गौर हत्याकाण्डमा सोमबार सर्वोच्च अदालतले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाउनु भनेर दिएको परमादेशप्रति जनता समाजवादी पार्टी नेपालले आफ्नो प्रतिक्रिया दिँदै आपत्तिसमेत जनाएको छ ।
बुधबार जसपाका प्रवक्ता मनिष सुमनले विज्ञप्ति जारी गरेर सर्वोच्चले दिएको परमादेशको पूर्ण पाठ सार्वजनिक नहुँदै सञ्चार माध्यममा एकतर्फी समाचार सम्प्रेषण भएको भन्दै आपत्तिसमेत जनाएका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतबाट आदेशको पूर्ण पाठ वा संक्षिप्त आदेश नै नआउँदै, सर्वोच्च अदालतबाट जारी भएको आदेशसँगको मुद्दामा पक्ष वा विपक्षको रूपमा रहँदै नरहेको यो राजनैतिक दल तथा यसका अध्यक्ष ज्यूलाई लक्षित गर्दै सम्प्रेषण भएको समाचार पूर्णरुपमा पूर्वाग्रही, भावक तथा सस्तो लोकप्रियताका लागि नियतवश सम्प्रेषण गरिएको हुँदा त्यस कार्यप्रति भर्त्सना समेत गर्दछौँ ।’
जसपाले आफ्ना पार्टी अध्यक्षलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने दुष्प्रयास भएको आरोप पनि लगाएको छ । ‘सम्मानित सर्वोच्च अदालतको आदेशप्रति पूर्ण सहयोग गर्न माननीय अध्यक्ष श्री उपेन्द्र यादव ज्यू तथा जनता समाजवादी पार्टी, नेपाल सदैव तयार रहँदा रहँदै, मधेस आन्दोलनलाई कमजोर पार्ने र अध्यक्षलाई राजनीतिक प्रतिशोधको निशाना बनाउने दुष्प्रयास स्वरूप आम सञ्चार माध्यमबाट अतिरञ्जित पूर्ण रूपमा समाचार सम्प्रेषण गर्दै जनमानसमा भ्रम मार्फत द्वन्द्व सृजना गर्ने कार्य नगर्न आम सञ्चार माध्यमहरूलाई समेत हार्दिक अपिल गर्न चाहन्छौ,’ विज्ञप्तिमा भनिएको छ ।
त्रिभुवन साहसहितको रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासले जाहेरीमा अनुसन्धान अघि बढाउन आदेश गरेको थियो । ७ चैत २०६३ रौतहट जिल्लाको गौरमा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमबीचमा झडप हुँदा २७ जना मारिएका थिए ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।