काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । कोरियाको काङनाम विश्वविद्यालयले ओलीलाई विद्यावारिधि प्रदान गरेको हो ।
यसअघि प्रधानमन्त्री ओलीले विभिन्न विश्वविद्यालयबाट तीनवटा मानार्थ विद्यावारिधि पाइसकेका छन् । यो उनको चौथो मानार्थ विद्यावारिधि हो ।
काङनाम विश्वविद्यालय क्रिस्टिचियानिटी र मानवताको सिद्धान्तमा आधारित भएर सत्य, स्वतन्त्रता, समभाव आधारित शिक्षा प्रदान गर्ने उद्देश्यले सत्तरी वर्षअघि स्थापना भएको विश्वविद्यालय हो ।
ओलीले बुधबार नेपाली सेनाको सानो भर्याङमा रहेको स्वास्थ्य विज्ञान संस्थानको भवनमा विद्यावारिधि ग्रहण गरेका हुन् । सो कार्यक्रम त्रिभुवन विश्वविद्यालयको सहआयोजनामा भएको हो ।
प्रधानमन्त्री ओलीले यसअघि कोस्टारिकाको शान्ति विश्वविद्यालय, भारतको उत्तराखण्डको गोविन्दबल्लभ पन्त कृषि विश्वविद्यालय र ग्रिनफोर्ड विश्वविद्यालबाट मानार्थ विद्यावारिधि पाएका थिए । अमेरिकामा रहेको भनिएको ग्रिनफोर्ड विश्वविद्यालयको विद्यावारिधि उपाधि भने विवादमा परेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।