काठमाडौं– लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि केही दिन फाराम भर्नेको सङ्ख्यामा कमी आए पनि अहिले फाराम भर्ने समय सकिन लाग्दा भने सङ्ख्यामा वृद्धि भएको हो ।
आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको सङ्ख्यामा वृद्धि भएको बताए । उनका अनुसार अहिले प्रतिमिनेट १०० जनाले फाराम भरिरहेका छन् । एकैपटक धेरै सङ्ख्याले फाराम भर्दा आयोगको सर्भरमा चाप देखिएको छ ।
‘पहिले समितिको रद्द गर्ने निर्देशनपछि परीक्षा हुने हो वा होइन भनेर परीक्षार्थीले फाराम भरेका थिएनन्,’ उनले भने, ‘अहिले तीन दिनदेखि आयोगको सर्भरमा चाप देखिएको छ ।’ एकैपटक धेरैले फाराम भर्दा सर्भरमा पनि बेलाबेला प्राविधिक समस्या आउने गरेको छ । आयोगले तीन वर्षदेखि अनलाइन फाराम भराउँदै आएको छ ।
आयोगका अनुसार मंगलबार राति १२ बजेसम्म एकल दस्तुर र असार १० गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्न सकिनेछ । आयोगले ५१५ स्थानीय तहका लागि विभिन्न ९ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको छ ।
उपसचिव सुवेदीले आयोगले अपेक्षा गरेअनुसार परीक्षार्थीले फाराम नभरेको बताए । ‘आयोगले यति धेरै सङ्ख्यामा आवेदन माग गर्दा तीन लाखभन्दा बढीले भर्ने अपेक्षा गरेका थियौँ,’ उनले भने, ‘अहिलेको सङ्ख्या हेर्दा त्यो नपुग्ने देखिन्छ । अझै केही दिन फाराम भर्ने समयमा भएकोले सङ्ख्यामा वृद्धि भने हुन्छ ।’ उनका अनुसार अहिलेसम्म १ लाख ६२ हजार ३३३ आवेदन फाराम भरेकामा महिलातर्फ ३९ हजार ६४६, जनजाति १८ हजार ५१, मधेसी १० हजार १४, दलित १ हजार २३०, अपांग ७३ र पिछडिएको ५० जना छन् । –रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।