सचिवालय बैठकअघि ओली–दाहाल–नेपाल वार्ता, 'छलफल सकारात्मक'

काठमाडौं– केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउन आज दिउँसो बोलाइएको सचिवालय बैठकअघि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरी सहमतिको प्रयास गरेका छन् । यसअघि, ओली र प्रचण्डबीच थुप्रैपटक छलफल भएको थियो । 

कार्यविभाजनका सन्दर्भमा वरिष्ठ नेता नेपालले फरक धारणा राख्दै आएका छन् । पार्टीमा कसैलाई पनि दोहोरो जिम्मेवारी दिन नहुने उनको अडान रहिआएको छ । आजको छलफलमा यस विषयमा अध्यक्षद्वयसँग उनको समझदारी बने–नबनेको भने खुलेको छैन । नेताहरुले भने छलफल सकारात्मक भएकाले दिउँसो बैठक बोलाइएको बताएका छन् ।

सचिवालय बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दै छ । यसअघि, १८ र २० जेठमा बोलाइएका बैठक ‘छलफल नटुंगिएकाले’ स्थगित भएका थिए । 

एक वर्षअघि तत्कालीन एमाले र माओवादीबीच एकता घोषणा भई बनेको मुलुककै ठूलो दल नेकपाको एकता प्रक्रिया अझै टुंगिएको छैन । पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको काम बाँकी छ ।

नेकपाको विधानअनुसार ४४१ सदस्यीय केन्द्रीय कमिटीबाट १४७ सदस्यीय पोलिटब्युरो गठन गर्नुपर्छ । पोलिटब्युरोमा ओली, दाहाल र नेपाल पक्षबीच मतभेद देखिएपछि नेताहरु हाललाई पोलिटब्युरोको काम छोडेर केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने प्रयासमा छन् ।





  • प्रकाशित मिति : जेठ २१, २०७६ मंगलबार १०:३९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया