गृहमन्त्रीलाई सांसदको प्रश्न : हिजोका दिनमा त्यसैगरी मर्ने पनि नेपाली नागरिक होइनन् ?’

काठमाडौं– सोमबारको प्रतिनिधिसभाको बैठकमा बम बोल्दै गृहमन्त्री रामबहादुर थापाले आइतबार विस्फोटमा मारिने सामान्य नागरिक नभएको भनाइ राखे ।  गृहमन्त्रीको सो भनाइप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले आपत्ति जनाएका छन् । 

सांसद पुष्पा भुसालले विष्फोटमा परी मृत्यु भएका ४ जना नेपाली नागरिक होइनन् भने को हुन् ? भनेर प्रश्न गरिन् । सरकारले हठ र विप्लवले हिंसा नत्यागे सर्वसधारणले पीडा भोग्नुपर्ने भुसालको भनाइ थियो । 

कांग्रेस सांसद देवेन्द्रराज कँडेलले द्वन्द्वकालीन समयको सरकारले बोल्ने भाषा र अहिले गृहमन्त्रीले प्रयोग गरेको भाषा उस्तै भएको भन्दै प्रश्न गरे ‘हिजोको सरकारले गरेको काम गलत थियो कि सही ? विस्फोटमा मर्ने नागरिक नभए हिजोका दिनमा त्यसैगरी मर्ने पनि नेपाली नागरिक होइनन् ?’

सांसद डाक्टर मिनेन्द्र रिजालले सरकारलाई गम्भीर बन्न र नेपाली जनतालाई दुःख नदिन आग्रह गरे । सांसद राजेन्द्रकुमार केसीले बमविस्फोटसँगै राजधानीबासी त्रसित भएकाले सुरक्षाको प्रत्याभूति दिलाउन माग गरे । 

सांसद शरदसिंह भण्डारीले राजनीतिक स्थायीत्व र स्थिरताको जतिसुकै नारा लगाएपनि राजनीतिक समस्या अझै रहेको भन्दै त्यसलाई स्वीकार गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद देवप्रकाश तिमिल्सिनाले वार्तामार्फत समस्या समाधान खोज्न आग्रह गरे । 

राजपा सांसद लक्षमणलाल कर्णले राजनीतिक रुपले समस्यामा समाधान खोज्न माग गर्दै राजधानीको बम विस्फोटको घटनाले समग्र देशवासी नै चिन्तित रहेको बताए ।





  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार १५:१२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया