हुवावेका प्रमुखः सेनाबाट निकालिए, ५ लाखमा सुरु गरे कम्पनी

आजभोलि अमेरिका र चीनबीच व्यापार युद्धले निकै ठूलो तनाव उत्पन्न गरेको छ । केही कम्पनीका उत्पादनहरुमाथि ठूला प्रतिबन्ध लगाइएका छन् । तर, सबैभन्दा बढी चर्चामा छ– हुवावे कम्पनी । 

अमेरिकाले चिनियाँ कम्पनी हुवावेलाई ब्ल्याकलिस्टमा राखेको छ र आफ्नो फाइभ जी नेटवर्कका लागि हुवावेका उपकरण प्रयोग नगर्ने बताएको छ । यतिमात्र होइन, उसले हुवावेमा कुनै पनि अपडेट नगर्ने पनि चेतावनी दिएको छ । यो सब हुँदाहुँदै पनि अहिले विश्वको सबैभन्दा ठूलो कम्पनी बनेको छ हुवावे । टेलिकम उपकरण बनाउने सबैभन्दा ठूलो कम्पनी हुवावे स्मार्ट फोनमा चाहिँ सामसुङपछिको ठूलो कम्पनी हो । 

तर, हुवावे यो ठाउँमा सहज तरिकाले आएको होइन । यसले त निकै ठूला अप्ठ्यारा र संघर्षको सामना गरेको छ । कम्पनीका प्रमुख रेन झेङफेईले आखिर कसरी कम्पनीलाई यो सफलतामा पुर्याए त ? 

चीनमा सन् १९४९ मा कम्युनिस्ट सरकार बन्यो । त्यसअघि त्यहाँ केएमटी पार्टीको सरकार थियो । रेनका पिता केएमटी सरकारको हतियार बनाने उद्योगमा काम गर्थे । त्यसैले पनि रेनले त्यहाँको पिपुल्स लिबरल आर्मीमा काम गर्ने विचार गरे । उनी काम गर्न पनि गए । तर, उनलाई सेनाको पद कहिल्यै पनि दिइएन । उनी चिनियाँ सेनाको रिसर्च डिपार्टमेन्टमा काम गर्थे ।  

सन् १९८२ मा चिनियाँ सेनाबाट पाँच लाख सैन्य तथा असैन्य अधिकारी निकालिने भयो । तिनैमध्ये एक थिए, रेन । 

बाध्यताले सेनाबाट बाहिरिनु परेपछि रेनले आफ्नो सहर छोडे । उनले सेनझेन सहरमा जाने निधो गरे । त्यहाँ उनले एउटा इलेक्ट्रोनिक कम्पनीमा काम गर्न थाले । सन् १९८७ मा रेनले २१ ह्जार युआन (करिब साढे पाँच लाख) रुपैयाँ लिएर हुवावे टेक्नोलोजिज नामको कम्पनी खोले । यो कम्पनीले सुरुमा कम्प्युटर क्षेत्रमा सम्बन्धित काम गर्न थाल्यो । उनीहरुले सर्भरको स्विच बनाउन थाले । उनीहरुले बनाउने स्विचको मूल्य चाहिँ अन्य कम्पनीको भन्दा निकै सस्तो थियो । त्यसैले हुवावेका उत्पादनको बिक्री निकै बढ्यो । 



चीनमा ९० को दशकमा दूरसन्चारमा अझ राम्रो गर्ने निर्णय भयो । यसका लागि चीनले विदेशी कम्पनीहरुको पनि सहयोग लिने भयो । त्यति बेला रेनले चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव जियाङ जेमिनसँग भेटे र आफ्नो कम्पनीले ती सब काम गर्ने बताए । उनले स्थानीय कम्पनीले यो काम गर्नु पर्ने तर्क यसको गोपनियताको प्रसङ्ग निकाल्दै राखे । अनि त्यहाँको सबै काम हुवावेलाई दिने भइयो । 

यो काम सफलताका साथ पूरा गरेपछि रेनले सन् १९९७ मा हङकङमा काम गर्न सुरु गरे । सन् २०११ सम्म रेनले आफ्नो कम्पनीलाई विश्वका १ सय ७० देशमा फैलाएका थिए । सन् २०१२ मा एरिक्सनलाई पछाडि पार्दै हुवावेले टेलिकम उपकरण बनाउने सबैभन्दा ठूलो कम्पनी बनेर विश्वलाई चकित तुल्यायो । अहिले हुवावेको वर्षेनी बिक्रीमात्र करिब १० लाख करोड रुपैयाँको छ ।



  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार १३:३०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया