७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

नवलपरासीमा झडप: एकजनाको मृत्यु
झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा भएको आगजनी ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा दुई पक्षबीच झडप हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्हीनन्दन–३ कुश्माका ३५ वर्षीय विजय धवल रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार धवलको रुपन्देहीको भैरहवास्थित सिटी अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ मृत्यु भएको हो ।



झडपमा परी घाइते भएका मोहरम पावारिया र ४५ वर्षीय बैजनाथप्रसाद लोनियको सोही अस्पतालमा उपचार भइरहेको छ । पावारियाको अवस्था जटिल रहेकाले उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ । लोनियको दुवै खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको उपरीक्षक फुयालले बताए । 

मंगलबार बिहान १० बजे सामान्य विवादमा दुई पक्षबीच झडप भएको थियो । झडपमा १९ जना घाइते भएका थिए । झडपका क्रममा इलाका प्रहरी कार्यालय महेशपुरको (जनपद) बा१झ ७४४८ नम्बरको गाडीमा आगजनी गरिएको थियो ।



घाइते हुनेमा नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चारजना रहेका छन् । प्रहरीले अवस्था नियन्त्रणमा लिन पाँच राउन्ड अश्रुग्यास र तीन राउन्ड हवाई फायर गरेको थियो । 

अहिले झडप भएको स्थानमा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस



  • प्रकाशित मिति : १४ फागुन, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया