स्मृति इरानीः मोदीविरुद्ध अनसनदेखि राहुलविरुद्ध अमेठी कब्जासम्म

एजेन्सी– नरेन्द्र मोदी सरकारमा निवर्तमान मन्त्री स्मृति इरानीले अमेठीमा जित दर्ज गरेर नयाँ इतिहास बनाएकी छिन् । 

उनले आफ्नो निर्वाचन क्षेत्रमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई ५५१२० भोटले हराइन् । 

राहुल गान्धीले यो क्षेत्रबाट तीन पटक जितिसकेका थिए । उनीभन्दा पहिले एक पटक सोनिया गान्धी त्यहाँबाट निर्वाचित भएकी थिइन् । त्यसअघि सन्जय गान्धी र भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीले पनि यो क्षेत्रबाट निर्वाचन जितेका थिए । यसलाई गान्धी परिवारको निर्वाचन क्षेत्रका रुपमा पनि लिइन्थ्यो । 

तर, आफ्नो दोस्रो प्रयासमा नै पूर्वअभिनेत्री स्मृति इरानीले गान्धी परिवारको क्षेत्र भनिएको ठाउँलाई आफ्नो बनाउन सकिन् । 

सन् २०१४ मा पहिलो पटक स्मृति इरानी मोदी सरकारमा मानव संसाधन विकास मन्त्री भएकी थिइन् । त्यसपछि उनी सूचना प्रसारण तथा कपडा मन्त्री भइन् । 

यहीबीच उनको सर्टिफिकेटलाई लिएर तनाव सुरु भयो । पछि यो विवाद यत्तिकै सेलाएर गयो । 



भारतीय टिभी कार्यक्रम ‘क्योंकी सास भी कभी बहु थी’ सिरियलबाट घरघरमा पहिचान बनाएकी स्मृतिले सन् २००३ मा भारतीय जनता पार्टीबाट सक्रिय राजनीति गर्ने निर्णय गरिन् । तर, कमैलाई थाहा होला, मोदी सरकारकी यी प्रभावशाली मन्त्री कुनै समय मोदीविरुद्ध नै अनसनमा बसेकी थिइन् । 

सन् २००४ मा स्मृति पार्टीका लागि नयाँ थिइन् तर उनले दिल्लीको चाँदनी चोकबाट लोकसभा निर्वाचन लड्न पाउने भइन् । 



त्यति बेला नै गुजरातमा भएको दंगाको विरोध गर्दै उनले तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गरिन् र उनीविरुद्ध अनसन बस्ने चेतावनीसमेत दिइन् । उनले तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीको नाम कयौँ पटक लिएकी थिइन् र नरेन्द्र मोदीले राजीनामा नदिँदा अटललाई समस्या परेको समेत बताएकी थिइन् । 

तर, पार्टीले उनलाई यो अभिव्यक्ति फिर्ता लिन आदेश दियो । उनले पनि सहजै यसलाई फिर्ता लिइन् । 

योबीचमा फेरि स्मृति हराइन् । सन् २०१० मा जब नितिन गडकरी भाजपाका राष्ट्रिय अध्यक्ष बने, तब स्मृति फेरि चर्चामा आउन थालिन् । उनलाई राष्ट्रिय महिला मोर्चाको कमान्ड दिइएको थियो । 

सन् २०१४ मा उनलाई लोकसभा निर्वाचनका लागि अमेठीको टिकट दिइयो । त्यति बेला अमेठीमा राहुल गान्धीविरुद्ध आम आदमी पार्टीका कवि कुमार विश्वास पनि चुनावमा होमिएका थिए । 

निर्वाचनमा उनी पराजित त भइन् । तर, मोदीले उनलाई केन्द्रीय मन्त्री बनाइदिए । तर, उनको डिग्रीलाई लिएर फेरि विवाद सुरु भयो । निर्वाचनको समयमा उनले गलत बताएको आरोप लगाएको थियो । उनले एक चुनावी कार्यक्रममा आफूले दिल्ली विश्वविद्यालयबाट सन् १९९६ मा स्नातक गरेको बताएकी थिइन् । तर, अर्को सपथमा उनले सन् १९९४ मा दिल्लीको स्कुल अफ ओपन लर्निङबाट आफूले बिकम पास गरेको बताइन् । 

उनलाई सूचना प्रसारण मन्त्रीको जिम्मेवारी दिँदा पनि निकै धेरै विवाद भएका थिए । 

तर, सायद स्मृतिले यी विवादहरुलाई आफ्नो हतियारका रुपमा लिएकी थिइन्, अमेठीमा गान्धी परिवारको पहिचानलाई उनले अहिलेका लागि किनारा लगाइदिइन् ।

  • प्रकाशित मिति : जेठ १०, २०७६ शुक्रबार ११:९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया