संसदमा सरकार–प्रतिपक्ष दोहोरीः एकअर्कालाई विप्लव समूहसँग साँठगाँठ रहेको आरोप

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएको छ । तर, यही समूहसँग साँठगाँठ भएको हुनसक्नै भन्दै संसदमा सत्तापक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ । 

सोमबार संसदमा पछिल्लो दिन भएका हत्या हिंसा तथा विस्फोटका घटनाबारे जानकारी दिन उपस्थित भएका गृहमन्त्री रामबहादुर थापा बादल र प्रतिपक्षका सांसद्ले एकअर्कालाई यस्तो आरोप लगाएका हुन् । 

गृहमन्त्रीले संसद्मा सबैभन्दा पहिले आइतबार काठमाडौंमा भएका विस्फोटका घटनाबारे बताए । उनले विप्लव समूहका कारण सुरक्षा चुनौति बढेको र उनीहरु उपत्यकामा केन्द्रित भएको आशंका व्यक्त गरे । सरकारको सुरक्षा संयन्त्रलाई चुनौति दिँदै उपत्यकामा भएका विस्फोटबारे जवाफ दिँदै गृहमन्त्री थापाले सदनमा भने, ‘हिजो मारिनेहरु सर्वसाधरण होइनन्, विप्लव निकट समूहका हुन् ।’

उनले सदनलाई जवाफ दिएपछि प्रतिपक्ष तथा सत्तापक्षका सांसदले आआफ्ना प्रश्न राख्न थाले । त्यही क्रममा कांग्रेसका सांसद् अमरेश कुमार सिंहले भने, ‘एकातिर राज्य आतंक छ, अर्कोतिर हिजोका उहाँहरुको सहयात्रीको आतंक छ । सरकारले आफ्नो राजनीतिक आस्था नमिल्नेलाई गृहमन्त्रालयले प्रतिबन्ध लगाएको छ । हिजो कम्युनिस्ट पार्टीहरु दुई थिए, अहिले एक भए ।’ उनले अहिले सरकारमा कम्युनिस्ट पार्टी भएको र आतंक फैलाउन पनि कम्युनिस्ट पार्टी नै भएको भन्दै यी दुई पार्टीले जनता दबाउन यस्तो प्रपन्च गरेका त होइनन् भन्दै प्रश्न राखे, ‘कतै मिलेमतो त होइन ?’

त्यसपछि अन्य सांसद्हरुले पनि आफ्ना प्रश्न राखिसकेपछि जवाफ दिन गृहमन्त्री रोस्ट्रममा पुगे । जवाफ दिँदै जाँदा उनले भने, ‘माननीयज्यूहरुले सरकार र विप्लव समूहको साँठगाँठ त छैन भन्ने सोध्नुभयो । मलाई त बरु उहाँहरुकै मिलेमतो छ कि जस्तो लाग्छ ।’ 

उनले थपे, ‘सरकारले विप्लवलाई रोपेको पनि होइन र यो फलेको पनि होइन । उनले विप्लवका गतिविधि गैर कानुनी भएको बताए ।’



गृहमन्त्री थापाले अमरेश कुमार सिंहलाई जवाफ दिए, ‘यस्तो प्रश्न नाजायज प्रश्न हो । यसलाई उल्टाउने हो भने कतै यी प्रश्नहरुलाई उल्टाउँदा कतै सहकार्य त छैन भन्ने प्रश्न बनाउन सकिन्छ ।’



  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार १३:१४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया