यस्तो छ, अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पर्यटक लैजाने तयारी
अर्को सालदेखि अन्तरिक्ष केन्द्रमा पर्यटक पठाइने, वर्षमा दुई छोटा मिसन, १२ जनाले पाउनेछन् अवसर

वासिंगटन– अमेरिकी अन्तरिक्ष संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) पर्यटकका लागि खोल्दै छ । अर्को वर्षदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा निजी कम्पनीले पर्यटक लैजानेछन् । 

२० वर्षदेखि सरकारी खर्चमा चलिरहेको अन्तरिक्ष केन्द्रलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने ट्रम्प प्रशासनको नीतिअनुरुप नासाले अन्तरिक्ष केन्द्र पर्यटन र अन्य व्यापारिक प्रयोजनका लागि खोल्न लागेको हो । पहिलो चरणमा दुई निजी कम्पनीलाई वर्षमा दुई छोटा मिसन सञ्चालन गर्न दिने नासाको तयारी छ । यसका लागि उसले इलोन मस्कको कम्पनी स्पेस–एक्स र जहाज उत्पादक कम्पनी बोइङलाई नियुक्त गरेको छ । 

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र अमेरिका, रसिया, जापान, युरोप र क्यानडाको संयुक्त परियोजना हो । सन् १९९८ मा अमेरिकी अन्तरिक्ष संस्था नासा र रसियन अन्तरिक्ष संस्था रस्कस्मसको अगुवाइमा अन्तरिक्ष प्रयोगशाला र निरीक्षण केन्द्रका रुपमा यसको स्थापना भएको हो ।

विभिन्न स्पेस मिसनहरुमा यो केन्द्रले सहयोग पुर्याउँदै आएको छ । भविष्यमा चन्द्रमा, मंगल तथा एस्टेरोइडहरुमा जाने मानवसहितको मिसनका लागि पनि यो सहयोगी हुने विश्वास गरिएको छ । यो केन्द्र सन् २०३० सम्म प्रयोगमा रहने अनुमान छ । नासाले सन् २०२४ सम्म चन्द्रमामा पुनः मानिस पुर्याउने योजना बनाएको छ । यसअघि, सन् १९६९ काे जुलाईदेखि १९७२ काे डिसेम्बर (एपोलो ११ देखि एपोलो १७) सम्म १२ जनाले चन्द्रमामा पाइला टेकेका थिए । 

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र हालसम्मकै सबैभन्दा ठूलो अन्तरिक्ष केन्द्र हो, जहाँ १८ वर्ष ७ महिनादेखि अन्तरिक्ष वैज्ञानिकहरु निरन्तर बसिरहेका छन् । सामान्यतया यहाँ ६ जना क्रु–मेम्बर रहन्छन् । यो विश्वको नवौँ मानवसहितको अन्तरिक्ष केन्द्र हो । यसअघि, रुसले स्याल्युट, अल्माज, मिरजस्ता अन्तरिक्ष केन्द्र बनाएको थियो भने अमेरिकाले स्काइल्याब बनाएको थियो । 

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रलाई दुई भागमा विभाजन गरिएको छ– रसियन सेक्सन र अमेरिकन सेक्सन । रसियन सेक्सनको स्वामित्व रस्कस्मसले लिन्छ भने अमेरिकी सेक्सनको स्वामित्व नासाले लिन्छ । नासाले अहिले अमेरिकन सेक्सनमा पर्यटक पठाउन लागेको हो । 



योजनाअनुसार, दुई मिसनमा गरी वर्षमा १२ जनाले अन्तरिक्ष केन्द्रको भ्रमणमा जाने अवसर पाउनेछन् । मिसनको सम्पूर्ण खर्च लैजाने कम्पनीले उठाउनेछ । 
नासाका अनुसार ‘क्रु–मेम्बर’को छनेट पनि निजी कम्पनीले नै गर्नेछ । छानिएका मानिसका लागि तालिम र स्वास्थ सेवाको व्यवस्था पनि उसैले गर्नेछ । 

यस मिसनका लागि स्पेस–एक्सले आफ्नो ‘ड्र्यागन क्याप्सुल’ प्रयोग गर्नेछ भने बोइङले ‘स्टारलाइनर’ स्पेसक्राफ्ट बनाइरहेको छ । 



यी कम्पनीले प्रत्येक अन्तरिक्षयात्रीसँग ६ करोड डलर लिनेछ । यसका अतिरिक्त केन्द्र जान चाहने पर्यटकले प्रति रात ३५ हजार डलर तिर्नुपर्नेछ । 

यसअघि, नासाले अन्तरिक्ष केन्द्रको व्यावसायिक प्रयोगमा रोक लगाएको थियो । अहिलेसम्म नासाका अन्तरिक्षयात्रीले निजी कम्पनीका अनुसन्धानमासमेत भाग लिन नपाउने व्यवस्था छ ।  

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पर्यटक जान लागेको यो पहिलोपटक भने होइन । सन् २००१ मै अमेरिकी व्यावसायी डेनिस टिटो अन्तरिक्ष केन्द्रमा गइसकेका छन् । रुसी सेक्सन प्रयोग गरेका उनले दुईतर्फी यात्राको लागि रुसलाई दुई करोड डलर तिरेका थिए । 

  • प्रकाशित मिति : जेठ २५, २०७६ शनिबार १३:५४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया