गुगल सिइओ पिचाईसँग अमेरिका जानुअघि कम्प्युटर थिएन, तर प्रविधिको तागत कति छ भन्ने ज्ञान थियो

गुगलका सिइओ सुन्दर पिचाईको जन्म सन् १९७२ मा भारतको मद्रासमा भएको थियो । भारतबाट अमेरिका जानुअघि उनीसँग आफ्नै कम्प्युटर थिएन । एक अन्तरवार्तामा पिचाईले भनेका छन्, ‘मेरो घरमा टेलिफोन जडान गर्न पाँच वर्ष लागेको थियो । त्यतिवेला टेलिफोन निकै कम थियो । कम्प्युटर र इन्टरनेटको त कुरै नगरौँ ।’

जब उनको घरमा टेलिफोन राखियो, घरमा फोन गर्न गाउँलेहरुको लाइन नै लाग्न थाल्यो । प्रह्य गाउँका बासिन्दा पढाइको सिलसिलामा सहर गएका छोराछोरीलाई फोन गर्न उनको घरमा पुग्थे । आफ्नो घरमा फोन राखेपछि फरक ठाउँमा बसोवास गर्ने र परिवारबाट टाढा भएका मानिसबीच कनेस्कन भएको थियो । यसैबाट पिचाईले प्रविधिले आम जनजीवनमा कति सहजता ल्याउँछ भन्ने भेउ पाएका थिए ।

गुगलको सिइओ बन्नु जीवनकै ठूलो उपलब्धि 

पिचाई भन्छन्, ‘जब गुगलका को–फाउन्डर ल्यारी पेज र सर्गी ब्रिनले सिइओको जिमेवारी दिने कुरा गर्नुभयो, म निकै अचम्ममा परेको थिएँ । त्यतिवेला म नयाँनयाँ प्रोडक्ट बनाउन व्यस्त थिएँ । मैले सोचेकै थिइनँ कि मेरो यात्रा कहाँसम्म पुग्छ ।’ उनी थप्छन् ‘ गुगलको सिइओ बन्नु जीवनको सबैभन्दा ठ्रूलो उपलब्धि हो ।’

उनलाई अहिले पनि अमेरिका अवसरहरुको देशजस्तो लाग्छ । तर, यो सबित गर्न कडा मिहिनेत गर्नुपर्छ । 

अमेरिकी संसद्मा आप्रवासीहरुको संरक्षणका लागि विशेष सुविधा दिनसमेत पिचाईले माग गरेका छन् । अहिले अमेरिकी संसद्ले देशबाहिरबाट आउने प्रतिभाशाली मानिसहरुलाई विशेष सुविधा दिएको पनि छ । पिचाई भन्छन्, ‘यहाँका धेरै टेक इन्डस्ट्री आप्रवासीहरुले नै स्थापना गरेका छन् । यसले विश्व बजारीकरणमा ठूलो टेवा पुगेको छ ।’



पछिल्लो समय पिचाईले प्राइभेसी र लिंगभेदका चुनौतीहरु झेल्दै आएका छन् । गुगलमाथि एन्टिट्रस्टको जाँच हुने सम्भावना पनि बढ्दै गएको छ । यसकारण, गुगल अब नैतिक रुपमा पनि जिमेवार हुनेगरी अघि बढ्नुपर्ने उनी बताउँछन् । कुन कामले समाजमा कस्तो असर पार्छ भन्ने सोचविचार गरेर मात्र काम गर्नुपर्ने अवस्था आएको उनको बुझाइ छ । गुगलले गल्ती गरे ससइओको हिसाबले आफू जिम्मेवार हुने, तर संस्थाका अन्य सदस्य पनि उत्तिकै नैतिक जिम्वेवार हुनुपर्ने उनी बताउँछन् । 

पिचाईले सन् १९९३ मा आइआइटी खडगपुरबाट बिटेक गरेका हुन् । स्ट्यानफोर्ड विश्वविद्यालयबाट मास्टर्स डिग्री लिएका उनले युनिभर्सिटी अफ पेन्सलभेनियाको व्हार्टन स्कुलबाट एमबिए गरे । २००४ मा गुगलमा आबद्ध हुनुअघि पिचाई एक सफ्टवेर कम्पनीमा काम गर्थे । गुगलमा ‘प्रोडक्ट चिफ’ र ‘हेड अफ एन्ड्रोइड अपरेटिङ सिस्टम’जस्ता जिम्मेवारी कुशलतापूर्वक निभाएपछि सन् २०१५ मा उनले सिइओको जिम्मेवारी पाएका थिए । 



  • प्रकाशित मिति : असार ४, २०७६ बुधबार १७:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया