समाजवादी पार्टीको नाममा अन्योल कायमै

काठमाडौं– डा. बाबुराम भट्टराई नेतृत्वको पूर्वनयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको पूर्वसंघीय समाजवादी पार्टी, नेपाल मिलेर बनेको ‘समाजवादी पार्टी, नेपाल’को नाम निर्वाचन आयोगमा दर्ता भएको अर्को पार्टीसँग मिलेपछि नवगठित पार्टीको नाम के राख्ने भन्नेबारे पार्टी अन्योलमा परेको छ । 
 
समाजवादी पार्टीका सञ्चार सहयोगी प्रशान्त सिंहले पार्टीको नाम र चुनाव चिह्नबारे पार्टीमा अन्योल भइरहेको जानकारी दिएका छन् । सिंहका अनुसार यस विषयमा पार्टीमा छलफल पनि भइरहेको छ ।
  
बिहीबार फरकधारसँग कुरा गर्दै सिंहले भने, ‘यस पार्टीको नाममा अन्योल छ । ‘नेपाल’ अगाडि राख्ने कि अरू के राख्ने त्यसमा अन्योलता छ ।’
  
झन्डाको सन्दर्भमा भने कुनै विवाद नरहेको उनले बताए । पूर्वसंघीय समाजवादी फोरमकै झन्डा आधिकारिक भएको बताउँदै उनले भने, ‘हरियो, रातो रङ र तारा बीचमा भएको झन्डामा हाम्रो पहिल्यै सहमति भइसकेको छ ।’
  
उनले पार्टीको तर्फबाट निर्वाचन आयोगमा पार्टी दर्ता प्रक्रिया अगाडि बढाएको जानकारी दिए । तर, आयोगमा यसअघि नै ‘समाजवादी पार्टी, नेपाल’ दर्ता भइसकेकाले त्यसलाई निर्वाचन आयोगले हटाएपछि आफूहरूको पार्टी दर्ता हुने उनले जानकारी दिए । हटाउन नमिले पार्टीको नाम परिवर्तन हुन सक्ने सिंहको भनाइ छ ।

निर्वाचन आयोगमा विष्णुराज अर्यालले समाजवादी पार्टी, नेपाल दर्ता गरिसकेका छन् । तर, पार्टी राजनीतिक अस्तित्वमा भने छैन । 

पार्टीको नाम र चुनाव चिह्न आधिकारिक नभएकाले फेसबुक, ट्विटर र वेबसाइटमा नराखिएको सिंहले जानकारी दिए । उनले भने, ‘पार्टीको नाममा कन्फ्युजन छ । अरू कुनै कारण छैन, त्यही कारणले फेसबुक, ट्विटर र वेबसाइटमा पार्टीको नाम र चुनाव चिह्न राख्न ढिलाइ भएको हो ।’  

सिंहले पार्टीको तल्ला तहको एकीकरण छिट्टै सुरु हुने पनि जानकारी दिए । त्यसका लागि निर्देशिका तयार गर्न पार्टीले चारजनालाई जिम्मेवारी दिएको र उनीहरूले निर्देशिका बनाएर बुझाइसकेको सिंहले जानकारी दिए । आगामी पदाधिकारी बैठकमा त्यसबारे छलफल हुने उनले बताए ।
 
निर्देशिका बनाउने जिम्मेवारी पूर्वनयाँ शक्तिबाट डम्बर खतिवडा, गंगानारायण श्रेष्ठ र पूर्वसंघीय समाजवादीबाट हेमराज राई, रामसहायक प्रसाद यादवले पाएका थिए । 





  • प्रकाशित मिति : जेठ १४, २०७६ मंगलबार १७:९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया