प्रधानमन्त्रीसँग किन रिसाए माधव नेपाल ?

काठमाडौं– नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकताका वेला भएको पाँचबुँदे सहमति र केही दिनअघि दाहालले एक टिभीलाई दिएको अन्तर्वातापछि नेकपाभित्रको राजनीतिमा हलचल मच्चिएको छ । सरकारको पाँचवर्षे कार्यकाल आधा–आधा चलाउने आशयको सो सम्झौताको पक्ष र विपक्षमा नेकपाका शीर्ष नेताहरूले अभिव्यक्ति दिइरहेका छन् । 

तत्कालीन एमालेका नेता वामदेव गौतमले खुलेरै दुई अध्यक्षले आलोपालो सरकारको नेतृत्व गर्नुपर्ने अनि मात्रै एकता बलियो हुने बताए भने ईश्वर पोखरेल त्यसको विपक्षमा उभिए । पूर्वप्रधानमन्त्री माधव नेपालले पनि यही सरकार पाँच वर्ष भल्ने भन्दै ओलीको पक्षमा अभिव्यक्ति दिएका थिए । 

अहिले तिनै नेपाल प्रधानमन्त्री ओलीसँग रिसाएका छन् । उनी रिसाउनुको कारण हो प्रधानमन्त्रीले उनलाई भाउ नदिनु । आइतबार ओलीलाई भेट्न बालुवाटार पुगेका पूर्वप्रधानमन्त्री नेपाल प्रधानमन्त्रीलाई नभेटी फर्किए । ओलीले नै बोलाएर त्यहाँ पुगेका नेपाल प्रधानमन्त्रीले ‘समय’मा भेट नदिएपछि रिसाएर त्यहाँबाट फर्किएका हुन् । 

स्रोतका अनुसार आइतबार बिहान प्रधानमन्त्री ओलीले माधव नेपाललाई ‘इमरजेन्सी छ, तुरुन्त बालुवाटार आउनू’ भनेर फोन गरेका थिए । 
नेपालले एक–दुई घन्टामा आइपुग्ने भन्दै फोन राखे । नेपाल आफूले भनेकै समयमा नै बालुवाटार पुगे पनि । तर, झन्डै आधा घन्टा कुर्दा पनि प्रधानमन्त्रीले उनलाई भेट्न समय दिएनन् । त्यसपछि नेपाल बालुवाटारबाट रिसाउँदै बाहिरिए ।  

प्रधानमन्त्री ओली आफैँले बालुवाटार बोलाएर त्यहाँ पुगेका नेपाललाई किन भेट दिएनन् भन्नेमा सबैको चासोको विषय भएको छ । सो घटनाले नेकपाको राजनीतिमा ठूलो असर त नगर्ला तर शीर्ष नेता बिच्किएको घटनाले तरंग भने ल्याउने विज्ञहरूको अनुमान छ । 
 





  • प्रकाशित मिति : जेठ २०, २०७६ साेमबार १४:४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया