वर्तमान अन्तरिम सरकारले २१ फागुनमा प्रतिनिधिसभा चुनावको मिति घोषणा गरिसकेको छ । चुनावको मिति घोषणासँगै जेनजीहरूका साथै धेरै दलहरू तयारीमा जुट्न थालेका छन् ।
माओवादी केन्द्रले पनि चुनावमा भाग लिन सहमति जनाउँदै आफ्ना नेताकार्यकर्तालाई तयारीका लागि निर्देशनसमेत दिइसकेको छ । नेपाली कांग्रेस पनि चुनावमा जाने मनस्थितिमा देखिन्छ । तर, देशको प्रमुख राजनीतिक दलमध्ये नेकपा (एमाले) भने अझै चुनावी मोडमा प्रवेश गर्न सकेको छैन । त्यसको मुख्य कारण हो– पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्राथमिकता । उनको प्राथमिकता अहिले चुनाव होइन, संसद पुनर्स्थापना हो ।
भक्तपुरको गुण्डुमा बिहीबार आयोजित कार्यक्रममा ओलीले असंवैधानिक ढंगले विघटन गरिएको संसद् फिर्ता गराउनुपर्ने मागलाई लिएर अघि बढ्नुबाहेक एमालेसँग अर्को विकल्प नभएको स्पष्ट पारे । उनका अनुसार मुलुकलाई ‘सही बाटोमा फर्काउने’ एक मात्र उपाय संसद पुनःस्थापना हो ।
‘अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन,’ ओलीले भने । उनले नेपाली कांग्रेस पनि यही बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे ।
ओलीको भनाइले संकेत गर्छ, एमाले अहिले राजनीतिक रूपले अन्योलमा छ । एकातिर देशमा चुनावी माहोल तात्दै गएको छ, अर्कोतिर एमाले नेतृत्वले चुनावी तयारीको सट्टा संसद पुनस्र्थापनाको मागलाई नै केन्द्रमा राखेको छ ।
ओलीले चेतावनीस्वरूप भने, ‘त्यसो गरेनौँ भने असंवैधानिक र अलोकतान्त्रिक क्रियाकलापहरूलाई स्वीकार गरेर अघि बढ्ने स्थितिमा देश बर्बाद हुनेछ । हामीले समयमा दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौं भने पछि ढिला भएर भनेर पछुताउनु पर्नेछ ।’
उनले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको भनाइसमेत दोहोर्याए । राजनीतिक रूपमा आगामी महिनाहरू निर्णायक बन्ने सम्भावना छ । एकातिर माओवादीलगायत दले तयारीलाई तीव्र बनाएका छन् । अर्कोतिर एमाले अझै विघटित संसद पुनस्र्थापनाको मागमा अडिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।