लैंगिक हिंसाविराेधी आन्दाेलन चलाएकी क्लेयर स्टाप्लेटनले किन छाेडिन् गुगल ?
नोभेम्बरमा भएकाे कर्मचारी आन्दोलनको नेतृत्व गर्दै क्लेयर स्टाप्लेटन (बीचमा, कालाे ब्यानर लिएकी)

वासिंगटन– नीतिपरिवर्तनको माग गर्दै गत नोभेम्बरमा भएको कर्मचारी आन्दोलनको नेतृत्व गरेकी क्लेयर स्टाप्लेटनले गुगल छाडेकी छिन् । उनले बुधबार नै कम्पनी छाडे पनि खबर भने शुक्रबार मात्रै बाहिरियो । 

क्लेयर यु–ट्युबमा म्यानेजर थिइन् । २००६ को नोभेम्बरदेखि यु–ट्युब गुगलको स्वामित्वमा छ । राजीनामापछि क्लेयरले गुगल अधिकारीहरुमाथि आफूसँग बदलाको भाव राखेर व्यवहार गरेको आरोप लगाएकी छिन् । 

१२ वर्षदेखि गुगलमा कार्यरत क्लेयरले गत नोभेम्बरमा कर्मचारीहरुले गरेको ‘वाकआउट’को नेतृत्व गरेकी थिइन् । त्यतिखेर ५० देशका २० हजार कर्मचारीले यौनशोषणका मामलासँग जुझ्ने गुगलको नीतिविरुद्ध प्रदर्शन गरेका थिए ।

कर्मचारी आन्दोलनकै कारण गुगलले आफ्नो नीति परिवर्तन गर्नुपरेको थियो । कम्पनीले यस्ता मामलामा अनिवार्य मध्यस्थताको सर्त खारेज गरेको थियो । अर्थात्, यौनशोषणको पीडामा परेका कर्मचारी कम्पनीको मध्यस्थताविनै सोझै अदालत जान पाउने भएका थिए ।  

‘विभागका अधिकारीहरुले मेरो छवि व्याभिचारीको जस्तो बनाइदिएका थिए,’ शुक्रबारको एक पोस्टमा क्लेयरले लेखेकी छिन्, ‘यसैका कारण मेरा लागि नेकरी गर्न, र अर्को जागिर खोज्न पनि मुस्किल भयो । यदि म अझै त्यहाँ रहन्थेँ त मेरो पीडा झन् बढ्ने थियो ।’

सार्वजनिक रुपमा गुगलले आफ्नो प्रशंसा गरे पनि अधिकारीहरुले निरन्तर बदलाको भावले आफ्ना खिलाफ काम गरेको क्लेयरले बताएकी छिन् । आफ्नो ओहदा घटाएर कुनै स्वास्थ्य समस्या नभइकनै जबर्जस्ती ‘मेडिकल लिभ’मा पठाएको क्लेयरको आरोप छ । 



गुगलले भने क्लेयरको आरोपमाथि अनुसन्धान गरेको, तर त्यस्तो कुनै व्यवहार भएको प्रमाण नभेटिएको बताएको छ । यतिन्जेल गुगलमा काम गरेकोमा क्लेयरलाई धन्यवाद दिँदै कम्पनीले उनको उज्ज्वल भविष्यको कामना गरेको छ ।  



  • प्रकाशित मिति : जेठ २५, २०७६ शनिबार १६:३३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया