कांग्रेस अध्यक्षबाट राजीनामा दिने मुडमा राहुल गान्धी, किन यति विक्षिप्त भए राहुल ?

नयाँ दिल्ली– लोकसभा निर्वाचनको सुरुआती मतपरिणामा आफ्नो पार्टीको अपेक्षाकृत नतिजा नदेखेपछि कांग्रेस अध्यक्ष राहुल गान्धी अध्यक्षबाट राजीनामा दिने सोचमा पुगेका छन् ।

हारको शतप्रतिशत जिम्मेवारी आफूले लिने बताएका राहुलले विचारधाराको लडाइँमा आफ्नो विचारधारा अहिले कमजोर देखिएको, तर यसबाट आफूले हार नमान्ने बताएका थिए । कार्यकर्तालाई ढाडस दिने क्रममा राहुलले निरन्तर लडाइँ जारी राख्ने उल्लेख गर्दै आफ्नो विचारधारालाई स्थापित गरेरै छाड्ने संकल्प गरेका थिए । 

तर, युपिए अध्यक्ष तथा आफ्नी आमा सोनिया गान्धीसँग राहुलले कांग्रेस अध्यक्षबाट राजीनामा दिने इच्छा प्रकट गरेको भारतीय न्युज च्यानल आजतकले जनाएको छ । कांग्रेस कार्यकारिणी समितिमा पनि राहुलले राजीनामाको इच्छा व्यक्त गरेको स्रोतको हवाला दिँदै उसले उल्लेख गरेको छ । 

राहुल कांग्रेसका अध्यक्ष मात्र थिएनन्, बिकाउ चेहरा पनि थिए । गान्धी परिवारको विरासतमा टिकेको भारतीय कांग्रेसले राजीव–सोनियापुत्र राहुललाई छोटो राजनीतिक यात्रामै महासचिव हुँदै केन्द्रीय अध्यक्ष बनाएको थियो । मीठो भाषण गर्ने युवा नेता राहुलसँग कांग्रेसले ठूलो आशा राखेको थियो । 

सन् २००४ मा राजनीतिमा प्रवेश गरी पिता राजीवको निर्वाचन क्षेत्र अमेठीबाट चुनाव लडेका राहुल भारी मतले लोकसभा सदस्य चुनिएका थिए । २००९ र २०१४ मा पनि भारी मतले चुनाव जितेका राहुलले यसपटक अन्तिम परिणाम नआउँदै सो क्षेत्रमा हार स्विकारिसकेका छन् । 

इतिहासमै नगुमेको अमेठीको सिट आफू अध्यक्ष हुँदै गुमाउन पुग्नुले पनि राहुललाई ठूलै झट्का लागेको हुनुपर्छ । अमेठीको सिट गुम्नु एक अर्थमा राहुलको मात्र नभई गान्धी परिवार र सिंगो कांग्रेसकै विरासत ढल्नु हो । 



२०१४ को चुनावमा नमीठो हार व्यहोरेको कांग्रेसले यसपटक राहुलको अग्रसरतामा निकै महत्वाकांक्षी योजनाहरु प्रस्तुत गरेको थियो । २०१४ को नतिजा उल्ट्याउन दिलोज्यानले लागिपरेका राहुलको मेहनत यतिखेर ‘बालुवामा पानी’ भएको छ । यसैले पनि राहुलले अध्यक्षका रुपमा आफ्नो औचित्य सकिएको, या हाललाई नरहेको महसुस गरेका हुन सक्छन् । 

२०१४ को हारलाई त राहुलले पहिलो पाठको रुपमा लिएका थिए । त्यसबाट सिकेर यसपटक पक्कै केही गर्छु भन्ने विश्वास थियो उनीभित्र । उस्तै रुपमा यसपटक दाेहाेरिएको असफलताले भने राहुललाई असह्य पीडा दिएको अनुमान गर्न सकिन्छ ।



  • प्रकाशित मिति : जेठ ९, २०७६ बिहीबार १९:५५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया