काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडूले नेपाली समाजको धार्मिक, साँस्कृतिक, सामाजिक मूल्यमान्यता र मौलिक पहिचानलाई समाप्त पार्ने गरी गुठी विधेयक–२०७५ सरकारले ल्याएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा वैठकमा बोल्दै सो कुरा बताएका हुन् ।
गुठी विधेयक सरकारले योजनाबद्ध ढंगले ल्याएको आरोप लगाउँदै बडूले विधेयकविरुद्ध सडकमा आन्दोलन गरिहेकाहरूलाई काँग्रेसले ऐक्यबद्धता जनाउने पनि बताए ।
उनले भने, ‘गुठी विधेयक–२०७५ को विरोधमा सडकमा स्वस्फूर्त रूपमा चलिरहेको अत्यन्त जाहेज आन्दोलनमा नेपाली काँग्रेस ऐक्यबद्धता जनाउन चाहन्छ र समर्थन गर्दछ ।’
सांसद् बडूले उक्त विधेयक फिर्ता लिएर सरकार वार्ता र संवादको बाटोमा जान माग गरे ।
गुठी विधेयककाबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका प्रवक्ता गोकुल बास्कोटाले दाहोरो चरित्र देखाएको सांसद् बडूले टिप्पणी गरे ।
उनले भने, ‘प्रधानमन्त्रीले 'सोचिनेछ, यसबारेमा विचार गरिनेछ' भन्ने र सरकारकै प्रवक्ताले 'सामन्ती अवशेष पारी छाडिने' भन्ने अभिव्यक्ति सरकारको दोहोरो चरित्र, कुटेजस्तो र रोएजस्तो नाटक हामीलाई स्वीकार्य छैन । उक्त विधेयक तत्काल फिर्ता गरियोस् ।’
उनले दिनानुदिन बढीरहेको आन्दोलनलाई सरकारले नदेखेको बताउँदै सरकार अन्धो भएको बताए ।
उनले भने, ‘दिनानुदिन बढीरहेको आन्दोलनलाई सरकारले देखेको छैन । सरकार अन्धो भएको छ । बहिरो भएको छ । जनताको आत्मा सुनिरहेको छैन । आन्दोलनको मर्मलाई बुझ्न चाहिरहेको छैन ।’
आन्दोलनलाई सरकारको विरोध सम्झेर दमन खोजेको बडूले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।