काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यविभाजनमा असन्तुष्टि जनाउँदै आएका पूर्वअखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्दै पार्टी एकतालाई पूर्णता दिन लागिपर्ने बताएका छन् ।
नेकपाले तामाङलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को सहसंयोजक बनाएको थियो । पूर्वअनेरास्ववियुका महासचिव ऐन महरलाई अध्यक्ष बनाएपछि यसअघि उनले असन्तुष्टि जनाउँदै राजीनामा गर्ने बताएका थिए ।
बुधबार बोली फेर्दै उनले राजीनामा नगर्ने बताएका हुन् । प्रेस संगठन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहसंयोजक तामाङले भने, ‘मलाई दिइएको पद र जिम्मेवारीबाट म पछि हट्दिनँ,’ उनले भने, ‘पार्टी एकतामा त्याग र समर्पण गर्नुपर्छ, म गर्छु ।’
सहसंयोजक तामाङले आफूलाई पार्टीले जिम्मेवारी दिने विषयमा अन्याय भएको बताउँदै भने, ‘म पदबाट राजीनामा दिन्नँ’, उनले भने । उनले आफ्नो मूल्यांकन गरेर पार्टीले अर्को जिम्मेवरी दिने आशा व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।