सगरमाथाको जाम, के छ पछिल्लो अवस्था ?

काठमाडौं– पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न चाहनेको संख्या उच्च दरमा बढ्दो छ । आरोहीको चाप बढ्दा सगरमाथामा अहिले मान्छेको लाम मात्रै होइन, जामकै स्थिति आइपरेको छ । 

आधार शिविरबाट क्याम्प १, २, ३, ४ हुँदै हिलारी स्टेपसम्म पुग्दा त भिडले खासै असर गर्दैन । तर, हिलारी स्टेपदेखि माथि सगरमाथाको चुचुरोमा उक्लने वेला भने एक–एक गरी विस्तारै जानुपर्ने हुन्छ ।

यस्तोमा आरोहीको चाप धेरै हुँदा आरोहीले कुरेर बस्नुपर्ने हुन्छ । चुचुरोमा पुगेर फर्कंने र माथि चढ्नेबीच पनि तालमेल मिलाउनुपर्छ । यसाे गर्दा आराेहीले ८ हजार मिटर आसपासको उचाइमा लामो समय विषम मौसमी परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । जसका कारण मानिस बिरामी पर्ने र ज्यानै जाने समेत खतरा रहन्छ । 

बुधबार भारतीय आरोही निर्मल पुर्जाले शिखरबाट खिचेको यो तस्बिरमा सगरमाथाको चुचुरो चुम्न आतुर आरोहीको भिड प्रस्टै देखिन्छ । निर्मलका अनुसार, त्यतिखेर सगरमाथाको चुचुरोनजिक २५० देखि ३०० जनाको लाम लागेको थियो, जसका कारण आरोहण र फिर्तीमा तीन घन्टासम्म ज्यादा समय लागेको थियो ।



सगरमाथाको चुचुरोछेउ समय बिताउँदा आरोहीले अत्यधिक चिसोका साथै अक्सिजनको कमीको सामना गर्नुपर्छ । आरोहीको बयानमा बुधबार कम्तीमा दुईजनाको सगरमाथा चढेर ओर्लने क्रममा मृत्यु भएको थियो । उनीहरुको मृत्युमा जामका कारण लागेको अतिरिक्त समय जिम्मेवार हुन सक्छ ।

सगरमाथामा बचाउ अभियान चलाइरहेको संस्था ‘पायोनियर एडभेन्चर्स’का अनुसार तीमध्ये एक ५४ वर्षीय अमेरिकी नागरिक डोनल्ड क्यास चुचुरोछेउ उभिँदा–उभिँदै स्वास्थ्य कमजोर भएर खसेका थिए । पायोनियरका शेर्पा गाइडले उनलाई बचाउने कोसिस गरे, तर सकेनन् । 



सगरमाथामा जामका कारण दुई आराेहीकाे ज्यान गएकाे समाचारपछि पर्यटन विभागले भने बुधबार केहीबेर मात्रै क्याम्प ४ देखि माथि जामको स्थिति आइपरेको बताएकाे छ । विभागका अनुसार अहिले सगरमाथामा कुनै जाम छैन । 

  • प्रकाशित मिति : जेठ ११, २०७६ शनिबार १६:३४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया