२७ कात्तिक, २०८२ बिहीबार
Nov. 13, 2025

ती दिन ती पात्र
जब राजा वीरेन्द्रलाई हृदयघात भयो [भिडियोसहित]
रानी ऐश्वर्य र युवराज दीपेन्द्रलाई किन लाग्यो कतै राजा वीरेन्द्रलाई मार्ने षडयन्त्र त हुँदै छैन ?

ती दिन ती पात्रमा आज दिवंगत राजा वीरेन्द्र वीरविक्रम शाह जसलाई एकपटक हृदयघात हुँदा बचाउन शाही चिकित्सकलाई हम्मेहम्मे परेको थियो । त्यो राजदरबार हत्याकाण्ड हुनुभन्दा तीन वर्षअघिको कुरा थियो । काठमाडौंको मौसममा चिसो प्रवेश गरिसकेको थियो । प्राकृतिक मौसम चिसो भए पनि नेपाली राजनीति तातेको समय थियो त्यो ।  


माओवादीको सशस्त्र आन्दोलन चरममा थियो । प्रधानमन्त्री थिए– गिरिजाप्रसाद कोइराला, जसले माओवादीविरुद्ध ‘किलो शेरा टु’ अपरेसन चलाइरहेका थिए । उता नारायणहिटी राजदरबारमा राजा थिए– वीरेन्द्र । माओवादीको व्यक्ति हत्याको राजनीतिले नेपाली समाज बिथोलिन सुरु भइसकेको थियो । नेपाली राजनीति अस्थिर थियो । छोटो समयमा प्रधानमन्त्री परिवर्तन भइरहेका थिए । 



भ्रष्टाचार र बेथितिको ग्राफ बढिरहेको थियो । बिग्रिएको राजनीति लथालिङ्ग र भताभुङ्ग भएको समाजलाई सही बाटोमा ल्याउने सूत्रको खोजीमा राजा वीरेन्द्रले पनि भेटघाटको श्रृंखला चलाइरहेका थिए । कहिले नारायणहिटी दरबार त कहिले नागार्जुन दरबारमा राजा वीरेन्द्र गोप्य मन्त्रणामा व्यस्त थिए । 



एकदिन कसैले नचिताएको कुरा भयो । त्यतिबेला राजा वीरेन्द्रको बसाइ नागार्जुन दरबारको हेमन्तबासमा थियो । साल थियो– २०५५ र महिना थियो– कात्तिक र दिन थियो– १८ गते । रातको समयमा अचानक राजा वीरेन्द्रको स्वास्थ्यमा समस्या देखियो । छातीको पीडाले उनी छटपटिए । सहन सक्ने स्थिति नै रहेन । त्यतिबेला शाही चिकित्सकद्वय मटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डे र वरिष्ठ फिजिसियन डा. खगेन्द्रबहादुर श्रेष्ठ तथा वरिष्ठ नर्सहरू रामेश्वरी श्रेष्ठ र सरला श्रेष्ठको जिम्मेवारी राजाको स्वास्थ्य रेखदेख गर्नु थियो । डाक्टर को बारम्बारको आग्रहविपरीत उपचारका लागि अस्पताल जान राजाले अस्विकार गरे । केही जोर नचलेपछि  नागार्जुन दरबारमा रहेको उनको शयन कक्ष नै उपचार थलो बन्यो । उपचारका लागि आवश्यक सामग्री र आफ्नो टिमसहित डा. पाण्डे र डा. श्रेष्ठले नागार्जुन दरबारमै व्यवस्था मिलाए । त्यही उनीहरूले आइसियू बनाए । 

अझै पनि राजालाई असजिलो महसुस भइरहेको थियो । के गर्ने कसो गर्ने भन्ने अलमलमै डाक्टरले मेसो मिलाउन थाले । एउटा उपाय सुझ्यो– रक्तनलीमा जमेको रगत पगाल्ने औषधि स्ट्रेप्टोकाइनेज नसाबाट दिने । सायद उनीहरूसँग अर्को उपाय पनि थिएन । उपलब्ध विकल्पमध्ये उनीहरूले त्यही औषधि चलाउनु नै उपयुक्त ठाने । उनीहरूले त्यही गरे । खासमा रक्तसञ्चार हुने एउटा नली साँघुरिएको कारणले राजालाई हृदयघात भएको  थियो । हृदयघात भएको पहिलो दिन रानी ऐश्वर्य रातभर राजालाई कुरेर बसिन् । डाक्टर र नर्सको टिम साथमै थिए । टिमले बेलाबेला राजाको चेकजाँच गरिरह्यो । तर, त्यो औषधि प्रयोग गर्नु त्यसबेला डाक्टर को ठूलो आँट थियो । र, उत्तिकै जोखिमपूर्ण निर्णय पनि । त्यो औषधि चलाएर महाराजधिराजको ज्यान जोगाए पनि डाक्टर आलोचित भए । 

किन ?

कुनै बेला शाही परिवारको उपचारमा संलग्न रहेका डा. अवनिभूषण उपाध्यायले आफ्नो हालै प्रकाशित ‘मुटुसँग सहयात्रा’ पुस्तकमा राजा वीरेन्द्रलाई हृदयघात हुँदा शीर्षकमा यस घटनाबारे आफ्नो स्मरण उल्लेख गरेका छन् ।



डा. उपाध्यायले लेखेका छन्–

राजा वीरेन्द्रलाई हृदयघात भएको भोलिपल्ट वीर अस्पतालकै केही सिनियर डाक्टरहरूले ‘महाराजाधिराजलाई दिएको उपचार (स्ट्रेप्टोकाइनेज दिने कार्य) ज्यादै जोखिमपूर्ण हो, यस्तो कार्य उहाँहरूले गर्नु नहुने भनेर रानी ऐश्वर्य र युवराज दीपेन्द्रलाई सुनाए छन् । वीर अस्पतालका ती डाक्टरहरूले बडामहारानी ऐश्वर्यलाई भेटेर ‘देशको राजालाई हृदयघात हुँदा हेलचेक्य्राइँ गरेर उपचार गर्नु नहुने, कोठामा यसरी स्ट्रेप्टोकाइनेज दिँदा ब्रेन स्ट्रोक, प्यारालाइसिस भए के गर्ने ? उहाँहरूले एकदमै नचाहिँदो काम गर्नुभयो भनेर सुनाए छन् ।

एकथरी डाक्टरहरूबाट नै यस किसिमको कुरा आएपछि रानी ऐश्वर्य र युवराज दीपेन्द्रले वास्तविकता बुझ्न अरू डाक्टरलाई गोप्य तरिकाले बोलाएर छलफल गर्न/बुझ्न थाले । त्यसक्रममा म पनि परेँ । एकदिन तत्कालीन शाही सेनाका एक अधिकृतले मलाई फोन गरेर ‘डाक्टर साब ! दरबारबाट खोजी भएको छ, तपाईंलाई लिन गाडी आउँदै छ’ भने ।

म तुरुन्त तयार भएर बाहिर निस्केँ, नाइनास्ती गर्न सक्ने कुरा पनि थिएन । एकैछिनमा गाडी आयो र मलाई सम्बन्धित स्थानमा लग्यो । त्यहाँ एक विशेष गोप्य कोठामा मलाई लगेर बसाइयो । म पुगेको केही क्षणमै बडामहारानी र युवराज दीपेन्द्रको प्रवेश भयो । भूमिका नबाँधी बडामहारानीले विषय प्रवेश गरेर सिधै प्रश्न गरिन्, ‘तिम्रो विचारमा डा. पाण्डेहरूले महाराजाधिराजलाई गरेको उपचार प्रक्रिया ठीक हो कि होइन ?’ 

पुस्तकमा उनले अगाडि लेखेका छन्–

मैले भनेँ, ‘सरकार ! डाक्टरको कर्तव्य भनेको बिरामीको जीवन बचाउने हो, बिरामी अस्पताल जान्न भनेपछि त्यसमा पनि देशको महाराजाधिराजले भनेपछि लान कसैको तागत हुँदैन । जसरी पनि बिरामी त बचाउनै पर्‍यो । त्यसकारण डा. साबहरूले जुन विधि अपनाउनुभएको छ त्यो नै बेस्ट हो, त्यस बेला गर्ने नै त्यही हो ।’

बडामहारानीले ‘तिम्रो विचारमा ठीक लाग्यो ? भनेर फेरि प्रश्न गरिन् । मैले ‘ठीक लाग्यो सरकार ! त्यसबेला त्यो प्रक्रिया नै उत्तम हो’ भनेँ । युवराज दीपेन्द्रले पनि यही विषयमा केही प्रश्नहरू गरे । मेरो जवाफ पनि प्रायः एउटा नै थियो, ‘त्यो परिस्थितिमा उक्त उपचार विधि ठीक हो भनेँ ।

राजा वीरेन्द्रलाई चलाइएको स्ट्रेप्टोकाइनेज औषधिबाट रानी ऐश्वर्य र युवराजधिराज दीपेन्द्र अत्तालिनुको कारण थियो । उनीहरूको मनमा कतै महाराजाधिराजलाई मार्ने वा शारीरिकरूपमा अपाङ्ग बनाउने षडयन्त्र त भइरहेको छैन भन्ने परेको थियो । किनकी प्रारम्भमै उल्लेख गरियो, त्यसबेलाको नेपाली राजनीति जटिल मोडमा पुगिसकेको थियो । व्यक्ति हत्याको राजनीति चरममा थियो । राज संस्थामाथि धावा बोलिँदै थियो । यसकारण पनि डाक्टरहरूले महाराजाधिराजलाई उक्त औषधि चलाउनुमा कतै कुनै गलत नियतले काम गरेको छ कि भन्ने आशंका रानी र युवराजलाई परेको थियो । 

राजा वीरेन्द्रका नीजि चिकित्सक रहेका डा. पाण्डेले वीरेन्द्रका बुवा महेन्द्रलगायत राजपरिवारका अन्य सदस्यको पनि स्वास्थ्य उपचार गर्दै आएका थिए । १६ माघ २०२८ का दिन राजा महेन्द्रको चितवनको दियालो बंगलामा हृदयघातका कारण मृत्यु भयो । त्यतिबेला विभिन्न तहबाट डा. पाण्डेलाई ‘राजा महेन्द्रको राम्ररी उपचार गरेन, जथाभाबी औषधि चलाएर मार्‍यो’ भन्ने आरोप लागेको थियो । कतिसम्म भने महेन्द्रको निधनलगत्तै नयाँ राजा वीरेन्द्रले समेत आफ्नो बुवाको निधनको खास कारणबारे डा. पाण्डेसमक्ष जिज्ञासा प्रकट गरेका थिए । डा. पाण्डेले सबै कुरा बताएपछि राजा सन्तुष्ट देखिए वा उनले यसभित्र कुनै षडयन्त्र देखेनन् । अथवा यसमा पाण्डेको गलत नियत पनि पाएनन् ।  

यता राजा वीरेन्द्रको उपचारमा पनि उनै पाण्डे संलग्न थिए । अलिकति तलमाथि भयो भने उनीमाथि पनि उस्तै गम्भीर आरोप लाग्न सक्थ्यो । उक्त औषधिको प्रयोगले महाराजाधिराजको ज्यान जोगिन्छ कि जोगिँदैन भन्ने अझै निर्क्योल भइसकेको थिएन । ज्यान जोगिए पनि उक्त औषधिले बिरामीलाई ब्रेन स्ट्रोक वा प्यारालाइसिससम्म भएका घटना पनि थिए । अझ त्यसमाथि हृदयघात भएको भोलिपल्ट बिहान नै वीर अस्पतालकै केही वरिष्ठ डाक्टरहरूले रानी र युवराजसमक्ष राजालाई गलत औषधि चलाएको र त्यसले जे पनि हुनसक्छ भन्ने आशयको कुरा सुनाएपछि दरबार अत्तालिनु आफैंमा अस्वाभाविक पनि थिएन । त्यतिबेला राजा वीरेन्द्रको उमेर ५३ वर्ष मात्र थियो । यसैले आमा–छोराले विशेषज्ञ डाक्टर लाई दरबारमा बोलाउँदै उक्त औषधि चलाउनु ठिक हो कि होइन भनेर सोधपुछ गर्न थाले । कतिसम्म भने रानीले यो विषयलाई लिएर दरबारभित्रै डाक्टर बोलाएर गोलमेच बैठक नै गराइन् । त्यतिबेला रानी ऐश्वर्यको ५० औँ जन्मोत्सव थियो । सबै कार्यक्रम रद्द गरेर राजाको उपचारको चाजोपाजोमै व्यस्त भइन्– रानी । रानीले नारायणहिटी दरबारमा त्यसबेलाका चर्चित कार्डियोलजिस्टलाई बोलाएर राजाको अवस्थाबारे छलफल गर्न लगाएकी थिइन् । बेलायतबाट पनि प्रसिद्ध कार्डियोलजिस्ट प्रोफेसर चार्ल्स पम्फ्रीलाई काठमाडौं बोलाइएको थियो । ती कार्डियोलजिस्टले राजालाई तुरुन्त एन्जिओ प्लास्टी गर्न सुझाएका थिए । 

राजालाई दिइएको औषधिले शरीरमा कुनै गम्भीर असर गर्छ कि भन्ने डर दरबारलाई थियो । तर, उपचारको केही दिनमै राजाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गयो । तर, खतरामुक्त भने थिएनन् राजा । मुटुको केही भागमा रक्तप्रवाह कम नै थियो । त्यसको संकेत थियो अर्को हृदयघात हुनसक्छ । यस्तो स्थितिमा इन्टरभेन्सन गर्नुपर्ने थियो । एन्जियो गरेपछि मात्र एन्जियोप्लास्टी गर्ने वा बाइपास सर्जरी गर्ने भन्ने तय गर्न सकिन्थ्यो । यसको लागि अस्पताल नै लान आवश्यक देखियो । यसपछि राजालाई बेलायत लाने चिकित्सकको निर्णयमा दरबार सहमत भयो । यसको संयोजनको जिम्मा बेलायतमा नै अध्ययन गरेका डा. मृगेन्द्रराज पाण्डेलाई दिइयो । उनले उपचारका लागि राजालाई ३ मंसिर २०५५ का दिन बेलायत लिएर गए । राजाको साथमा रानी ऐश्वर्य, अधिराजकुमार ज्ञानेन्द्र र उनकी श्रीमती कोमल पनि साथमा थिए ।

राजा वीरेन्द्रलाई  ५ मंसिरमा लण्डनस्थित क्रमवेल अस्पतालमा उपचारका लागि भर्ना गरियो । त्यसको दुई दिनपछि काठमाडौं आएर राजाको स्वास्थ्य परीक्षण गरिसकेका प्रसिद्ध कार्डियोलोजिस्ट चार्ल्स पम्फ्रीले स्टेन्ट प्रत्यारोपणसहित राजाको एन्जियो प्लास्टी गरे । केही दिनपछि राजाले पूर्णरूपमा स्वास्थ्य लाभ गरे । ३ मंसिरमा लण्डन प्रस्थान गरेका राजा २८ मंसिरमा स्वदेश फर्किए । त्यसबेला काठमाडौंका मेयर केशव स्थापितको नेतृत्वमा राजाको लागि स्वागत समिति नै गठन गरिएको थियो । राजा स्वास्थ्य लाभ गरी सकुशल स्वदेश फर्किएकोमा विमानस्थलदेखि नारायणहिटी राजदरबारसम्मका सडक पेटीहरूमा बौद्ध लामा, विद्यार्थी तथा सर्वसाधारणले अभिवादन गरेका थिए । यसरी झण्डै मृत्युको मुखमा परिसकेका राजा वीरेन्द्रले डाक्टरको सुझबुझपूर्ण र आँटिलो निर्णयका कारण दोस्रो जीवन प्राप्त गरे । तर, बिडम्बना त्यसको तीन वर्ष पनि नपुग्दै दरबार हत्या काण्डमा राजा वीरेन्द्रसहित उनको वंश नै नास भयो ।

  • प्रकाशित मिति : १२ फागुन, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया