हजार बालबालिकाको उपचारको जिम्मा लिँदै ओजिलले मनाए विवाह उत्सव

इस्तानबुल– जर्मन फुटबलर मेसुट ओजिलले एक हजार बिरामी बालकालिकाको शल्यक्रियाको जिम्मा लिँदै बिहेको उत्सव मनाएका छन् ।

टर्किस मूलको भएकै कारण आफूमाथि दुर्व्यवहार भएको भन्दै गतवर्ष जर्मन फुटबलबाट अलगिएका ओजिलले टर्किस राष्ट्रपति रिसेप तैयिप अर्डोगानलाई ‘बेस्ट म्यान’ (औँठी दिने व्यक्ति) बनाएर हिजो बिहे गरे । पत्नी अमाइन गुलसेसँग मिलेर ओजिलले बिगसु च्यारिटीका हजार बालबालिकाको उपचार खर्च व्यहोर्नेछन् । 

हिजै एक पोस्टमार्फत ओजिलले अरुलाई पनि यो अभियानमा जोडिन आहुवान गरेका छन्, ता कि धेरैभन्दा धेरै बालबालिकाको उपचार हुन सकोस् । उनले बिगसु फाउन्डेसनसँग यसअघि पनि काम गरिसकेका छन् । 

बिगसु फाउन्डेसन जर्मनी र स्विजरल्यान्डका डाक्टरको सहयोगमा डाक्टर, पैसा र औषधिको अभाव भएका देशका बालबालिकाको उपचार गराउँछ । 

ओजिल ३ वटा विश्वकपमा जर्मन टिमको महत्वपूर्ण हिस्सा बनेका खेलाडी हुन् । जर्मनीले २०१४ को विश्वकप जित्दा पनि उनको योगदान महत्वपूर्ण रह्यो । जर्मनीका लागि उनले ९२ अन्तर्राष्ट्रिय खेल खेल्दै २३ गोल गरेका छन् । 

२०१८ को विश्वकपमा जर्मनी लिग चरणबाटै बाहिरिएपछि ओजिलको आलोचना भयो । आफूलाई आप्रवासी भनेर हेला गरिएको तथा मानसिक यातना दिइएको भन्दै उनले राष्ट्रिय फुटबलबाट अलग रहने घोषणा गरे । अहिले उनी इंग्लिस क्लब आर्सनलबाट व्यावसायिक फुटबल खेलिरहेका छन् । 





  • प्रकाशित मिति : जेठ २६, २०७६ आइतबार २०:२२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया