छात्रवृत्ति पाएका नेपाली विद्यार्थीलाई मेडिकल कलेजले विभेद गरे : सांसद

काठमाडौं– मेडिकल कलेजले छात्रवृत्ति पाएका नेपाली विद्यार्थीलाई विभेद गर्ने गरेको आरोप सांसदहरूले लगाएका छन् । मंगलबार  शिक्षा तथा स्वास्थ्य समितिको सिंहदरबारमा भएको बैठकमा उनीहरुले सो आरोप लगाएका हुन् ।  

समितिको बैठकमा बोल्दै पूर्वस्वास्थ्य मन्त्री एवं नेकपाका सांसद खगराज अधिकारीले भने, ‘मेडिकल कलेजले विदेशी विद्यार्थीलाई प्रोत्साहन गर्ने र छात्रवृत्तिमा अध्ययनरत नेपाली विद्यार्थीलाई दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गर्ने गरेका छन् ।’

नेपाली विद्यार्थीलाई छात्रावासमा र कलेजका आन्तरिक परीक्षामा पनि विभेद हुने गरेको सांसद अधिकारीले बताए । कतिपय कलेजले नेपाली विद्यार्थीलाई प्रयोगात्मक विषयमा शून्य नम्बर दिने गरेको र त्यसको प्रमाणसहित उजुरी आएको उनले बताए । 

अधिकारी मेडिकल कलेजको शुल्क विवादबारे छानबिन गर्न गठित शिक्षा तथा स्वास्थ्य उपसमितिको सदस्य हुन् । छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीले आफूहरूमाथि विभेद हुने गरेको भन्दै उजुरी दिएको सांसद अधिकारीले जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले सांसद अधिकारीले उठाएको विषयमा समितिले स्थलगत अध्ययन गर्नुपर्ने बताए । त्यसैगरी समितिकी सदस्य मनकुमारी जिसीले विदेशी विद्यार्थीलाई मात्रै प्रोत्साहन गर्ने प्रवृत्ति रोकिनुपर्ने बताइन् । 

समितिकी सभापति जयपुरी घर्तीले नेपाली विद्यार्थी र विदेशी विद्यार्थीबीच मेडिकल कलेजले गरेको विभेदबारे विस्तृत अध्ययन गरी आफ्नो प्रतिवेदनमा राख्न उपसमितिलाई सुझाब दिएकी छिन् ।





  • प्रकाशित मिति : असार ३, २०७६ मंगलबार १५:२३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया