२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

राज्य विहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले राज्य विहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरूले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन् ।


शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी हुन् ।



उनले भनिन्,‘पहिलेकाे भन्दा अहिलेको चुनौती फरक छ । यो आत्मविश्वास र चुनौतीसँग जोडिएको छ । भर्खरैको जेनजी आन्दोलनले नेपाललाई सैह्य हुने छैन भन्ने कुरा खुला लक्ष्मण रेखा स्थापित गरेको छ । यो युवा पुस्ताको प्रष्ट सन्देश हो । भ्रष्टाचार कमिसनको सञ्जाल सह्य छैन । लोकतन्त्रको नाममा लुटतन्त्र स्वीकार्य छैन । नीतिगत चलखेल गर्नेहरू पोषिने अवस्था रहनुहुँदैन । राज्य विहीनताको फाइदा उठाउँदै औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण अस्वीकार छ । निजी क्षेत्रको आत्मविश्वासको जगेर्ना गर्न सरकारले कुनै कसुर बाँकी राख्ने छैन ।’

त्यस्तै उनले मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेखनीय र मजबुद छ भन्ने कुरा तथ्यांकहरुले बारम्बार प्रमाणित गरिसकेको बताइन् । कूल ग्राहस्थ उत्पादनमा, निर्यातमा, रोजगारी र करदाताका रुपमा निजी क्षेत्रको योगदान सधैँ अग्रणी रहने उनको भनाइ छ ।



‘मुलुकको विकासमा निजी क्षेत्रको योगदान कति उल्लेखनीय र मजबुद छ भन्ने हाम्रा तथ्यांकहरुले बारम्बार प्रमाणित गरेका छन् । कूल ग्राहस्थ उत्पादनमा होस् ,निर्यातमा होस् रोजगारी या करदाताका रुपमा निजी क्षेत्रको योगदान सधैँ अग्रणी छ । उद्योगी व्यवसायीहरुलाई म आर्थिक समृद्धिको जगका विशाल ढुंगाहरु ठान्दछु । जसमाथि समग्र मुलुकले समृद्धिको धरोहरा अडिने छ ।

प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको मागलाई सम्बोधन गर्न सहज वातावरण निर्माणको निरन्तर सहकार्य गरिरहेको स्पष्ट पारिन् । रेमिटेन्सको भरमा मात्र बच्ने अवस्थाबाट बाहिर निस्केर आफ्नै उत्पादन बढाउने अभियानमा सरकार जुटेको बताउँदै उनले विज्ञहरूको सुझाव अनुसार पूँजीगत खर्चलाई तीब्र बनाउने दावी गरिन् ।



  • प्रकाशित मिति : २२ कात्तिक, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया