाउँ जस्तो छ । प्रधानाध्यापक भीमसेन पाठक , शिक्षिका मीरा तामाङ र कार्यालय सहयोगी रामशरण भेटवालले काम गर्ने विद्यालयका प्रधानाध्यापक सरकारी निकायले गर्ने तालीम लगायतका कार्यक्रममा गइरहनुपर्ने भएकोले  कार्यालय सहयोगीले पनि कक्षा लिन सहयोग पुर्‍याउने गरेका छन् । कार्यालय सहयोगीले पढाउन  सक्ने अवस्था छ त  ? भन्ने प्रश्नमा भेटवाल भन्छन्–यसै त ट्वाइलेट लगायतको अभावले विद्यार्थी घट्दो क्रम छ भने अनि  भएकालाई पनि पढाइएन भने त के होला भनी  प्रधानाध्यापक बाहिर गएको वेला मीरा म्याडमसँग सल्लाह गरेर पढाउने गरेको छु किनकि कार्यालय सहयोगी भए पनि मैले प्लस टु त गरेकै छु नि । 

यसै त गाउँमा मान्छे बस्न छोडेका छन् तर  सहरतिर  जान नसक्ने मात्र गाउँमा  बसेका छन् । सहर जान नसक्ने परिवारका  बालबच्चालाई पनि पढाउने सुविधा उपलब्ध गराउन सकिन्न भने सरकारले शिक्षामा गरेको लगानी कहाँ गएको छ भन्ने प्रश्न गर्नुपर्ने भएको छ । नुवाकोट शिवपुरी गाउँपालिका ६ स्थित चनभुमे आधारभूत विद्यालय जस्ता गाउँका  थुप्रै विद्यालय विद्यार्थीको सङ्कट भोग्न बाध्य छन् । जसले गर्दा शिक्षक शिक्षिका कामविहीन हुन थालेका छन् । त्यसमा पनि अति आवश्यक पर्ने ट्वाइलेटकै अभावमा विद्यार्थीले स्कुल छोड्ने वातावरण बन्नु दुखद पक्ष रहेको स्थानीय एक वृद्ध भन्छन् । उनी भन्छन् कहिले काहीँ विद्यालयमा जम्मा ४ , ५ जना पनि हुँदैनन् । विद्यालय भवन ठूलै छ तर विद्यार्थी नै नभएपछि  सार्वजनिक बिदा भए जस्तो देखिन्छ । 



सो विद्यालयकी शिक्षिका मीरा तामाङ दिनभरि पडाउँछिन् । तर उनले आफैले कति तलब खान्छिन् उनैलाई थाहा छैन । किनकि उनका ससुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रहेछन् उनैले तलब बुझेर लैजाँदा रहेछन् । एक जिज्ञासामा उनी भन्छिन्–मेरा ससुराले छोरी सरहकै व्यवहार गर्नुहुन्छ चाहिएको पैसा दिइहाल्नुहुन्छ त्यसैले मैले पनि कति के हो भनी त्यस्तो निधिखुद्यी  गर्दिन । 

ट्वाइलेटकै अभावमा विद्यार्थीले स्कुल छोड्न थालेको जानकारी पाएपछि शिक्षा , स्वास्थ्य , वातावरण , शान्ति र द्वन्द्व व्यवस्थापन जस्ता क्षेत्रमा क्रियाशील सामाजिक संस्था रोटरी क्लब अफ काठमाडौं  टाउनले सो विद्यालयमा शौचालय निर्माण गरिदिने भएको छ । रोटरियनहरुले आफै सहयोग स्वरूप रकम सङ्कलन गरी करिब चार लाख बरावरको ट्वाइलेट निर्माण गरिदिने भएको छ ।

सो ट्वाइलेटको शिलान्यास समेत  एक समारोहकाबीच शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले शिलान्यास गरेका छन् । क्लबका अध्यक्ष राजकुमार वैदवारको अध्यक्षतामा सोही  विद्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष थपलियाले गत वर्ष पनि समुन्द्रा माविमा छात्रा शौचालय निर्माण गरिदिएको क्लबले यस पटक अति दुर्गम गाउँमा रहेको विद्यालयका लागि जुन सहयोगी  हात बढाएको छ त्यो अति उदाहरणीय र अनुकरणीय रहेको उल्लेख गरेका छन् । 



शिलान्यास समारोहमा रोटरियन क्लबका अध्यक्ष राजकुमार बैदवार,निवर्तमान अध्यक्ष स्थानेश्वर रेग्मी ,वरिष्ठ पत्रकार टंक पन्त , क्लब इलेक्ट अध्यक्ष अमोलचन्द्र प्रधान , नोमिनी इलेक्ट अध्यक्ष अनोजराज पौडेल ,  सर्भिस चेयर मोहनबहादुर ढकाल  लगायतले सामाजिक क्षेत्रमा क्लबले चलाएका सामाजिक अभियानको महत्त्व र प्रभावबारे प्रकाश पारेका थिए ।                          

  • प्रकाशित मिति : ४ फागुन, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया