के पाकिस्तानसँगको खेलमा विराट कोहली आउट भएकै थिएनन् ?

एजेन्सी– आइतबार विश्वकप अन्तर्गत भएको खेलमा पाकिस्तानलाई भारतले पराजित गर्यो । 

पाकिस्तानविरुद्ध टस जितेर बलिङ सुरु गरेको भारतको इनिङ भइरहँदा ४६.४ ओभरमा वर्षाले खेल डिस्टर्ब गर्यो । पछि फेरि खेल सुरु भयो । यो ओभरको अन्तिम बलमा भारतीय कप्तान विराट कोहलीले थर्ड म्यानमा चौका हाने । 

अर्को ओभरमा पाकिस्तानका बलर मोहम्मद आमिर बलिङ गर्दै थिए । आमिरको तेस्रो बलमा विराटले दुई रन जोडे । उनले ६५ बलमा ७७ रन बनाएर खेलिरहेका थिए । तर, त्यसपछिको बलमा विराट आउट भए । 

आमिरले बाउन्सर फालेका थिए । तर, विराटले ब्याट घुमाएर सट हान्ने प्रयास गरे । उनी बललाई लेगमा प्रहार गर्न चाहन्थे । तर, उनको ब्याटमा बल थोरै छोयो र विकेटकिपर तथा पाकिस्तानी कप्तान सरफराज अहमदले बल समाते । योसँगै विराट एक सेकेन्ड पनि रोकिएनन्, आफैं पेभेलियनमा फर्किए ।

त्यति बेला भारतको स्कोर ४७.४ ओभरमा पाँच विकेट गमाएर ३१४ रन बनेको थियो । विराट क्रिज छोडेर हिँडिसकेका थिए । तर, अम्पायरले आउटको संकेत गर्न औंला उठाइसकेका थिएनन् । 

तर, त्यसपछि जब कमेन्टेटरले अल्ट्रा एज प्रविधिबाट हेर्दै त्यसको रिप्ले देखाएका थिए, त्यहाँ बलले ब्याटलाई छोएको कुनै स्पाइक देखिएको थिएन । स्पाइक अर्थात् बलले ब्याटलाई छुँदा देखिने तरङ्ग, घर्षणबाट निस्कने आवाज । 



सायद, विराटले आफूले कुनै आवाज सुनेका थिए र चुपचाप उनी आफू आउट भएको मान्दै पेभेलियन फर्किएका थिए ।

क्रिकेटमा डिआरएस अर्थात् डिसिजन रिभ्यु सिस्टमका लागि हकआइ तथा स्निकोमिटरको ठाउँमा अझ राम्रो प्रविधि मानिएको अल्ट्रा एज प्रविधिको प्रयोग गरिन्छ । 



अल्ट्रा एज प्रविधिको प्रयोगले स्टम्प्समा राखिएको माइक्रोफोनको साहरामा निस्किएको आवाजको पहिचान गर्न सहयोग गर्छ । त्यसैले बलले ब्याट, प्याड वा स्टम्पमा छोएको आवाज रेकर्ड गर्छ । एलबिडब्ल्यु तथा क्याच आउट हुँदाका क्षणमा यो बढी प्रयोगमा आउन सक्छ र महत्वपूर्ण सावित पनि हुनसक्छ । 

तर, टिभीमा कमेन्ट्री गरिरहेका सौरभ गांगुलीले चाहिँ विराटको ब्याटले त्यति बेला बललाई नछोएको बताए । उनले अल्ट्रा एज प्रविधिको प्रयोग गरेर त्यसबाट आवाज आए नआएको विचार गरेका थिए । तर, विराट पेभेलियन फर्किएका थिए । पेभेलियनमा पनि महेन्द्र सिंह धोनीले विराटको ब्याट समाते र त्यसको ह्यान्डलबाट पो आवाज आएको हो कि भनेर चेक गरे । सौरभले कमेन्ट्रीमा पनि यो कुरा बताएका थिए । 

विराट आउट हुनु भारतका लागि असहज परिस्थिति हुनसक्थ्यो । विराट आउट भएपछि भारतले १४ बलमा २२ रन मात्र जोड्न सफल भयो । 

तर, खेलमा विराटले ५७ रन बनाउँदा नै आफ्नो करिअरको एक दिवशीय खेलमा ११ हजार रन पूरा गरेका थिए । ११ हजार रन बनाउने ब्याट्सम्यानको सूचीमा विराट अब एक नम्बरमा परेका छन् । यसका लागि उनले २२२ इनिङ्स खेले । भारतीय क्रिकेटर सचिन तेन्दुल्करले ११ हजार रन बनाउन २७६ इनिङ खेल्नु परेको थियो । त्यसो त विराट ८ हजार, ९ हजार, १० हजार रन सबैभन्दा छिटो बनाउने खेलाडी पनि हुन् । 

एक दिवसीय क्रिकेटमा ११ हजार रन बनाएका विराट भारतका तेस्रो र विश्वका नवौँ ब्याट्सम्यान हुन् । यसअघि सचिन तेन्दुल्कर, कुमार संगकारा, रिकी पोन्टिङ, सनथ जयसूर्या, महेला जयवर्धने, इन्जमाम उल हक, ज्याक कालिस तथा सौरभ गांगुलीले पनि ११ हजार रन बनाएका छन् । 

  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १:४५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया