६ अर्ब डलर खर्चेर किन जनतालाई परफ्युम बाँड्दै छ नेदरल्यान्ड ?

एम्स्टर्डम– नेदरल्यान्ड प्रहरीले लागुऔषधसम्बन्धी अपराध नियन्त्रणका लागि अनौठो अभियान चलाउन लागेको छ । अभियानअन्तर्गत, प्रहरी जनतालाई एमडिएमएको गन्ध भएको फरफ्युम बाँड्दै छ । एमडिएमए नेदरल्यान्डमा व्यापक उत्पादन र प्रयोग हुने लागुऔषध हो । यसलाई सामान्यतया ‘एक्सटेसी’ नामले चिनिन्छ । 

प्रहरीलाई विश्वास छ कि यो लागुऔषधको गन्ध चिनेपछि आम मानिसले नै लागुऔैषध लिने र बेच्नेलाई पक्रन सघाउनेछन् । यस परियोजनाका लागि सरकारले झन्डै ६ अर्ब डलर खर्च गरेको छ । 

वर्षैंदेखि यो लागुऔषध नेदरल्यान्डको टाउको दुःखाइको विषय बनेर रहेको छ । एमडिएमएको उत्पादन र आयात–निर्यात रोक्ने पटक–पटकको कोसिसका बाबजुद नेदरल्यान्ड यसको उत्पादनको राजधानी बनेको छ । पारम्परिक तरिकाबाट लागुऔषध अपराध नियन्त्रणमा सफलता नमिलेपछि प्रहरीले यो भिन्न तरिका अपनाएको हो । 

प्रहरीले बाँड्न लागेको परफ्युमको गन्ध एडिएमएको जस्तै छ । यसलाई विश्वचर्चित च्यानल नम्बर ५ परफ्युमको जस्तै बोत्तलमा प्याक गरिएको छ । तर, जनताले कानुनी अड्चनको सामना गर्नु नपरोस् भनेर प्रहरीले बोत्तलको सट्टा कार्ड या न्याप्किन पेपरमा परफ्युम छर्केर दिन्छ, ता कि जनताले यसको गन्ध राम्रोसँग थाहा पाऊन् । 

प्रहरीले यो परफ्युमको नाम एक्सटेसी राखेको छ । किनकि, यो नाम लागुऔषधको दुनियाँमा चर्चित छ । प्रहरी यो परफ्युम सित्तैमा बाँड्दै छ । 

विश्वास छ कि, एक्सटेसीको गन्ध राम्रोसँग चिनेपछि मानिस जहाँसुकै यो लागुऔषधको सुइँको पाउनेबित्तिकै प्रहरी वा सरकारी ल्याबलाई यसबारे सूचना दिनेछन् । सरकारी वकिल एन्टोइनेट डिसेन्ड यो योजना निश्चित रुपमा प्रभावकारी हुने बताउँछन् । 





  • प्रकाशित मिति : जेठ २५, २०७६ शनिबार १७:५५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया