Mon, 18 Nov, 2019


#farakक्षमता
[#farakक्षमता] सृष्टि: ब्लाइन्ड अर्थात् बोल्ड, लोयल, इन्टलिजेन्ट, नोबल, डाइनामिक
फरकधार / जेठ २५, २०७६

सृष्टि केसी सामान्य युवती होइनन् । उनी असामान्य पनि होइनन् ।



तर, उनले जुन सपना देखेकी छिन्, त्यसलाई यी सामान्य र असामान्यको परिधिभन्दा पर कतै राख्दा हुन्छ । 

सुन्दा नै ऊर्जा भर्ने उनले ‘देखेको’ त्यो सपना हो– ब्लाइन्ड रक्स । 

सामान्य अर्थमा बुझ्नेहरुका लागि ब्लाइन्ड भनेको दृष्टि गुमाएकाहरु र रक्स भनेको ‘गर्न सक्नु’ होला । तर, सृष्टिका लागि ब्लाइन्डको अर्थ हो– बोल्ड, लोयल, इन्टलिजेन्ट, नोबल, डाइनामिक । मानाैँ उनले आफ्नै जीवनलाई बुझेर याे पूर्णरुप तयार पारेकी हुन् । किनिक सृष्टि छिन्– बोल्ड, लोयल, इन्टलिजेन्ट, नोबल, डाइनामिक ।

यही अर्थ बोकेर सृष्टिले यो सपना देखेको पाँच वर्ष भइसकेको छ । 

पाँच वर्षअघि जब सृष्टि १६ वर्षकी थिइन्, उनको मनमा यो सपनाले बिऊ रोपियो । 

बिर्सनु हुँदैन, यो सपना कुनै सहज वातावरण वा परिस्थितिले जन्माइदिएको चाहिँ होइन । २७ वर्षकी सृष्टि १६ वर्षकी हुँदासम्म आँखामा आफ्ना सपना सजाउँथिन्, आँखाले नै सपना देख्थिन् ।

सबै तस्वीरहरु सृष्टिकाे फेसबुकबाट

तर, अब उनले सपना देख्न थालेकी छिन्, मनले । त्यसैले पनि हुनुपर्छ उनी एउटा लामो यात्रामा निस्किइसकेकी छिन् । 

सृष्टि १४ वर्षकी हुँदको कुरा हो । उनी आठ कक्षामा पढ्थिन् । उनको आँखामा समस्या देखिन थाल्यो । त्यो सामान्य एलर्जी थियो । बाबुआमासँग उनी एक चिकित्सककहाँ पुगिन् । औषधिमूलो सुरु भयो ।

निकै लामो समयसम्म पनि औषधिले सृष्टिको ‘नजर’मा कुनै सुधार ल्याएन । उल्टो एक दिन उनी एउटा कार्यक्रममा स्टेजमा नाच्दानाच्दै लडिन् । त्यसपछि अस्पताल जाँदा थाहा भयो– सृष्टिको दृष्टि नफर्किने भयो । 

यही कुराले परिवारले हरेश चाहिँ खाएन । नेपालका सबैजसो अस्पतालमा सृष्टिलाई लगियो । तर, कतै पनि केही हुन सकेन । भारतमा सम्भव होला कि भनेर सृष्टिको उपचारका लागि भारत पनि लगियो । तर, त्यहाँ पनि सम्भव भएन ।

‘म उज्यालोबाट अँध्यारोमा भासिएँ,’ केही दिनअघि भक्तपुरमा भेटिएकी सृष्टिले लामो सास फेरिन्, ‘स्कुलमा साथीहरु परपर हुन थाले, आफन्तहरुले माया होइन, दया देखाउन थाले ।’

दृष्टि त गुमाएकी थिइन् सृष्टिले, तर मनले संसार ‘हेर्ने’ चाह पनि बढाउँदै लगेकी थिइन् । उनको आँखाको ज्योती गुमेकोमा सबैभन्दा बढी चिन्तित थिइन् उनकी आमा । ‘आमा दिनरात रुनुहुन्थ्यो,’ सृष्टिले सम्झिइन्, ‘आमाको आँसुका कारण म दुखी हुँदै त थिएँ तर सँगसँगै त्यसले ममा आँट पनि पलाउँदै लगेको थियो ।’

यति बेलासम्म एसएलसी पास गरिसकेकी थिइन्, सृष्टिले । उनको आँखामा समस्या देखिएको २ वर्षभन्दा बढी भइसक्दा पनि आमाका आँसु थामिएनन्, उनीमाथि दयाभाव देखाउनेहरु कम भएनन् ।

समाजले अनेक कुरा काट्न थाल्यो, अनेक टिप्पणी गर्न थाल्यो । 

सृष्टिले कसले के गरिरहेको छ देख्न त सक्थिनन्, तर महसुस गर्न सक्थिन्, बुझ्न सक्थिन् । 

त्यसपछि ।

सृष्टिले आँखाले सपना देख्न छाडिन्, मनले सपना देख्न थालिन् । 

त्यो सपना पछ्याउन उनको पहिलो जग बन्यो– पढाइ । उनले पढाइमा अझ मेहनेत गर्न थालिन् । यो खुड्किलोमा उनलाई सफलता नै मिल्यो । उनले पढाइमा कति राम्रो गरिन् भने उनी गोल्ड मेडलिस्ट नै बनिन्  ।

‘राष्ट्रपतिबाट गोल्ड मेडल पाएपछि ममा उत्साह झन् बढेको थियो,’ उनले भनिन्, ‘अब मैले खुसी भन्ने देख्न छाडेकी थिएँ, महसुस गर्न थालिसकेकी थिएँ । मनले महसुस गर्ने खुसी अझ ठूलो हुँदो रहेछ । त्यसले नै ममा शक्ति थप्दै लग्यो ।’

 

000

र, एउटा ब्रेक । यो ब्रेक हो, सृष्टिको प्रेमबारे ।

यो सृष्टि १२ कक्षा पढ्दाको कुरा हो । उनी पहिले पनि नाच्न गाउनमा रुचि राख्ने भएकाले दृष्टि गुमाए पनि नाच्ने त हो भन्ने सोच्न थालिन् । तर, सबै नृत्य सिकाउने ठाउँहरुमा उनलाई लिइएन । 

अनि उनी खोज्दै पुगिन्, त्यस्तो ठाउँ जहाँ दृष्टिविहिनहरुलाई नृत्य तथा संगीत सिकाइन्थ्यो । 

त्यहाँ सृष्टिले नृत्य मात्र सिकिनन्, थाहा पाइन् प्रेमको अर्थ पनि । 

हो, उनको एक युवासँग ‘लभ’ पर्यो । ‘लभ भन्दा पनि हामी दुईको कुरा मिल्यो,’ सृष्टि हाँसिन्, ‘हामी दुवैका सपना मिल्थे, हामी दुवैमा धेरै समानता थिए ।’

तर, सृष्टिको यो प्रेम लामो समय चल्न सकेन । उनका प्रेमीको घरमा यसलाई अस्वीकार गरियो । उनलाई प्रेमीले सुनाए– आमाले त सुसाइड गर्छु भन्नुभयो, तिम्रो र मेरो विवाह नहुने भयो ।

अनि ब्रेक भयो, सृष्टिको यो प्रेम । 

000

 

त्यही ब्रेकले सृष्टिको मनमा अझ धेरै इख पलायो । ‘केही गरेर त देखाउनै पर्छ भन्ने मनमा भयो, मैले पढाइमा अझ बढी ध्यान दिन थालेँ,’ उनले भनिन् ।

स्नातक उर्तीण हुँदा पनि सृष्टिले त्रिभुवन विश्वविद्यालय टप गरिन् । 

अब परिवारले उनीबाट आशा गर्न थाल्यो । परिवारले उनलाई दिएको सुझाव थियो– लोकसेवा लड्नु, जागिर खान थाल्नु ।

योबीचमा उनी केरलासम्म पुगेकी थिइन् । त्यहाँ एउटा संस्थामा उनले थोरै समय काम गरिन् । यो संस्था उनीजस्तै दृष्टि गुमाएकाहरुलाई सहयोग गर्ने संस्था थियो । 

त्यही केरलाको संस्थामा उनले जति समय बिताइन्, त्यसले उनको जीवनमा अर्को युटर्न ल्याइदियो । 

उनी केरला गएकी थिइनन् भने परिवार र आफन्तहरुले सुझाएजस्तै लोकसेवा लड्न जाने थिइन् होला । तर, उनले त केरलाको त्यो संस्थामा आफूलाई भित्रैबाट बुझ्ने मौका पाइन्, आफूले के गर्नुपर्छ भन्ने थाहा पाइन् ।

अनि उनको मनमा झन् बलियो गरि डेरा जमायो– ब्लाइन्ड रक्सले । 

यही ब्लाइन्ड रक्स हो, जसको कल्पनाले उनमा ऊर्जा भरिन्छ । अनि उनले यसबारे सुनाउँदा सुन्नेमा ऊर्जा भरिन्छ । 

सृष्टिले ब्लाइन्ड रक्स पाँच वर्षअघि दर्ता गराइन्, संस्थाका रुपमा । ‘रोक्न खोज्नेहरु त थिए,’ उनले सम्झिइन्, ‘तर, कसैले पनि मलाई रोक्न सक्ने थिएन, किनकि म मानसिक रुपमा ब्लाइन्ड रक्स दर्ता गराउने र काम गरेरै छाड्ने भन्नेमा थिएँ ।’

यसका लागि उनलाई केही साथीहरुले सहयोग पनि गरे । 

सृष्टि दृढ भइसकेकी थिइन् । त्यसैले अब अवसरहरुले उनलाई पछ्याउन थाले ।

यहीबीच उनले अवसर पाइन्, नर्वे जाने । नर्वेको नर्वेजियन विश्वविद्यालयबाट डान्स एन्थ्रोपोलोजीमा मास्टर्स गर्ने अवसर उनले पाएकी थिइन् । यो कोर्स विभिन्न चार देशमा गएर पढ्ने अवसर उनले पाएकी थिइन्– नर्वे, फ्रान्स, हङ्गेरी र युके ।

यता, नेपालमा ब्लाइन्ड रक्सले ‘सानातिना’ काम गरिरहेको थियो । सृष्टि बेलाबेलामा नेपाल आउँथिन् पनि । 

‘नआए पनि के, उहाँ रहँदा सधैं ब्लाइन्ड रक्सकै सम्झना हुन्थ्यो,’ सृष्टिले चश्मा मिलाइन्, मुसुक्क हाँसिन् र भनिन्, ‘के भइरहेको होला भन्ने चिन्ता भइरहन्थ्यो ।’

उता, चार देशमा दुई वर्षे कोर्ष गर्ने भएकाले सृष्टिलाई समस्या पनि थपिएको थियो । एउटा देशको हावापानीमा जब उनी भिज्न थाल्थिन्, अर्को सेमेस्टरका लागि अर्को देश गइहाल्नु पर्ने थियो । 

‘चार देश घुमेँ,’ उनले भनिन्, ‘ त्यही चार देश घुम्दा नै मैले जीवनलाई राम्रोसँग बुझ्न पाएँ । आफैं पकाउ, खाउ, भाँडा माँझ, कपडा धोउ गर्नु पथ्र्यो, सहज त थियो तर असहजताको भित्र सहजता ।’

जे होस्, यता नेपालमा ब्लाइन्ड रक्स चलिरहेको थियो । सृष्टिले जन्माएको संस्था । 

‘संस्था त थियो तर आफ्नै अफिस भन्ने पनि थिएन, नियमित आर्थिक स्रोत पनि थिएन,’ सृष्टिले ब्लाइन्ड रक्सका सुरुवातका दुःख सम्झिइन्, ‘मैले अरु कार्यक्रममा गएर कमाएको पैसा, साथीहरुले पाएको पैसा सबै संस्थामा खर्च गरिरहेका थियौँ ।’

यस्ता कुराले सृष्टिलाई निरुत्साहित त गथ्र्यो तर कहिल्यै विचलित चाहिँ बनाएन । संस्था चलाउँदाका आर्थिक अभावलाई जसोतसो चित्त बुझाउने प्रयासमा सृष्टि थिइन्, तर उनलाई हतोत्साही बनाउनेहरुले अरु अनेक आरोप लगाउँथे । 

‘राम्रो गर्न खोजेकी थिएँ,’ उनले भनिन्, ‘तर, कतिपय मान्छेहरुले म र मेरो संस्थामाथि मिथ्या आरोप लगाए, गलत अर्थ लगाइदिए । मेरो कामलाई गलत व्याख्या गरिदिए ।’

तर, यी केही कुराले पनि सृष्टिको संस्थालाई बलियो बनाएर अगाडि लैजाने दृष्टिलाई रोक्न सकेन । 

त्यसैले त अहिले उनीहरु अलिक सहज अवस्थामा आइपुगेका छन् । ‘अब त हामीलाई केही आर्थिक सहयोग पनि आउन थालेको छ,’ उनले भनिन्, ‘योसँगै जिम्मेवारी पनि थपिएको छ । अहिलेसम्म दृष्टिविहिनलाई जुन तह र तप्कामा राखेर यो समाजले हेरिरहेको छ, समाजको सोचलाई नै परिवर्तन गराउनु पर्ने हुन्छ ।’

यतिमात्र होइन, सृष्टिलाई त आफ्नो काम र कर्तव्यमा आफूले दृष्टि गुमाएको छु भन्ने सोच्नै नपरोस् भन्ने छ । ‘आखिर दृष्टि गुमाउनुभन्दा पहिले म एउटा नागरिक त हो नि, एउटा नागरिकको कर्तव्य मैले पूरा गर्नैपर्छ ।’

हाम्रो समाजको यो सोच बदल्ने र फरक काम गरेर समाजलाई परिवर्तन गराउने सृष्टिका सपना पूरा अवश्य हुनेछन् ।

किनकि उनले यी सपना आँखाले होइन, मनले देखेकी हुन् । 

सृष्टि सामान्य युवती होइनन् । उनी असामान्य पनि होइनन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्