‘समय भएपछि ओलीले सरकार छोड्नुहुन्छ, अहिले व्यर्थैमा चर्को हल्ला नगरौँ ’

काठमाडौं– केही दिन यता नेपाली राजनीतिमा नयाँ तरङ्ग सुरुवात भएको छ । यो तरङ्ग नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्रकार ऋषि धमालालाई एक अन्तर्वार्ता दिएपछि सुरु भएको हो । अन्तर्वार्तामा प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताएका छन् । 

तर, प्रचण्डले यो कुराको छनक दिएको यो पहिलो पटक होइन । उनी पाँच दिने भ्रमणका लागि गत २१ भदौमा जाँदा पनि यो कुराको छनक दिएका थिए । भारत भ्रमणमा रहँदा उनले द प्रिन्ट पत्रिकाकी पत्रकार ज्योती मल्होत्रासँग कुराकानी गरेका थिए । कुराकानीका रुपमा उनले भनेका थिए, ‘देश आर्थिक समृद्धिमा केन्द्रित भएको छ, र मलाई अबको प्रधानमन्त्रीको रूपमा तपाईं कल्पना गर्न सक्नुहुन्छ ।’

केही दिनअघि पत्रकार धमालासँगको अन्तर्वार्तामा पनि प्रचण्डले आलोपालो सरकार बनाउने सहमति भएको खुलाएका थिए । 

तत्कालीन नेकपा एमाले र माओवादी पार्टी एकीकरणको सन्दर्भमा प्रचण्ड र ओलीबीच भएको पाँच बुँदे सहमतिबारे अहिले चर्चा चुलिएको छ । तर, यो सहमतिबारे नेपाली राजनीतिमा तरङ्ग आउनु आकस्मिकता वा संयोग भन्दा पनि नियोजित भएको एक नेकपा नेताको बुझाइ छ । 

‘यसलाई अहिले अलिक बढी चर्चा गरिएको जस्तो गरिएको छ,’ उनले फरक धारसँगको कुराकानीमा भने, ‘यो हुनु त खासमा नियोजित हो ।’ केही दिनअघि प्रचण्ड र ओलीबीच भएको भेटमा यो प्रसङ्ग निस्किएको र ओलीले अहिलेलाई त्यो सम्झौता बिर्सौँ भन्ने आशय व्यक्त गरेकाले प्रचण्डले यसलाई बाहिर ल्याएको हुनसक्ने अनुमान ती नेताको छ । 

हुन पनि पार्टी एकताको अधिकांश काम नसकिँदासम्म प्रचण्ड यस विषयमा चुप थिए । कतिसम्म भने नेकपा जिल्ला नेतृत्व नटुङ्गिदासम्म प्रचण्डले मिडियाहरुलाई खासै अन्तर्वार्ता दिएनन्, सरकार र साझेदारीको विषयमा केही बोलेनन् ।



‘अब चाहिँ बोल्ने समय पनि आएको हो,’ प्रचण्डनिकट नेकपाका एक नेताले भने, ‘त्यति बेला पार्टी एकीकरण गर्दा भएका सम्झौता अहिले बिर्सनु हुँदैन । सम्झौता भएको थियो र त्यो पालना नै हुनुपर्छ ।’ ती नेताले अब विस्तारै ओलीले सरकार नछोड्ने हुन् कि भन्ने भय माओवादी पृष्ठभूमीबाट आएका नेताहरुमा पर्न थालेको पनि बताए । 

ओली प्रधानमन्त्रीबाट हटेर प्रचण्ड प्रधानमन्त्री बन्नुले सरकार अस्थिर भएको सन्देश नजाने पनि उनको तर्क छ । ‘आखिर एउटै पार्टी भएको छ, हिजोको सहमति पनि त्यही अनुसार छ,’ उनले भने, ‘एउटै पार्टी सरकारमा हुनु भनेको अस्थिर सरकार हुनु भन्ने प्रश्न नै आउँदैन । पार्टी उही हो, व्यक्ति मात्र फेरिँदा पार्टीका नीति तथा कार्यक्रम, सरकारका प्राथमिकता फेरिँदैनन् ।’



उनले दुई पार्टीको एकीकरण भइसकेकाले पहिले भएका सहमति पालना भएमा मात्र पार्टी एक ढिक्का भएर अगाडि बढ्ने भएकाले अध्यक्ष ओलीले यसबारे पनि सोच्नु पर्ने बताए । 

नेकपाका अर्का नेता देवेन्द्र पौडेल पनि सम्झौता त पालना नै हुनु पर्नेमा जोड दिन्छन् । ‘अहिले बेला भएको चाहिँ होइन,’ उनले भने, ‘निर्वाचनले हाम्रो पार्टीलाई पाँच वर्षको सरकार बनाउन म्यान्डेट दिएको छ, आधा आधा सरकारको नेतृत्व गर्नका लागि पनि अझै केही समय बाँकी छ ।’ साढेँ दुई वर्षपछि सरकारको नेतृत्व परिवर्तन गर्ने सल्लाह भएकाले अहिले नै आवश्यक बहस नभएको पनि पौडेलको तर्क छ । 

तर, एमाले पृष्ठभूमीका अर्का नेकपा नेता भन्छन्, ‘यो उहाँहरुले अनावश्यक कुरा गर्नु भएको हो । त्यति बेला पार्टी एकताका लागि सम्झौता भएकै भए पनि अहिलेको परिस्थिति बुझेर उहाँहरुले यस्तो कुरा उठाउनै हुँदैनथ्यो ।’

सत्तामा पुग्न प्रचण्ड लोभिएको र त्यसैको फलस्वरुपः यस्ता हल्लाहरु बाहिर आएको हुनसक्ने उनले अनुमान गरेका छन् । तर, यो हल्लाले सरकारका कामकारवाही तथा स्पिडलाई प्रभावित पार्ने पनि उनको तर्क छ । ‘अब यति हल्ला भएपछि जताततै सरकार परिवर्तनको कुरा मात्र बढ्दै जान्छ,’ उनले भने, ‘यो बेठिक समयमा चर्चा चल्यो । यसले सरकारका कामहरुलाई प्रभावित पार्छ र अन्तमा पार्टीलाई नै समस्यामा धकेलिदिन्छ ।’

प्रधानमन्त्री ओली निकट नेताहरु ओलीले नै पाँच वर्षका लागि सरकारको नेतृत्व गर्नु पर्ने बताइरहेका छन् भने प्रचण्ड निकट नेताहरु सम्झौता पालनामा जोड दिइरहेका छन् । तर, ओली अहिले नै सरकार छोड्ने पक्षमा छैनन् । ‘पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए विकासको स्पष्ट खाका तयार हुनेमा प्रधानमन्त्री ओली ढुक्क हुनुहुन्छ,’ ओलीनिकट नेताले भने, ‘त्यसैले अहिले नै तत्काल उहाँलाई हटाउन खोज्नु ठिक हुँदैन । अब एउटै पार्टी भएकाले पनि पार्टी भित्र छलफल गरेर यसको निकास निकाल्न सकिन्छ ।’

  • प्रकाशित मिति : जेठ १८, २०७६ शनिबार १३:२७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया