समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं– तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीच एकता भएर गठन भएको समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । यसअघि नै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी भए पनि सो नाममा अर्को पार्टी दर्ता भएका कारण दर्ता प्रक्रिया केही महिना ढिलो भएको थियो । 

बिहीबार १ बजेका लागि दर्ताको समय तोकिएको भए पनि नेताहरू आउन ढिला भएका कारण झन्डै एक घन्टापछि दर्ता गरिएको थियो । निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने कार्यक्रममा उल्लेख्य रुपमा नेता–कार्यकर्ता उपस्थित भएका थिए ।

निर्वाचन आयोगमा पार्टी दर्ता गरेपछि बोल्दै पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सरकारको आलोचना गरेका छन् । उनले अहिले आएका सबै विधेयक संविधानविपरीत भएको बताए । 

सरकारसँग विकासको स्पष्ट मार्गचित्र नभएको आरोप लगाउँदै उनले सरकारले राजस्व दुरुपयोग गरेको बताए । सरकार संघीयता कार्यान्वयनमा असफल भएको भन्दै उनले आफ्नो पार्टीले लोकतन्त्रको जगमा टेकेर सम्मुन्नत समाजवाद ल्याउने दाबी गरे । 

त्यसैगरी, अर्का अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारलाई संविधान संशोधन गर्न अल्टिमेटम दिने र सो समयसम्म संशोधन नगरे सरकार छाडेर आन्दोलनमा जाने बताए । पार्टीको चुनाव चिह्नबारे छलफल गरेर टुंग्याइने उनको भनाइ थियो । 

 





  • प्रकाशित मिति : जेठ ३०, २०७६ बिहीबार १६:५४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया