काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । कांग्रेसले लाखौँ नेपाली युवा रोजगारीका लागि मलेसिया जानबाट वञ्चित भएको भन्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।
कांग्रेसले लाखौँ नेपाली युवाको गन्तव्यको रुपमा रहेको मलेसियामा कूटनीतिक माध्यमद्वारा नेपाली कामदारको हकहित सुरक्षित हुने गरी जति सक्दो चाँडो रोजगार खुला गर्न छलफल हुनुपर्ने कारण देखाउँदै संघीय संसद् सचिवालयलमा सो प्रस्ताव दर्ता गराएको हो ।
कांग्रेसका सांसदहरु डिला संग्रौला पन्त प्रस्तावक एवं रामबहादुर विष्ट र देवप्रसाद तिमिल्सिना समर्थक रहेको उक्त प्रस्तावमा मलेसियाको रोजगारीका क्रममा स्वास्थ्य परीक्षण, अभिमुखीकरण, मागपत्र प्रमाणीकरण गर्ने क्रममा पैसाको चलखेल नियन्त्रण गर्न नसकेको र श्रमिकसँग लिने सेवा शुल्कमा पारदर्शी हुन नसक्दा श्रमिक ठगिने क्रम बढ्दै गइरहेको जनाइएको छ ।
वैदेशिक रोजगारीका क्रममा गत आर्थिक वर्षमा विभिन्न मुलुकमा ८ सय २१ कामदारको मृत्यु भएकाले नेपालीलाई विदेश जानुअघि सुरक्षाको विषयमा व्यावहारिक जानकारी दिने व्यवस्था सुरु गर्न नेपाली दूतावासलाई परिचालन गरी सुरक्षाको भरपर्दो व्यवस्था मिलाउनसमेत प्रस्ताव गरिएको छ ।
वैदेशिक रोजगार क्षेत्रमा देखिएको अव्यवस्था, विकृति र विसंगति हटाई वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनुपर्ने प्रस्तावमा उल्लेख छ । झन्डै पाँच लाखभन्दा धेरै नेपाली कार्यरत रहेको र बर्सेनि दशौँ अर्ब रुपैयाँ विप्रेसण (रेमिट्यान्स) भित्रिने मुलुकमा कामदार पठाउन रोकिएपछि त्यहाँ नेपालीका लागि रोजगारीको अवसर खुम्चँदै गएको र मलेसियाली रोजगारदाता विकल्प खोज्न थालेका छन् ।
गत वर्ष कात्तिक १२ गतेमा दुई देशबीच पहिलोपटक श्रम सम्झौता भए पनि सरकारले अहिलेसम्म औपचारिक रुपमा नेपाली कामदार पठाउने काम सुरु गर्न सकेको छैन। हजारौँ मजदुरलाई ठगी गर्ने कम्पनीविरुद्ध कुनै कारबाही नभएको कांग्रेसले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।