लाखाैँकाे प्रदर्शनका बाबजुद सुपुर्दगी विधेयक पास गर्दै हङकङ !

हङकङ– हङकङमा सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा लाखौँ मानिस सडकमा उत्रेका छन्  । विधेयकमा रहेको ‘हङकङमा रहेका सन्दिग्ध अपराधीलाई चीनमा सुनुवाइका लागि सुपुर्दगी गर्न सकिने’ व्यवस्थाविरुद्ध हङकङवासी सडकमा उत्रेका हुन् । 

लाखौँ प्रदर्शनकारीले आइतबार ‘नो चाइना एक्स्ट्राडिसन’ लेखिएका प्लेकार्ड बोकी प्रदर्शन गरे । चीनले आफ्नो सरकारको विरोधमा उत्रने राजनीतिक नेता तथा प्रतिस्पर्धीलाई तह लगाउन यस्तो प्रावधान ल्याउन लगाएको उनीहरुको आरोप छ । 

आइतबारको विरोधपछि पनि अधिकारीहरुले भने विधेयकमा कुनै संशोधन नहुने बताएका छन् । हङकङकी नेत्री क्यारी लामले जुलाईअघि नै विधेयक जस्ताको तस्तै पारित हुने बताएकी छिन् । 

विधेयक पक्षधरले भने विधेयक हङकङको स्थिरता र न्यायव्यवस्थाका लागि आवश्यक भएको बताएका छन् । राजनीतिक तथा धार्मिक मुद्दाका आरोपीलाई चीनमा सुपुर्दगी गर्नबाट विधेयकले रोक्ने उनीहरुले दाबी गरेका छन् ।

विधेयकको विरुद्धमा आइतबारदेखि भएको विरोध प्रदर्शन सन् २०१४ को ‘अम्रेला मुभमेन्ट’पछिको ठूलो हुने अनुमान गरिएको छ । बिबिसीका अनुसार, आइतबार प्रदर्शनमा उत्रनेमा व्यवसायी, वकिल, विद्यार्थी, धार्मिक नेता तथा लोकतन्त्र पक्षधर छन् । विधेयकलाई हङकङको स्व–शासनको अन्त्यको खेल भन्दै उनीहरुले यसलाई जीवनमरणको सवाल मानेका छन् । 



सुपुर्दगी कानुनमा गरिएको नयाँ प्रस्तावअनुसार चीन, ताइवान र मकाउका अधिकारीले हङकङमा अपराध तथा बलात्कारको आरोप लागेकालाई सुपुदर्गी गर्न आग्रह गर्न सक्नेछन्  । उनीहरूलाई सुपुर्दगी गर्ने या नगर्नेबारे मुद्दाको प्रकृतिअनुसार निर्णय गरिने विधेयकमा उल्लेख छ । ताइवान र मकाउका लागि सुपुर्दगीको व्यवस्था गरे पनि चीनमा भने सुपुर्दगी गर्न नहुने प्रशर्दनकारीहरुको माग छ । 



हङकङका अधिकारीले सुपुर्दगीबारे अन्तिम निर्णय हङकङस्थित अदालतले लिने बताएका छन् । बिबिसीको रिपोर्टअनुसार, उनीहरूले राजनीतिक तथा धार्मिक अपराधमा संलग्नलाई सुपुर्दगी नगरिने दाबी गरेका छन् ।

केही समयअघि हङकङका १९ वर्षीय युवक गर्भवती प्रेमिकाको ताइवानमा हत्या गरेर फर्केपछि उक्त कानुन ल्याइएको हो । ताइवानका अधिकारीले ती युवकलाई आफ्नो देशमा फिर्ता गर्न हङकङसँग आग्रह गरे पनि सुपुदर्गी कानुनको अभावमा हङकङले फिर्ता गर्न सकेको थिएन । 

सन् १९९७ सम्म बेलायतको उपनिवेश रहेको हङकङ त्यसयता चीनको अर्ध–स्वशासित क्षेत्रका रुपमा रहेको छ । यद्यपि, हङकङको आफ्नै कानुन छ । चीनमा नभएको नागरिक स्वतन्त्रताको अभ्यास यहाँका मानिसले गर्छन् । हङकङले हालसम्म २० देशसँग सुपुदर्गी सन्धि गरिसकेको छ ।


  • प्रकाशित मिति : जेठ २७, २०७६ साेमबार १७:३७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया