काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षको अन्त्यसम्ममा नेपालले एउटा विश्व मञ्चका रूपमा सगरमाथा सम्वाद ‘सगरमाथा डाएलग’ आयोजना गर्न लागेको बताएका छन् । उनले त्यस्तो बहस पहिलो चरणमै पर्यावरणका विषयमा केन्द्रत हुने जानकारी दिए ।
पर्वतारोहण गतिविधिका लागि प्रसिद्ध फ्रान्सको सुन्दर सहर सामोनी मो ब्लाँमा शुक्रबार आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
त्यस सहरका मेयर मोरिस हर्जोकले धवलागिरि हिमालको सफलतापूर्वक आरोहण गरेर आठ हजार मिटरभन्दा अग्ला हिमाल पनि चढ्न सकिन्छ भनेर संसारलाई सन्देश दिएका थिए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालजस्ता केही मुलुकले जलवायु परिवर्तनको भार बोक्नु परेको बताए । उनले भने, ‘हामी अत्यन्तै कम उत्र्सजन गर्छौं तर पर्यावरणीय प्रणाली बचाइराख्न धेरै योगदान गर्छौँ । यो नमिल्दो भएको छ, यसलाई सच्याइनुपर्छ ।’
‘नेपालले १५ प्रतिशत भूभाग हिउँले ढाकेको छ । ४५ प्रतिशत भूभाग जङ्गलले डाकेको कुल ६० प्रतिशत हाम्रो भूभाग वातावरणका लागि समर्पित छ’ उनले थपे, ‘हाम्रो हिमाल र जङ्गलको ‘रिर्चाजिङ र कुलिङ’का माध्यमबाट पर्यावरणीय सन्तुलनमा पुर्याएको योगदान अतुलनीय छ । तर धेरै मानिस यसबारे जानकार छैनन् ।’
नेपालमा हाम्रा लागि हिमालहरू प्रकृतिक सुन्दरता मात्र होइनन् । तिनीहरू हाम्रा परिचय हुन् , प्रतीक हुन् र हाम्रो छविका प्रवद्र्धक हुन् भन्दै प्रधानमन्त्री ओलीले भने, त्यसैले तिनीहरू हाम्रो हृदयको नजिक छन् ।’
प्रधानमन्त्री ओलीले हिमाली संस्कृतिको चर्चा गर्दै भने, ‘हिमाली संस्कृतिबारे जब हामी कुरा गर्छौंँ, हामीले सामान्य, इमानदार, कडा परिश्रम गर्ने र आतित्यपूर्ण जीवन पद्धति भन्ने बुझ्छौं ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।