Tue, 18 Jun, 2019


मेरी हजुरआमाः मेरी आत्मबल, मेरी स्वाभिमान
लक्ष्मी गिरी
फरकधार / जेठ २३, २०७६

म सानोमा बाबाको छत्रछाँयामा हुर्किएँ, बढेँ । बाबा मसँग बाबा होइन, साथीको व्यवहार गर्नुहुन्थ्यो । राम्रो काम गर्न हौसला दिनुहुन्थ्यो । मलाई बाबाले कहिल्यै पनि राम्रो काम गर्नबाट वन्चित गर्नु भएन, सधैं उत्साह नै थप्नुभयो । 



यो त्यो समयको कुरा हो जतिबेला नेपाली समाजमा छोरीलाई घरबाहिर जान दिइँदैनथ्यो, त्यही समयमा मलाई त बाबाले राम्रो गर्नुपर्छ भन्ने हौसला दिनुभयो, स्कुल पठाउनु भयो ।

अफसोस ! सुन्दर कुराहरु धेरै समय टिक्दैनन् । म त्यति बेला त्यस्तै १० वर्षकी थिएँ, बाबाले हामीलाई छाडेर जानुभयो । 

सानोमा यसो गरे पनि उसो गरे पनि मलाई बाबाको निर्देशन नै चाहिन्थ्यो, जे कुरामा पनि बाबाको सहयोग चाहिन्थ्यो । उहाँको निधनले म स्तब्ध मात्र भइनँ, मलाई मेरो जीवन नै अप्ठ्यारो हुन थाल्यो, दिनकहरु कष्ठकर हुन थाले । म निराश हुन थालेँ, उदास हुन थालेँ । बाबाको निधनपछि म अरुसँग बोल्न छाडेँ, एक्लै बसेर टोलाउन थालेँ । 

बाबाको निधनले परिवारमा शुन्यता छाएको थियो, परिवारका सबै सदस्यमा एकांकीपन बढेको थियो । 

बाबाको मृत्युले मेरो मुआ (हजुरआमा) पनि विक्षिप्त हुनु भएको थियो । उहाँ नर्सिङ पेसामा हुनुहुन्थ्यो । 

त्यति बेला मेरो मुआ पाल्पामा जिल्ला अस्पतालमा काम गर्नुहुन्थ्यो । मलाई लाग्छ, उहाँ काठमाडौंबाट बाहिर गएर काम गर्ने पहिलो नर्स हो । मेरो हजुरबा बाँचुन्जेल उहाँलाई काठमाडौं बाहिर जान दिनु भएन, तर पछि उहाँ जानु भयो । पाल्पामा काम गर्ने मुआ बुबाको निधनपछि काठमाडौं आउने हुनुभयो । 

मुआ काठमाडौं आउने निर्णयले मलाई निकै खुसी बनायो । उहाँ काठमाडौं आएपछि म उहाँसँग नजिकिएँ । उहाँले मलाई निकै माया गर्नुहुन्थ्यो र त्यो माया फरक थियो, त्यसको शैली फरक थियो । उहाँले माया गर्ने भएपछि म उहाँसँग झन् नजिकिएँ ।

मुआसँग नजिक हुन थालेपछि फेरि मेरो जीवनमा उत्साह छाउन थाल्यो, विस्तारै मानिसहरुसँग घुलमिल हुन थालेँ म । मुआ काठमाडौं आएपछि मेरो सबैभन्दा मिल्ने साथी, मैले केही कुरा सेयर गर्न चाहने मान्छे उहाँ नै हुनुभयो । उहाँकै काखमा हुर्किने अवसर मैले पाएँ । 

मुआ बाबाको मृत्युले विक्षिप्त भएकाले सामाजिक र धार्मिक कार्यमा अलिक बढी ध्यान दिने हुनु भएको थियो । उहाँ पहिलेभन्दा निकै शान्त हुन थाल्नु भएको थियो । उहाँको व्यवहार र वचन निकै नरम हुन थालेको थियो, शान्त हुन थालेको थियो ।

उहाँ समाजसेवामा अलिक बढी ध्यान दिएर लाग्न थाल्नु भएको थियो । त्यसले मलाई जीवनमा मैले सिक्नु पर्ने सबै कुरा सिकाउन थालेको थियो । सही बाटोमा हिँड्नु पर्छ भन्ने भाव जागृत गराइरहेको थियो । 

मुआबाट सबैभन्दा बढी प्रभावित म के कुरामा भएँ भने अरुलाई सेवा गर्दा आफूलाई पनि खुसी मिल्छ । जीवनमा पैसा कमाउन र कमाएको पैसाले जीवनयापन गर्नु मात्र जीवनको सार होइन भन्ने कुरा मैले मुआबाट नै सिक्न पाएँ । सेवा भाव मुआमा बढी किन पनि थियो भने उहाँ एउटा नर्स हुनुहुन्थ्यो । नर्सिङ पेशामा आवद्ध मुआले मलाई ससाना कुराबाट कसरी खुसी हुने भन्ने सिकाउनु भयो, आफ्नो खुसी आफैंमा निहित हुने कुरा सिकाउनु भयो । र, अरुको खुसीबाट आफू कसरी खुसी हुने भन्ने पनि उहाँले सिकाउनु भयो । 

सानो र सिक्ने समयमा मैले धेरै समय मुआसँग बिताउन पाएकाले नै मैले धेरै कुरा सिकेँ, खानेलाउने विषयमा सिकेँ, आफूलाई कसरी स्वास्थ्य राख्ने भन्ने सिकेँ । 

मुआले मलाई २०२६ सालमा नेपाल स्काउटमा संलग्न पनि गराइदिनु भयो । त्यसअघि महिलाहरु स्काउटमा लिने परम्परा नै थिएन । मुआ चाहनुहुन्थ्यो, म शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनूँ । मुआको यो निर्णय मलाई जीवन परिवर्तन गरिदिने कुरा भयो । स्काउटमा गएकाले नै मैले आफूमा आत्मविश्वास तथा साहस बढेको अनुभूत गर्न पाएँ । 

स्काउटमा हुँदाको एउटा घटना अहिले पनि मलाई राम्रोसँग सम्झनामा छ । स्काउटमा भएकाले मैले स्कर्ट लगाउनु पर्ने हुन्थ्यो । मेरो स्कर्ट लामै थियो तर गाउँघरमा त्यही विषयमा कुरा काट्न थालियो । मैले त यो कुरा सुनेको थिएँ, मुआलाई थाहा छैन होला भन्ने थियो । तर, मुआले पनि यी कुरा सुन्नु भएको रहेछ । त्यति बेला मेरो छिमेकका मानिसहरुले कुरा काट्न थालेका थिए– त्यो नर्सले आफ्नी नातिनीलाई स्कर्ट लगाएर उत्ताउली बनाइ !

मुआले यस विषयमा केही भन्नुहोला कि भन्ने थियो । तर, उहाँले केही भन्नुभएन, बरु मलाई पनि अरुका कुरामा वास्ता नगर्न अनुरोध गर्नुभयो, निर्देशन दिनुभयो ।

यतिमात्र होइन, मेरी मुआ प्रगति गर्नु पर्छ भन्ने सोच राख्नुहुन्थ्यो । मैले स्कुलका विभिन्न कार्यक्रममा सहभागी भएर पुरस्कार जितेर ल्याउँदा पनि मेरी मुआ निकै सचेत हुनुहुन्थ्यो । उहाँले कसबाट पुरस्कार लिइयो भन्ने कुरामा निकै ध्यान दिनुहुन्थ्यो । सामन्तहरुको हातबाट त पुरस्कार पनि लिनुहुन्न भन्ने उहाँको सोच थियो ।

उहाँ भन्नुहुन्थ्यो– पुरस्कार जित्नुमात्रै ठूलो कुरा होइन । पुरस्कार कसले र कुन आशयले दिएको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । राम्रो नियत भएकाहरुको मात्र पुरस्कार लिनुपर्छ भन्ने उहाँको जोड थियो । 

एकपटक यस्तै एउटा घटना भयो । मैले पुरस्कार लिएर घरमा आएँ । उहाँ खुसी भएको जस्तो त गर्नुभयो, तर पहिले मलाई प्रश्न सोध्न थाल्नुभयो । 

मैले आफूले जसले पुरस्कार दिएको थियो, त्यो व्यक्तिको नाम लिएँ । 

त्यो व्यक्तिको नाम सुन्नेवित्तिकै मुआ कड्किनुभयो, ‘यो पुरस्कार घरबाट बाहिर फालिहाल्नु ।’

उहाँले पछि मलाई भन्नुभएको थियो, जो व्यक्तिबाट मैले पुरस्कार लिएको थिएँ, त्यो व्यक्ति प्रजातन्त्र विरोधी रहेछ । उसले नेपालमा प्रजातन्त्रका लागि भएको आन्दोलनमा राणाहरुलाई समर्थन गरेको रहेछ । 

मुआले यति भनिसकेपछि मलाई थाहा भयो– मेरी मुआ स्वाभिमानी हुनुहुन्छ, मैले उहाँलाई अनुसरण गर्नुपर्छ । 

आफ्नो बाटोमा र आफ्नो अडानमा हिँड्नेहरुबारे बारम्बार कुरा काटिन्छ, तर महत्वपूर्ण कुरा चाहिँ खुसी र सुखी हुनका लागि आफ्नो बाटो छोड्नु हुँदैन भन्ने रहेछ । मानिसहरुले आलोचना त गर्छन् तर त्यसले सही काममा कुनै अवरोध पुर्याउन हुँदैन भन्ने रहेछ । 

मुआले मलाई धेरै ठूलो साथमात्र दिनु भएन, उहाँबाट मैले धेरै ठूलो प्रेरणा पनि पाएँ । अहिले म जहाँ छु, जे छु, त्यो सब मुआकै कारण सम्भव भएको हो । उहाँकै प्रेरणाले गर्दा म दक्षिण एशियामा घोडा दौडाउने, प्याराग्लाइडिङ गर्ने जेठो उमेरकी महिला भएँ ।

मुआ मेरो जीवनको आत्मबल हुनुभयो, उहाँले मलाई सानैदेखि कसरी अर्थपूर्ण जीवन बाँच्ने भनेर सिकाउनु भयो । 

(कुराकानीमा आधारित)
 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्