लोकसेवाको विज्ञापनबारे कांग्रेसको धारणा : करारमा कर्मचारी राख्ने हाेइन, विज्ञापन समावेशी बनाएर अघि बढाउने

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोक सेवा आयोगको विज्ञापन रद्द गराएर सरकारमा रहेकाहरूले करारमा कर्मचारी राख्न खोजेको भन्दै विरोध जनाएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले संविधानअनुसार लोकसेवाको विज्ञापन अघि बढाउन सुझाब दिए । 

विज्ञापन ४५ प्रतिशत समावेशी हुनुपर्ने बताउँदै उनले विज्ञापन स्थगित गर्न लगाएर निर्वाचित जनप्रतिनिधिका भाइ, भतिजा, छोराछोरी, आफन्त र आसेपासे करारमा राख्ने कुरा कांग्रेसलाई मान्य नहुने बताए । 

‘करारमा कर्मचारी राख्ने पक्षमा हामी छैनौँ, करारले भविष्यमा समस्या निम्त्याउँछ,’ शर्माले भने, ‘कर्मचारी लोकसेवाबाट नै राख्नुपर्छ तर त्यसका लागि विज्ञापन समावेशी हुनुपर्‍यो ।’ 

लोकसेवाले गत जेठ १५ गते स्थानीय तहका लागि पदपूर्ति गर्न नौ हजार एक सय ६१ आवेदन मागेको छ । त्यसका लागि अहिलेसम्म करिब एक लाखले आवेदन दिइसकेका छन् ।

विज्ञापन समावेशी नभएको भन्दै सरोकारवाला पक्षले आन्दोलन गर्दै आएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आयोगको विज्ञापन समावेशी नभएको देखिएकोले स्थगित गर्न निर्देशन दिएको छ भने तत्काल कर्मचारी आवश्यक परे करारबाट लिन सकिने भनेको छ।

कांग्रेसले विज्ञापनलाई संशोधन गरी संविधानले प्रत्याभूत गरेको विषयलाई समेट्न लोकसेवा आयोगलाई सुझाब दिएको छ । साथै देशैभरबाट आवेदन दिएकाहरूलाई परीक्षा दिने बाटो खुलाउनुपर्ने उनले बताए ।
 





  • प्रकाशित मिति : जेठ ३०, २०७६ बिहीबार १४:४५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया