बर्दघाटका एकल महिलालाई बुढानीलकण्ठ स्कुलका विद्यार्थीको सहयोग

काठमाडौं– बुढानीलकण्ठ स्कुलबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरुले नवलपरासीको बर्दघाटमा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन आर्थिक र भौतिक सहयोग गरेका छन् । नवलपरासीका संविधानसभा सदस्य विक्रम खनालको उपस्थितिमा विद्यार्थीहरुले सहयोग हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा संविधानसभा सदस्य खनालले उनीहरुको सानो सहयोगले निराश भएर एकल जीवन बिताइरहेका महिलाहरुलाई आत्मनिर्भर बन्न प्रेरणा मिलेको र आत्मविश्वास पनि बढेको बताए । ‘यो एकदम ठूलो परियोजना होइन तर एसइई परीक्षा दिएका केही किशोरहरूको कामले समाजमा फरक छाप छोडेको छ । उनीहरुको प्रयासले १० परिवारका महिलालाई नयाँ जीवन सुरू गर्न उत्साह थपिएको छ,’ उनले भने ।
 
भर्खर एसइई दिएर बसेका किशोरहरुमा केही सामाजिक काम गर्ने रहर जागेपछि उनीहरुले आफन्तहरुको सरसल्लाहमा सो ठाँउमा गएर एकल महिलाहरुलाई सहयोग गर्ने मनस्थिति बनाएका थिए । सोही अनुरुप उनीहरुले एकपटक सो स्थानको भ्रमण गरे । एकल महिला रहेका परिवारको पहिचान गरे । आत्मनिर्भर बन्न स्थानीय तहमा उनीहरुले गर्न सक्ने कामको सूची तयार पारे । हरेकलाई उनीहरुको रुचिको विषय भन्न लगाए ।

यसरी माग अध्ययन गर्न जाँदा कतिपयले किराना पसल, केहीले बाख्रापालन गर्ने,  केहीले टेलर खोल्ने इच्छा देखाएका थिए । काठमाडौंबाट बर्दाघाटसम्म पुगेका विद्यार्थीहरुले सो क्षेत्रका एकल महिलाहरुको माग लिएर आए र उनीहरुलाई सघाउने प्रस्ताव सहितको परियोजना विभिन्न बैंक तथा वित्तीय संस्था र कर्पोरेट हाउससमक्ष राखे । आवश्यक रकम जुटेपछि उनीहरुले सहयोग हस्तान्तरण गरे ।

विद्यार्थीहरुको उक्त कार्यक्रमका लागि श्री पञ्चकन्यागु्रप, कान्तिपुर हार्डवयर सेन्टर, एनआइसी एसिया बैंक, रिलायन्स पेन्ट, ज्योति विकास बैंक, ई–सेवा, भोल्भो, रोयल कोअपरेटिभ, हिकभिजन, सिम टि.भी., एनसिसी बैंक, सिद्धार्थ बैंकजस्ता संस्थाले सहयोग गरेका थिए ।

‘एकल महिलालाई उत्तम जीवन’ नामक सो परियोजना बुढानीलकण्ठ स्कुलबाट २०७५ मा माध्यमिक शिक्षा परीक्षा दिएका नवल अधिकारी, अभानिश चौरागाई, समिर खत्री, कुन्दन थापा मगर, समन थापा, विराद रिजाल र आयुष झाको परिकल्पना थियो ।

विद्यार्थीहरुले उक्त परियोजनालाई वित्तीय सहयोग दिने र परियोजनामा सहभागी हुने सबैलाई धन्यवाद दिएका छन् ।





  • प्रकाशित मिति : जेठ २९, २०७६ बुधबार ११:२८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया