‘टीटोटलर’ त्यो व्यक्ति हो जसले मदिरा सेवन पूर्णरूपमा परित्याग गर्दछ । टीटोटलरको अवधारणा १९औँ शताब्दीतिर उद्भव भएको हो। यो अवधारणाले मदिराजन्य पारिवारिक हिंसा र गरिबीको मुख्य कारण नै मदिरा सेवन हो भन्ने मान्यता राख्दछ ।
औद्योगिक क्रान्तिको प्रारम्भ देखि नै साना–ठूला युद्धहरू, प्रथम विश्व युद्ध, चरम आर्थिक मन्दी जस्ता घटनाहरू सिलसिलेवार रूपमा घटिरहेका थिए जसले गर्दा युरोप एवं अमेरिकामा मदिरा सेवन अत्यधिक बढेको थियो।
‘टिटोटलर’ शब्दको उत्पत्ति भने बेलायतको प्रिस्टन, लन्काशायरबाट सन् १८३३ मा रिचर्ड टर्नर नामक एक मदिरा–विरोधी अभियन्ताले ‘पूर्ण परित्याग’ (एबस्टिनेन्सः एब्स–टी–नेन्स) भनी जोड दिएर बोल्दा ‘टी’ ध्वनिको कारण यो शब्द प्रचलित हुन पुग्यो।
अमेरिकामा भने, मदिरा–निषेध आन्दोलन महिलाहरूको नेतृत्वमा फैलियो, जसले हरेक किसिमको मदिराजन्य हिंसाविरुद्ध बुलन्दरूपमा आवाज उठाए। त्यही सिलसिलामा सन् १८७४ मा ‘वुमेन्स क्रिश्चियन टेम्परेन्स युनियन’ को अगुवाईमा भएको आन्दोलनले अन्ततः सन् १९२० मा अमेरिकामा ‘मदिरा निषेध कानून’ ल्याएरै छाड्यो।
टीटोटलिजम् आन्दोलन द्वितीय विश्व– युद्धको शुरुवात् सँगै सुषुप्तप्रायः भयो। तर दशकौं पछि, एक्काइसौं शताब्दीको प्रारम्भबाट भने स्वास्थ्य सम्बन्धि सचेतनाले यो अभियान पुनः जुरमुरायो। आज यो व्यक्तिगत स्वास्थ्य मात्र होइन सामाजिक सुधार र कल्याणसँग पनि जोडिएको छ ।
यस्ता छन्, टिटोटलरका विशेषता
● ‘कहिलेकाहीं वा थोरै पिउने’ भन्ने टिटोटलरको परिभाषा भित्र पर्दैन, त्याग्ने भनेपछि पूर्णरूपमा नै त्याग्नुपर्छ।
● शारीरिक, मानसिक र भावनात्मक सन्तुलन कायम राख्न शरीर र मन विषमुक्त र नशामुक्त हुनुपर्दछ भन्ने विश्वास राख्छन्।
● धार्मिक, नैतिक एवं सामाजिक दृष्टिकोणले शुद्ध आचरण भएको, आदरणीय र सामाजिक सुधारकको रूपमा लिइने गरिन्छ।
● आफ्नो लागि आफैं निर्णय गर्नुपर्छ, अरूसँग कुनै अपेक्षा राख्नु हुँदैन र निन्दा पनि गर्नुहुँदैन भन्ने धारणा राख्छन्।
● मदिरा–रहित र नशामुक्त समयलाई सृजना, ध्यान, स्व–अध्ययन वा पेशा गत सीप विकासमा व्यतीत गर्दछन्।
महात्मा गान्धी, अल्बर्ट बान्र्स, ह्युग बर्न, तुलसीमेहर श्रेष्ठ, टम हल्यान्ड, ब्लेक लाइभली, क्रिस्टियानो रोनाल्डो, एना ह्याथवे, बेला हडिड, लिली एलेन, जोसेफ गोर्डन–लेभिट, ज्याक हार्लो आदि
केही प्रसिद्ध टीटोटलर हुन् ।
सोबर क्युरियस जीवनशैली
सोबर क्युरियस जीवनशैली एक आधुनिक सामाजिक प्रवृत्ति हो, जसले मदिरा, लागूपदार्थ वा अन्य नशालु पदार्थहरूको सेवन नगर नभने तापनि ‘किन सेवन गर्ने’ भन्ने प्रतिप्रश्न गर्न प्रोत्साहित गर्छ।
यो विशेष गरी जेन–जेड (१९९७–२०१२ मा जन्मिएकाहरू) र मिलेनियल्स (१९८१–१९९६ मा जन्मिएकाहरू) माझ अति लोकप्रिय छ। यो केवल टीटोटलिजम् को परम्परागत अवधारणामा मात्र सीमित नभई सचेतना सहितको स्वस्थ जीवनशैली र सामाजिक सम्बन्धलाई पुनर्परिभाषित गर्ने व्यापक दृष्टिकोण पनि हो।
सोबर क्युरियस जीवनशैली परम्परागत टेम्परेन्स मुभमेन्ट (१९औं शताब्दी) बाट प्रेरित भए पनि, यो आधुनिक सन्दर्भमा निकै फरक रूपमा विकसित भइसकेको छ।
वेलायती लेखिका रुबी वारिङ्टनले आफ्नो ‘सोबर क्युरियस(२०१८)’ पुस्तक मार्फत यो अवधारणालाई लोकप्रिय बनाइन्। यो पुस्तकले मदिरा सेवनको सामाजिक व्यवस्था माथि नै प्रश्न उठाउँदै व्यक्तिगत छनोटलाई जोड दिन सिकाइ दियो।
विश्वव्यापीरूपमा यो सोबर क्युरियस जीवनशैली जेन–जेड(जी) हरू बीच लोकप्रिय बन्दै गएको छ। सन् २०२० सम्म, विश्वभरि अनुमानित ४१% जेन–जेड आफैंले मदिरा सेवन कम गरेको पाइयो जसमध्ये लगभग २५% त पूर्ण टीटोटलर भएका थिए। ‘ड्राई ज्यानुअरी’, ‘सोबर अक्टोबर’, ‘ड्राई लाइफ’, ‘माइन्डफुल ड्रिङ्किङ्ग’ जस्ता अभियानहरूले यो प्रवृत्तिलाई झनै विश्वव्यापी बनाउँदैछ।
वैश्विक आर्थिक बजारले आउँदो वर्षहरूमा लो/नो–अल्कोहल बजार १.४६ ट्रिलियन अमेरिकी डलर भन्दा बढी पुग्ने अनुमान गरेको छ। लन्डन र न्यूयोर्कमा ‘सोबर नाइट् क्लबहरू’ खुलेका छन्, जहाँ डीजे, नृत्य, सोबर मेनु आदि सबै हुन्छ तर मदिरा हुँदैन। नेपालमा पनि अनेकौं आधुनिक टी–क्याफेहरू जस्तैः चिया स्पट, टीयालय, चिया अड्डा आदि जेन–जेडहरू बीच निकै लोकप्रिय बन्दै गएका छन्।
सोबर क्युरियस जीवनशैलीले परम्परागत् टीटोटलिजम् बाट केही फरक, अधिक लचिलो र समावेशी दृष्टिकोण अपनाउँदछ।
● मदिराको पूर्ण परित्याग अनिवार्य छैन। कतिपयले ‘कहिलेकाहीं वा थोरै पिउँछन्’ तर आत्मसंयम र सचेत छनोटलाई प्राथमिकता दिन्छन्।
● मकटेल, कोम्बुचा र नन्–अल्कोहल बियर जस्ता पेय पदार्थका साथ पार्टी, पर्वमा घुलमिल हुने गर्दछन्।
● ‘आनन्दका लागि मदिरा भन्दा मदिरा–रहित आनन्द’ भन्ने धारणाको वकालत गर्दछन्।
● अनुमानित ५२% जेन–जेड ले मानसिक स्वास्थ्य सुधारका लागि पनि यो जीवनशैली अपनाउँदै आएका छन्।
नेपाली जीवनशैलीसँगको सान्दर्भिकता
मदिरा नेपाली जीवनशैलीको एक प्रधान तत्व हो भनी भ्रम फैलाइएको छ जुन पूर्ण सत्य होइन, सत्य केवल यति हो कि नेपाली समाज आफैंमा सहिष्णु छ, यहाँ कुनै समुदायको परम्परा, संस्कृतिप्रति रोकटोक गरिँदैन।
टिटोटलर र सोबर क्युरियस जीवनशैली नेपालमा पहिल्यै देखि विद्यमान छन् तर ठूला– ठूला अभियानहरूका रूपमा आयोजित भएकै छैनन् साथै लगभग दुई तिहाइ नेपालीले मदिरा–रहित जीवन व्यतीत गर्दछन् भन्ने तथ्यांक कतै पनि देखाउने गरिएकै छैन। आर्य–खस र बौद्ध समुदायमा मदिरा पूर्ण रूपमा वर्जित छ।
सांस्कृतिक आधार : नेपालमा हिन्दु र बौद्ध धर्मावलम्बीहरूले मदिरा सेवन नगर्नुलाई ‘पवित्र आचरण’ मान्दछन्, यस्ता समुदायका करिब ७२.२% वयस्कहरू आजिवन मदिरा–रहित जीवनशैली बिताउँछन् जसमा जेन–जेड पिँढीका करिब ४०–५०% युवाहरू पनि पर्छन्।
उदाउँदो ट्रेन्ड : शहरी इलाकाका पब, बार, क्याफे लगायत गाउँठाउँका रक्सी पसल,भट्टी जे जति भएपनि काठमाडौं र पोखरा जस्ता ठूला शहरहरूमा केही क्याफेहरू र हेल्थ रिट्रिटहरू (जस्तैः योग र ध्यान केन्द्रहरू) ले नो–अल्कोहल पेय सहितका सोबर इभेन्टहरूको पहलता लिए संगै यसले अझै निरन्तरता र नौलोपन पाउँदै जाने देखिन्छ।
विद्यमान चुनौती : नेपालका शहरी क्षेत्रमा भने पश्चिमी प्रभावले युवाहरू(४२% पुरुष) माझ मदिरा सेवन गर्ने प्रवृत्ति यथावत् नै भएतापनि जेन–जेडको बालिगपन र बाहुल्यता बढेपछि सोबर क्युरियस ट्रेन्ड पनि सोही अनुपातमा बढ्ने देखिन्छ।
टीटोटलर वा सोबर क्युरियस किन नबन्ने ?
जेन–जेडहरू डिजिटल युगका पिँढी हुन्, जसलाई मानसिक स्वास्थ्य, आर्थिक दवाब, बेरोजगारी, सामाजिक तथा राजनीतिक अस्थिरता, जलवायु परिवर्तनबाट उत्पन्न संकट जस्ता चुनौतीहरूको सामना अहिलेबाटै गर्नुपरेको छ र भविष्यमा समेत यस्ता चुनौतीहरू अझ बढी बेहोर्नु पर्ने प्रष्ट देखिन्छ ।
यसर्थ, जेन–जेडहरूले टिटोटलर वा सोबर क्युरियस ‘अहिलेबाटै किन नबन्ने’ बारे गम्भीर विश्लेषण र छनौट गर्नुपर्दछ र जेन–जेडहरूमा एकांकीपन उच्च छ, जसलाई मदिरा सेवनले थप बढाउँछ। टिटोटलर वा सोबर क्युरियस हुँदा तनाव, चिन्ता र डिप्रेसन ३०–५०% ले घट्छ ।
जेन–जेडहरू डिजिटल युगका पिँढी हुन्, जसलाई मानसिक स्वास्थ्य, आर्थिक दवाब, बेरोजगारी, सामाजिक तथा राजनीतिक अस्थिरता, जलवायु परिवर्तनबाट उत्पन्न संकट जस्ता चुनौतीहरूको सामना अहिलेबाटै गर्नुपरेको छ र भविष्यमा समेत यस्ता चुनौतीहरू अझ बढी बेहोर्नु पर्ने प्रष्ट देखिन्छ
युवावस्थामा मदिरा सेवन गर्नाले कलेजो, हृदय र मस्तिष्कमा क्षति पुग्न शुरू हुन्छ। टीटोटलर हुँदा शारीरिक र मानसिक उर्जा शक्ति २०% ले बढ्छ, निद्रामा सुधार र रोग प्रतिरोधक क्षमता मजबुत हुन्छ।
नियमित मदिरा सेवनले व्यक्तिगतरूपमा वार्षिक औसतन् ५००–१००० अमेरिकी डलर खर्च बढाउँछ, जुन जेन–जेडहरूका लागि ऋण सरह र आर्थिक बोझ हो। टीटोटलर हुँदा पैसा बचत पनि हुने र मदिरा सेवन गर्न सामाजिक दवाब वा मित्रवत् दवाब बाट पनि मुक्ति मिल्छ।
सचेत जेन–जेडहरूले टिटोटलर र सोबर क्युरियस जीवनशैलीलाई सहजै अपनाइरहेका छन्, जसले समाजमा मदिरा जन्य हिंसा र सवारी दुर्घटनाहरूको संख्यामा सचेत स्वतः कमी आएको छ।
संक्षेपमा, टीटोटलर र सोबर क्युरियस जीवनशैलीले मदिरा–रहित र सचेतना सहितको जीवन अपनाउन प्रोत्साहन र विकल्प दुवै दिइरहेको छ, जसमा शारीरिक तथा मानसिक सुस्वास्थ्य, आर्थिक उन्नती, राजनीतिक सुधार र सामाजिक कल्याणमा योगदान समेत जोडिन पुग्दछ ।
यो जीवनशैली नेपाली सांस्कृतिक मूल्यहरूसँग समेत मेल खाने हुँदा औसत जेन–जेड युवाहरू माझ निकै लोकप्रिय बन्दैछ। हुनत, यस्तो जीवनशैली जसकसैको नितान्त व्यक्तिगत छनोट भएतापनि टिटोटलर वा सोबर क्युरियस जीवनशैली जेन–जेड(जी) पिँढीका लागि भने अत्यावश्यक र उत्तम अन्तरघुलन हो ।
एजेन्सीको सहयोगमा
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।