नेकपाकाे कार्यक्रम पूर्वएमाले शीर्ष नेताद्वारा बहिष्कार

काठमाडौं– नेकपा गठन भएको एक वर्ष नाघिसक्दा पनि पूर्व एमाले र पूर्वमाओवादी नेतारूले एक–अर्कालाई स्वीकार गर्न सकेका छैनन् । त्यसको प्रत्यक्ष प्रमाण सोमबारको एक कार्यक्रममा झल्किएको छ ।

माओवादी युद्धका क्रममा मारिएका रितबहादुर खड्काको १७औँ स्मृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली सभा कार्यक्रम पूर्वएमाले नेताले बहिष्कार गरे । नेकपाको आयोजनामा भएको सो कार्यक्रममा पुराना माओवादी मात्र उपस्थित भए । 

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा कार्यक्रम हुने प्रचारसहित नेता कार्यकर्तालाई खबर गरिएको थियो । तर, कार्यक्रममा प्रधानमन्त्री नआएपछि अर्का अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो । 

पूर्वमाओवादी नेतृ देवी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमाओवादी नेता तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, दिनानाथ शर्मा, मातृका यादव, गिरिराजमणि पोख्रेल, मणि थापालगायत मात्र उपस्थित थिए ।  

सो कार्यक्रममा प्रधानमन्त्री ओली मात्र होइन, तत्कालीन एमालेका शीर्ष तहका कोही नेता उपस्थित भएनन् । तत्कालीन पूर्वएमालेका तर्फबाट कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ, पशुपति चौलागाइ र सांसद पार्वत गुरुङ भने उपस्थित थिए ।

सो कार्यक्रम नेकपाकै भए पनि तत्कालीन एमालेका नेता कार्यव्यस्तताको कारण उपस्थित हुन नसकेको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले स्पष्टीकरण दिए । पार्टी एकतापछि कार्यकर्तामा नकारात्मक सन्देश नजाओस् भनेर तत्कालीन एमालेको धुम्बाराहीस्थित पार्टी कार्यालयमा गरिएको भए पनि पूर्वएमालेका नेता उपस्थित भएनन् । 



नेकपाले यसअघि धुम्बाराहीमै जनयुद्ध दिवस मनाउँदा पनि अध्यक्ष ओलीलगायत नेताले बहिष्कार गरेका थिए । यस प्रकरणले दुई पार्टी एकता भए पनि एकत्व नभएको प्रस्ट देख्न सकिन्छ ।



  • प्रकाशित मिति : असार २, २०७६ साेमबार १५:६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया