पूर्वराजा र विप्लवसहितको गोलमेच सम्मेलन गर्न कमल थापाको माग

बुटवल– पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गोलमेच सम्मेलन गर्न माग गरेका छन् । मुलुक राजनीतिक संकटमा परेको दाबी गर्दै उनले गोलमेच सम्मेलनमा पूर्वराजादेखि विप्लव समूहलाई सहभागी गरउन माग गरेका छन् । 

बुटवलमा आयोजित राप्रपाको प्रदेश नंं ५ को कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको सफल कार्यान्वयन हुन नसकेको आरोप लगाएका छन् । बरु थप जटिलता उत्पन्न भएकाले समीक्षा गर्ने वेला आएको भन्दै उनले पूर्वराजादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकास गर्नुपर्नेमा जोड दिए । देशमा दिगो शान्ति कायम गर्न गोलमेच सम्मेलन गर्नुपर्ने उनको प्रस्ताव थियो ।

‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठेको छ, समाधानका लागि नयाँ सहमतिमा जानुपर्छ,’ उनले भने, ‘लोकतन्त्रको विकल्प छैन, तर, राष्ट्रिय सहमतिका आधारमा संवैधानिक राजादेखि विप्लवसम्म अटाउने राजनीतिक प्रणाली आवश्यक भइसक्यो ।’ 

संघीयतामा सुधार गरी केन्द्र र स्थानीय सरकारलाई अझ बलियो बनाउनुपर्ने र प्रदेश सरकार खारेज गर्नुपर्ने उनको तर्क गर्दै थापाले स्थानीय सरकारलाई अझ बढी अधिकारसम्पन्न बनाउन माग गरे । 

भर्खरै आएको बजेट आफ्ना कार्यकर्ता र आसेपासेलाई रातारात धनी बनाउने उद्देश्यले वितरणमुखी बनाइएको आरोप लगाउँदै उनले बजेटमा वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने ठोस कार्यक्रम नभएको ठोकुवा गरे । 

रेमिट्यान्समा तलमाथि भए देशको अर्थतन्त्र संकटमा पर्ने बताउँदै थापाले कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता बाँड्ने हैसियत सरकारसँग नभएको बताए । 





  • प्रकाशित मिति : जेठ २१, २०७६ मंगलबार १७:३८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया