२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

३५ वर्षअघिको त्यो जनआन्दोलन : कसको इसारामा मारिए, ४५ नेपाली जनता ? [भिडियोसहित]
त्यसपछि मरिचमानको मनमा चिसो पस्यो, उनलाई लाग्यो- राजालाई पनि गलाउने कुनै शक्ति दरबारभित्रै छ

जब राजा वीरेन्द्र शाहले प्रधानमन्त्री मरिचमान सिंहलाई ‘मरिचमान तिमी राजीनामा देऊ’  भने तब मरिचमानलाई किन लाग्यो, राजालाई पनि गलाउने कुनै शक्ति दरबारभित्रै छ ।


मरिचमानले दाबी गरेजस्तै के त्यसबेला राजदरबारभित्र भारतीय गुप्तचर संस्था ‘रअ’ का नेपाली एजेन्ट तैनाथ थिए, जसले जनआन्दोलनमा गोली हान्ने तारतम्य मिलाए ?



ती दिन ती पात्रमा आज पञ्चायतकालको अन्तिम घडीका प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ । जसले २०४६ सालको आन्दोलनको क्रममा भारतको प्रस्ताव अस्विकार मात्र गरेनन्, भारतबाट आएको त्यो पत्र राजालाई दिँदै भने– सरकार भारतसँग हैन, आफ्नै जनतासँग झुकिबक्सियोस् ।

यो ३५ वर्षअघिको कुरा हो, जतिबेला भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको १८ महिना चल्दै थियो । नाकाबन्दीकै समयमा ७ फागुन २०४६ देखि नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको गठबन्धनमा आन्दोलनको उद्‍घोष भयो ।



तस्बिरहरू : मीनरत्न बज्राचार्य

यो त्यतिबेलाकै कुरा हो जतिबेला पञ्चायतभित्रकै केही हस्तीहरूले  पञ्चायत छाड्ने संकेत दिन थालिसकेका थिए । र, यो त्यही बेलाको समय हो जतिबेला आफ्नै निकट भनिएका पञ्चहरूले किन यस्तो गरिरहेका छन् भनेर नारायणहिटी राजदरबारले बुझ्न सकेन । श्री ५ को सरकारले पनि बुझ्ने ल्याकत राख्न सकेन ।   

पञ्चायतले एकपछि अर्काे धक्का बेहोरिरहँदा राजा वीरेन्द्र पोखरा गए । २०४६ माघ ५ देखि ७ गतेसम्म भएको नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा चन्द्रशेखरलगायत भारतीय नेताहरू पाहुना आए । उनीहरूले गणेशमान सिंहको निवास चाक्सीबारीबाट  आन्दोलनको आगो सल्काइदिए ।

जीवनभरी पक्का पञ्च रहेका मरिचमानले पञ्चायतलाई टिकाउन कर्तव्य ठान्नु आफैंमा अस्वाभाविक पनि थिएन । उनले आन्दोलन प्रतिकार समिति बनाए । पञ्च भेला गराए ।



भेलामा सबै नेपाली पञ्च, सबै पञ्च नेपाली भने पनि धरातलीय यथार्थ बिलकुल फरक थियो । यसैले आन्दोलनले व्यापकता लिँदै गयो । पञ्चायतलाई जोगाउन सकिन्छ कि भनेर अन्तिम समयसम्मै कस्सिएरै लागे, मरिचमान । ​

चैत १७ गतेको आन्दोलनमा भिड उत्तेजित गराएर ललितपुरमा तीनजना व्यक्ति मारिएपछि भारतले आफूलाई फुस्ल्याउन पत्र पठाएको मरिचमानले खुल्ला सभामै बताएका थिए । 

२०५४ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ को सभामा  उनले भनेका थिए, ‘मलाई शङ्का थियो भक्तपुर जस्तै ललितपुरमा पनि भारतीयहरूले ताण्डव मच्चाएका छन् । नभन्दै त्यो कुरा खुलिहाल्यो, ललितपुर काण्डपछि उनीहरूले एक पत्र नै पठाए, त्यो पत्रमा हस्ताक्षर गरेको भए मैले निर्बाध सत्ता चलाउन पाउने थिएँ । तर, राष्ट्रघाती दुई पल्ट मर्छ । एकपल्ट मृत्यु आएर, अर्कोपल्ट आफैंलाई धिक्कारेर । राष्ट्रघात गरेर निर्बाध सत्तामा बस्न मलाई मन लागेन ।’

१७ चैतमा भारतबाट आएको त्यो पत्र मरिचमानले राजालाई दिँदै भने, ‘सरकार भारतसँग हैन, आफ्नै जनतासँग झुकिबक्सियोस्, अब देश अस्थिरतातर्फ जान सक्छ । म बरु राजीनामा दिन्छु ।’ 

जवाफमा राजाले भने, ‘अहिले तिमीले राजीनामा दिन पर्दैन ।’​

१९ चैतको मन्त्रिपरिषद् बैठक नै आन्दोलनको कुरालाई लिएर विभाजित बन्यो । परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायले राजीनामा नै दिए । राजाले २१ र २२ चैतमा बैठक बोलाए । बैठकमा उदारवादी पञ्चले आन्दोलनको कुरा सुनिनु पर्छभन्दा राजाले सुनेनन् । आन्दोलनको आगो बलिरह्यो । मान्छेहरू सहिद हुन डराउन छाडे । स्थिति सरकारी संयन्त्रको हातबाट फुत्किसकेको थियो ।  

प्रधानमन्त्रीले नचाहँदा नचाहँदै पनि गोली चल्न थालिसकेको थियो । दरबारको तर्फबाट परिचालित हतियारधारीहरूले ललितपुर र भक्तपुरमा गोली चलाएको गोप्य सूचना पाएपछि मरिचमानले आफूलाई निरीह देखिइसकेका थिए ।  

कमल ढकालद्वारा लिखित प्रकाशनको क्रममा रहेको सल्यानदेखि सिंहदरबारसम्मको संघर्ष पुस्तकमा मरिचमानले लेखकलाई भनेका छन्, ‘कुतत्वले जनमानसलाई उत्तेजनामा ल्याउने काम गर्‍यो । राजा पनि जनता मार्ने योजनामा थिएनन्, म पनि थिइनँ । तर, गोली किन चल्थ्यो त्यो मलाई नै थाहा भएन । मान्छे मर्नु मेरो लागि हृदयविदारक थियो ।’

राजा, प्रधानमन्त्री, गृहमन्त्री र सिडिओको आदेशबिना आन्दोलनमा गोली हानेर ४५ जनाको ज्यान लिने काम भयो । त्यसो भए त्यो गोली कसरी चल्यो त ? मरिचमानले नै कसको आदेशले गोली हानियो भनेर सिडिओलाई सोध्दा ‘ब्याक अपमा आएको फौजले हानेको र उसलाई सोझै दरबारबाट आदेश आएको’ भन्ने जवाफ पाए । 

आन्दोलनको समयमा गृहमन्त्री रहेका निरञ्जन थापा पनि त्यसबेला लाचार देखिए । उनले उक्त पुस्तकमा लेखक ढकालसँग भनेका छन्– प्रधानमन्त्री मरिचमान सिंहले मान्छेको ज्यान सबैभन्दा प्यारो चिज हो । त्यसमा तलमाथि नगर्नु भनेर आदेश दिने गर्नुभएको थियो । प्रधानमन्त्रीले भनेअनुसार नै म गर्थेँ । फेरि पनि गोली लागेर मान्छे मर्थे । मेरो टाउको यसैले कुटुकुटु खान्थ्यो । ​

२३ चैतमा मरिचमानले राजीनामा दिए । ६ दिन अघि  ‘राजीनामा दिन्छु’ भन्दा ‘पर्दैन’ भनेका राजाले अचानक  मरिचमानको राजीनामा मागे । राजाले मरिचमानको ठाउँमा लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाए । 

जुन दिन मरिचमानले प्रधानमन्त्री पदबाट राजीनामा दिए, त्यही दिनदेखि आन्दोलन उत्सर्गमा पुग्यो । पाटन र कीर्तिपुर सरकारमुक्त क्षेत्र बन्यो । नयाँ प्रधानमन्त्री चन्दले बेलुकी सपथ लिँदा देश शहीदको रगतमा लतपतिइसकेको थियो । 

केही सीप नलाग्ने देखेपछि राजा लाचार भए । चैत २६ गते राति राजदरबारबाट राजाले बोलिदिए–दलमाथिको प्रतिबन्ध फुकुवा भयो । 

अनि त्यसपछि देशमा बहुदल आयो ।

भारतको बाह्य जासुसी संस्था रअका पूर्व विशेष निर्देशक अमर भूषणको पुस्तक ‘इनसाइड नेपाल’ मा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीको सरकारले २०४६ सालको नेपालको आन्दोलनलाई सहयोग गरेको र राजालाई दबाबमा राख्न सफल  भएको उल्लेख गरिएको छ ।

अर्थात् उक्त आन्दोलन नेपालका राजालाई उनको हैसियत देखाइदिने स्तरमा भारतबाट प्रायोजित थियो भन्ने संकेत पुस्तकका लेखक अमर भूषण गरेका छन् । 

सायद राजाले भारतको प्रस्ताव अस्विकार गरेर बहुदलीय व्यवस्था स्विकार्ने विकल्प उपयुक्त ठाने । त्यसो भए मरिचमानलाई भारतले बुझाएको पत्रमा त्यस्तो के थियो, जसलाई राजा र प्रधानमन्त्री दुवैले अस्विकार गरे ? बरु बहुदलीय व्यवस्था मान्न तयार भए । भारतले नेपाललाई बुझाएको पत्रको सार थियो– नेपालको परराष्ट्र, जलस्रोत र सुरक्षाको जिम्मा भारतलाई दिनुस्, हैन भने आन्दोलन चर्किएर जान्छ ।

नभन्दै भयो पनि त्यस्तै ।

  • प्रकाशित मिति : २६ चैत, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया