काठमाडौँ– नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी ‘राजपा’का सांसदले संयुक्तरुपमा गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठक शुरु हुने बित्तिकै उनीहरूले विधेयक फिर्ता लिन माग गर्दै काठमाडौँका गुठीयारले आन्दोलन शुरु गरेको भन्दै आन्दोलनकारीका माग पूरा गर्नसमेत माग गरे ।
काङ्ग्रेसका सांसद प्रकाशमान सिंहले गुठीसम्बन्धी विधेयकलाई सरकारले फिर्ता लिई सरोकार निकायसित छलफल गरी परिमार्जन गर्न ध्यानाकर्षण गराए ।
सभामुख कृष्णबहादुर महरासित समय लिई उनले प्रस्तावित विधेयकमा पुस्तौंपुस्तादेखि सञ्चालित निजी गुठीलाई सार्वजनिक गुठीमा रुपान्तरण गरी प्राधिकरण सञ्चालन गर्न खोज्नु आपतिजनक रहेको बताए ।
उनले भने, ‘विधेयक सरोकारवाला निकायसँगको छलफल बिना किन ल्याउनु पर्यो ? यसबाट दुई हजारभन्दा गुठी प्रभावित हुन्छन् । विधेयक संविधान विपरीत छ । निजी सम्पत्ति राख्न पाउने अधिकारलाई घुमाउरो पाराले आक्रमण गर्न खोजियो । धार्मिक स्वतन्त्रता विपरीत भयो । म विधेयक फिर्ता लिन आग्रह गरेको छ ।’
राष्ट्रिय जनता पार्टीका सांसद अनिलकुमार झाले लोकसेवा आयोगले हालै प्रकाशित कर्मचारी भर्नासम्बन्धी विज्ञापन फिर्ता लिन, विज्ञापनलाई समावेशी र समानुपातिक बनाउन र लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न माग गरे ।
उनले सरकारले ल्याउन लागेको गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन आग्रह गर्दै धर्म संस्कृति रक्षा गर्न गुठीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।