यसरी सुधारौं सामुदायिक विद्यालय

सामुदायिक विद्यालय समाजको सम्पत्ति हो । समाजको सम्पत्तिको रक्षा गर्नु हाम्रो कर्तव्य हो । हामी कर्तव्यबाट भाग्नु भनेको हामीले आफ्नो जिम्मेवारीको बोध गर्न नसक्नु हो । जिम्मेवारीको बोध नहुनु भनेको आफ्ना बालबालिकाको भविष्य अन्धकारतर्फ धकेल्नु हो ।

त्यसैले,आफ्नै घर छेउका सामुदायिक विद्यालयप्रति समुदायको अपनत्वको भावना हुन जरूरी छ । समुदायमा रहेका अभिभावकले आफ्ना छोराछोरीले विद्यालयमा केकस्तो शिक्षा आर्जन गरेका छन् भनेर हेर्नु पर्दछ ।

समय-समयमा विद्यालय गएर आफ्ना छोराछोरीको पढाइ सम्बन्धी बुझ्नु पर्दछ। त्यति मात्र नभई आफना बालबालिकासँग विद्यालका कुराहरूको बारेमा जानकारी लिनु पर्दछ। कुन शिक्षकले कस्तो पढाउँछ भनेर खोजी गर्नु पर्दछ। यो समुदायको कुरा हो ।

अब कुरा गरौं शिक्षकका । शिक्षक बौद्धिक व्यक्ति हो । शिक्षकले चाहे विद्यालय र विद्यार्थीलाई धेरै माथि पुर्याउन सक्छ। तर, शिक्षकले शिक्षण पेशालाई जागिरको रूपमा मात्र लिन्छ। ऊ तलबभत्ता खाने सोचले विद्यालय पस्छ ।

विद्यालयप्रतिको जिम्मेवारीलाई बेवास्ता गर्छ भने त्यो शिक्षक नभएर भक्षक हुन्छ । त्यस भक्षकले कसरी विद्यार्थीलाई पढाउँछ ?  सबै शिक्षक भक्षक पनि छैनन् । धेरै रक्षक पनि छन् ।  जसले पेशाप्रतिको आफ्नो उत्तरदायित्व बोध गरेका छन् । जिम्मेवारी पूरा गरेका छन् ।

उनीहरू गुरु, आमा, बुबा, साथी, दिदी, दाइ आदि बनेर विद्यार्थीलाई हमेसा असल र सफल बनाउन लागिपरेका छन्। तर, थोरै शिक्षकले आफूलाई समयानुकुल बनाउन नसक्दा अन्य शिक्षक पनि त्यही घानमा निफनिएका छन्। 



त्यस्तै विद्यालय व्यवस्थापन समितिले चाहे विद्यालयलाई नमुना बनाउन सक्छ । तर, समिति विद्यालयप्रति उत्तरदायी भएर लाग्नुपर्छ । सामुदायिक विद्यालयको व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार धेरै छन् । ती मध्येका थोरै मैले कोट्याउने प्रयास गरेको छु । समितिले विद्यालय सञ्चालनको लागि प्राप्त साधन र स्रोतको परिचालन गर्नुपर्दछ । 



विद्यालयको चल, अचल सम्पत्तिको लागत राख्ने, राख्न लगाउने र सुरक्षा समेत गर्नु पर्दछ । विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक तथ्यांक र विवरण अद्यावधिक गराई राख्नु पर्दछ । विद्यालयमा स्वच्छ शैक्षिक वातावरण कायम राख्न राजनैतिक, धार्मिक वा साम्प्रदायिक भावनाको आधारमा विद्यालयको वातावरण धमिल्याउन नदिने खालको काम गर्नु पर्दछ ।

समितिका यस्ता धेरै काम, कर्तव्य र अधिकारहरू रहेका छन् । तर हाम्रा सामुदायिक विद्यालयमा समिति निर्माण गर्दा केही थाहा नभएको सकेसम्म सहि गर्न समेत नजान्नेलाई अध्यक्षमा राख्छन्, किनकी विद्यालयको लापर्वाही बाहिर नआओस् भन्ने सोच विद्यालय प्रशासनको हुन्छ। तर, बुझ्ने अभिभावकहरू भएको ठाउँमा भने अत्यन्तै  मिहेनती, लगनशील र उत्तरदायित्व बोध भएका समितिहरू पनि छन् ।

जसले विद्यालयको हितको लागि आफ्ना व्यक्तिगत कामहरू नै छोडेर विद्यालय सुधारको लागि आफ्नो समय अर्पण गरेका छन् । त्यस्ता सुधारोन्मुख समितिलाई भने विद्यालय प्रशासनले वास्ता गर्दैन । कति ठाउँमा त समिति आफैं लागेर विद्यालय सुधार गरेका रेकर्डहरू पनि हाम्रा सामु  नै छन् ।

त्यस्ता समितिलाई धन्यवाद दिनै पर्छ, जसले व्यक्तिगत हितभन्दा माथि रहेर संस्थागत हितको लागि समय खर्चिएर विद्यालयमा आफ्नो जिम्मेवारी के हो भनेर बुझी उक्त जिम्मेवारीप्रति बफादार भएर विद्यालयलाई सुधार गर्न हरपल पहल गरिरहेका छन् । 

(लेखक माध्यामिक शिक्षक हुन् ।)  

  • प्रकाशित मिति : जेठ ३०, २०७६ बिहीबार १०:४०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया