प्रधानमन्त्रीलाई रामवीरको चेतावनी– ‘गुठी विधेयक फिर्ता लिन चाहनुभएन भने हेर्दै गर्नुहोला काठमाडौंमा के हुन्छ’

काठमाडौँ– नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाको राजिनामा मागेका छन् । राजधानीमा आयोजति एक कार्यक्रमा बोल्दै सत्तारूढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती प्रथा जोडेकोमा कडा आपत्ती जनाउँदै राजिनामा दिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘सरकार प्रवक्ताको रूपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन ।’ सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ । 

‘संचारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजिनामा दिनुस् ।’ उनले भने । मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजिनामा नै माग्नुपर्ने अवस्था आएको पनि बताए । 

‘आज गुुठियारहरूलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरूको दिनगन्ती सुरू भएको छ ।’ मानन्धरले भने । मन्त्रीहरूको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो । 

प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाडौँ आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनीसमेत मानन्दधरले दिएका छन् । ‘म यहीँबाट भन्न चाहन्छु, यदी प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाडौंमा के हुन्छ । यो मेरो चुनौति होइन, सरकारलाई सुझाव हो ।’ उनले भने ।

सरकारले ल्याएको गुठी विधेयकले कसैलाई फाइदा नहुने मानन्धरको दावी छ । बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाई अहिलेको सरकारले मास्न खोजेको उनको आरोप छ ।



त्यसैगरी प्रमुख प्रतिपक्षी दलका नेता तथा सांसद भिमसेन दास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताए । कुनै पनि हालतमा विधेयक फिर्ता गर्नुपर्ने प्रधानको भनाई थियो । विधेयक फिर्ता भएन भने काठमाण्डौ जुरूक्क उठ्ने र त्यसलाई कसैले पनि रोक्न नसक्ने प्रधानको चेतावनी थियो । प्रधानले मन्त्री बास्कोटा धर्म संस्कृतिबारे अनभिज्ञ हुनु दुर्भाग्य भएको बताए । 



गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको भन्दै प्रधानले प्रधानमन्त्री केपी ओली नै संघीयताविरोधीको रूपमा देखा परेको जिकिर गरे । ६२–६३ को आन्दोलनका बेला घरमा बसेर बयलगाढा चढेर अमेरिका पुगिदैन भन्ने ओली अहिले धर्म संस्कृति मास्न लागिपरेको आरोप लगाए ।

ओलीले होली वाइन खाएको आरोप लगाउँदै प्रधानले नेपाली मौलिक संस्कृति मास्न खोजेको जिकिर गरे ।  ‘गुठी विधेयक फिर्ता गर्नुपर्छ । फिर्ता भएन भने कुनै पनि हालतमा संसद चल्न दिँदैनौँ । ४ गतेपछि के हुन्छ हेर्दै जानुस् ।’ प्रधानले भने ।

पशुपति विकास क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव गोविन्द टण्डनले पनि सरकारले ल्याएको गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाए । 

गुठियारहरूको सम्पत्तिको सम्मान गर्दै सरकारले उचित निर्णय गर्नुपर्ने सुझाब टण्डनले दिएका छन् ।  ‘गुठी भनेका हाम्रा पुर्वजहरूले गुठियारहरूलाई ल है संरक्षण गर भनेर दिएको सम्पत्ति हो ।’ टण्डनले भने ।


 

  • प्रकाशित मिति : असार १, २०७६ आइतबार ८:५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया