प्रधानमन्त्री कपको उपाधि पुलिस क्लबलाई

काठमाडौं– नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा मञ्जित श्रेष्ठको नेतृत्वमा रहेको पुलिसले विनोद भण्डारीले कप्तानी गरेको आर्मीलाई चार विकेटले पराजित गर्दै उपाधि हासिल गर्न सफल भयो । प्रधानमन्त्री कपमा पहिलो पटक उपाधि हासिल गरेको पुलिसले नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।     

यसअघि दुई विभागीय टोली पुलिस र आर्मी उक्त प्रतियोगिताको पहिलो संस्करणमा संयुक्त विजेता बनेको थिए । वर्षाका कारण फाइनल खेल रद्द भएपछि दुवैले ट्रफी बाँडेका थिए । दोस्रो संस्करणको उक्त प्रतियोगितामा पुलिस सेमिफाइनलमा पराजित भएको थियो भने आर्मी फाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग पराजित भएको थियो ।

प्रतियोगिताको तीनै संस्करणसम्मको खेलमा फाइनल पुगेको आर्मी उपाधिविहीन बन्यो । हारसँगै उपविजेतामा चित्त बुझाएको आर्मीले नगद १० लाख रुपैयाँ हात पारेको छ ।  

टस जितेर पहिले ब्याटिङ थालेको आर्मीले पुलिसलाई १२६ रनको सामान्य लक्ष्य दिएको थियो । सो विजय लक्ष्य बोकेर मैदानमा उत्रेको पुलिसले ४०.३ ओभरमा छ विकेट गुमाएर भेटायो ।

पुलिसको जितमा अमित श्रेष्ठले ४० बल खेल्दै दुई छक्का र ६ चौकाको  मद्दतले सर्वाधिक ४४ रन बनाए भने सुनील धमालाले अविजित ४२ रन जोड्दा कप्तान मञ्जितले अविजित ११ रन जोडे । बलिङतर्फ आर्मीका करण केसीले व्यक्तिगत तीन विकेट लिए भने शाहव आलमले दुई विकेट लिँदा सुसन भारीले एक विकेट हात पारे ।  



त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीको सुरुआत उत्कृष्ट भए पनि त्यसलाई निरन्तरता दिन नसकेपछि हार बेहार्न बाध्य बन्यो । आर्मी ३३.३ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । 

सुरुआती ब्याट्सम्यान सोमपाल कामी र राजु रिजालले पहिलो विकेटका लागि १५.५ ओभरमा ७२ रनको साझेदारी गर्दै ठूलो योगफलको सम्भावना देखाएका थिए । तर, ललितनारायण राजवंशीले सोमपाललाई पवन सरार्फबाट क्याच आउट गर्दै ३५ रनमा पेभिलिएन फर्काएपछि आर्मीको खेलको स्तर खस्किएको थियो ।



सोमपालले ४० बल खेल्दै दुई छक्का र तीन चौकाको मद्दतमा ३५ रन बनाएका थिए भने राजु रिजालले ३२, भीम सार्कीले २० तथा रोहित पौडेलले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । 

मध्यक्रमका कुनै पनि ब्याट्सम्यानले जिम्मेवार भएर नखेल्दा आर्मी सस्तैमा समेटिन पुगेको थियो । आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका ललित राजवंशी र पवन सर्राफले समान चार-चार विकेट लिए भने सागर ढकालले एक विकेट हात पारे । 
     
समूह चरणको खेलमा पनि पुलिसले आर्मीलाई ५० रनले पराजित गरेको थियो । यस संस्करणको प्रतियोगितामा पुलिस र आर्मी एउटै समूहबाट फाइनलमा पुगेका थिए । समूह बीमा रहेको पुलिस समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेको थियो । 

पुलिसले सेमिफाइनलमा साविक विजेता एपिएफलाई पाँच विकेटले पराजित गर्दै फाइनलको यात्र तय गरेको थियो । उता समूह चरणमा पुलिससँग मात्र हार बेहोरेको आर्मीले सेमिफाइनलमा प्रदेश नं ३ लाई ११७ रनले पराजित गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपालय इन्टरनेसनल प्रालिको सहकार्यमा भएको उक्त प्रतियोगिता यही जेठ १० गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टोलीको सहभागिता थियो । 

  • प्रकाशित मिति : जेठ २५, २०७६ शनिबार १७:३६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया