[विश्वकप क्रिकेट] अनुभवी श्रीलंकासँग भिड्दै उदाउँदो अफगानिस्तान, कसले मार्ला बाजी ?

काठमाडौं– आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंका भिड्दै छन् । इंग्ल्यान्डको कार्डिफस्थित सोफिया गार्डेनमा अफगानिस्तान र श्रीलंकाबीचको खेल नेपाली सयमअनुसार दिउँसो सबा ३ बजे सुरु हुनेछ । 

पहिलो खेल गुमाएका यी दुवै टोली आजको खेल आफ्नो पोल्टामा पार्न एकअर्कासँग आक्रामक रुपमा प्रस्तुत हुनेछन् । यसअघि, अफगानिस्तान अस्ट्रेलियासँग ७ विकेट र श्रीलंका न्युजिल्यान्डसँग १० विकेटको भारी अन्तरले पराजित भएका थिए । 

अफगानिस्तानले अस्ट्रेलियाविरुद्ध २०० रन बनाएको थियो भने श्रीलंका न्युजिल्यान्डविरुद्धको खेलमा १३६ रनमा समेटिएको थियो । दुवैको प्रदर्शन हेर्दा पछिल्लो समय अफगानिस्तान श्रीलंकाभन्दा केही लयमा देखिन्छ । 

विश्वकपमा श्रीलंका अनुभवी टिम हो । सन् १९९६ को विश्वविजेता हो श्रीलंका । अफगानिस्तान भने विश्व क्रिकेटमा उदाउँदो टिम हो । 

सन् २००१ मा आइसिसीको सदस्यता लिएको अफगानिस्तान सन् २००८ यता उत्कृष्ट प्रदर्शन गर्दै २०१३ मा आइपुग्दा पूर्ण एसोसिएट राष्ट्र बन्यो । सन् २०१५ मा विश्वकप डेब्यु गरेको अफगानिस्तानको एकदिवसिय विश्वकपमा यो दोस्रो सिजन हो । २०१५ को विश्वकपमा समूह चरणका ६ खेल खेल्दा उसले १ खेल जितेको थियो । त्यतिखेर उसले एसोसिएट राष्ट्र स्कटल्यान्डलाई मात्र हराउन सक्यो । 

यद्यपि, गएका चार वर्षमा अफगानिस्तान निकै खारिइसकेको छ । यसबीचमा उसले श्रीलंकासँगै पाकिस्तान, बंगलादेशजस्ता पुराना टेस्ट राष्ट्रलाई हराइसकेको छ । सन् २०१७ मा टेस्ट मान्यता पाएको अफगानिस्तान अहिले विश्वका जुनसुकै देशलाई चुनौती दिनसक्ने अवस्थामा छ । 



विश्वकपमा यी दुई टिमको यो दोस्रो भेट हो भने एकदिवसीय क्रिकेटमा तेस्रो भेट हो । २०१५ को विश्वकपमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो । अफगानिस्तानले दिएको २३३ रनको लक्ष्य श्रीलंकाले ६ विकेटको क्षतिमा १० बल बाँकी छँदै पूरा गरेको थियो । 

सन् २०१८ को एसिया कपमा भने अफगानिस्तानले श्रीलंकालाई ९१ रनको फराकिलो अन्तरले हराएको थियो । 
 



  • प्रकाशित मिति : जेठ २१, २०७६ मंगलबार १४:३५:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया